जनकपुर । केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका-४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन् ।
यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिए । यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका ठाकुरको उपचारका लागि अस्पताल लैजान नपाउँदै मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता यादवले बताइन् ।
अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि धनुषाका चार स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, मुखियापट्टी गाउँपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले सूचना जारी गरी विद्यालय बन्द गरिएको जनाएका छन् । चिसोका कारण टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ ।
यस्तै यता ललितपुरको कोपुन्डोलमा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मंगलबार राति सवा १ बजे बा९५प ५३३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किंदा पछाडि सवार ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो ।
ललितपुरको गोदाबरी नगरपालिका-९ छम्पी घर भई मंगलबजार बस्दै आएका तामाङको उपचारको क्रममा आज बिहान ३ बजे पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।