काठमाडौँ । काठमाडौँ उपत्यकामा निजी सवारी लागू गरिएको जोरबिजोर प्रणाली सोमबारदेखि हटाउने निर्णय गरिएको छ । सीसीएमसीसीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
आइतबार नै बसेको सीसीएमसीसीको बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो ।
सो सिफारिससँगै उपत्यकाका सीडीओहरूले गृह मन्त्रालयको निर्देशनमा सिफारिसलाई कार्यान्वयनमा लागेका हुन् । यस्तै आगामी फागुन १ गते स्कूल तथा कलेज खोल्न पाइने भएको छ ।
काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले आगामी फागुन १ गतेदेखि विश्वविद्यालय, कलेज, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने जनाएको छ ।
यद्यपि, विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थीका हकमा नियमति र १२ वर्ष पुरा नभएका विद्यार्थीका हकमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउन भनिएको छ ।