काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमा पार्टी कमजोर हुनाको कारणसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे चर्चा गरेका छन् ।
प्रचण्डले जारी महाधिवेशनको बन्दसत्रमा पेस गरेको प्रतिवेदनमा अमेरिकी अनुदान सम्झौता एमसिसीबारे के भनेका छन् भन्ने चासो देखिन्छ।
कार्यकर्ता तहमा एमसिसीको विरोध भइरहेको र सत्ता गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा पास गर्न चाहिरहका बेला पार्टीका कार्यकर्तासहित अन्य राजनीतिक दललाई पनि यसबारे चासो देखिएको हो।
देउवाले माओवादीकै महाधिवेशन उद्घाटन सत्रमा आफूले सम्झौतामा कहिँ कतै राष्ट्रघात नदेखेको र भए देखाउन चुनौति दिएका थिए । तर प्रचण्डले प्रतिवेदनमा यसबारे एउटा बुँदा मात्रै उल्लेख गरेका छन् ।
एमसिसीका बारेमा परिमार्जन गरेर राष्ट्रिय सहमति बनाएरमात्र अघि बढाउन सकिन्छ, उनले प्रतिवेदनमा भनेका छन् ।प्रचण्डले प्रतिवेदनमा विभिन्न नाम र रुपका दक्षिणपन्थी शक्तिहरूका बीचमा मोर्चाबन्दी बढ्दो क्रममा रहेको उल्लेख गरेका छन् ।
उनले देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चाबन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरूले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधिनतामाथि हस्तक्षेप बढाएर लगेको उल्लेख गरेका छन् ।
राजनीतिक शक्तिहरूका बीचमा नयाँ प्रकारको ध्रुवीकरण र मोर्चाबन्दी सुरु भएको भएको भन्दै प्रचण्डले नेपाली जनमत आज पनि लोकतान्त्रिक संविधान, राष्ट्रिय स्वाधिनताका पक्षमा स्पष्ट रहेको तथ्य प्रतिगमन विरोधी आन्दोलनमा व्यापक जनसहभागिताले प्रष्ट गरेको प्रतिवेदनमा उल्लेख गरेका छन् । प्रचण्डले पार्टी कमजोर हुनाको कारणबारे प्रतिवेदनमा उल्लेख गरेका छन् ।
केही वर्षदेखि आफूहरुको पार्टीमा देखा परेका वैचारिक र राजनीतिक अस्पष्टता, विभाजन, गुटबन्दी अराजकताका साथै शान्ति सम्झौतापछिका कतिपय राजनीतिक र संगठनात्मक कमजोरीसमेतका कारण परिवर्तनको रक्षा, विकास र परिमार्जनमा प्रभावकारी भूमिका खेल्न नसकेको बताउँदै उनले यसको परिणामस्वरुप दक्षिणपन्थी, प्रतिक्रियावादीशक्तिहरूले टाउको उठाउने मौका पाइरहेका छन् ।
यो विषयमा पार्टीले गम्भीरताका साथ समीक्षा गर्ने र तद्नुसार संगठन र कार्यशैलीको विकास गर्नुपर्ने आवश्यकता रहेको उनले जनाएका छन् । त्यसका लागि विचारको स्पष्टता आवश्यक रहेको उनको भनाइ छ ।
भूमण्डलीकृत साम्राज्यवादका विशेषताहरू, सूचना प्रविधिमा भएको क्रान्तिको समग्र प्रभावका साथै आजको उत्पादन शक्ति र उत्पापदन सम्बन्धबारे आंकलन गरेर तथा आफ्नै आर्थिक, सामाजिक तथा राजनीतिक विकासको अवस्थालाई ठोस रुपमा विश्लेषण र संश्लेषण गरेर मात्रै पार्टीको राजनीतिक विचारमा स्पष्टता हासिल गर्न सकिने प्रचण्डले उल्लेख गरेका छन् ।
प्रतिवेदनमा उनले प्रचण्डपथ स्थगन गर्नु गलत भएको निष्कर्ष निकालेका छन् । जीवन मृत्युको त्यो भिषण प्रक्रियामा पास भएको प्रचण्डपथ प्रचण्डको व्यक्तिगत सम्पत्ति जसरी स्थगन गर्नु सरासर गलत थियो, उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
प्रचण्डले शान्ति प्रक्रियामा आएपछि पार्टीमा देखिएको विद्रोह कि संविधान निर्णाण भन्ने अन्योलले क्षति पुगेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।