News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

एमालेको नाराबाजीकै बीच दुई अध्यादेश स्वीकृत

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेको विरोधकै बीच मंगलबार प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको छ ।

बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा अवरोध नगर्न पटक पटक आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए ।

त्यसपछि सभामुख सापकोटाले बैठक अगाडि बढाए । मंगलबारको बैठकले यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको छ ।

यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेशमाथि सांसद प्रेम सुवालले विरोधको सूचना पेश गरेका थिए । तर उनको प्रस्ताव बहुमतले अस्वीकार भयो । यसैबीच नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरिरहेका बेला संसद बैठक चलाएको भन्‍दै आपत्ति जनाएका छन् ।

मंगलबार एमालेका अवरोधका बीच सभामुख अग्नीप्रसाद सापकोटाले संसदको कार्यसूची अघि बढाएपछि सांसद सुवालले त्यसो गर्नु संसदीय परम्पराविरुद्ध हुने भन्दै आपत्ति जनाएका हुन् ।

उनले संसद अवरोधकै बेला एमसीसीजस्तो देशघाती सम्झौंता पारित गर्ने काम गर्न नहुनेतर्फ पनि सभामुख सापकोटाको गम्भिर ध्यानाकर्षण गराए । उनले सो सम्झौंता देशघाती भएको भन्दै खारेज गर्न पनि माग गरे ।

सांसद सुवालले भने, ‘प्रमुख प्रतिपक्षले संसद अवरोध गरेका बेला कार्यसूची अगाडि बढाउनु संसदीय परम्परा होइन । कार्यसूचि अगाडि बढाउनु हुँदैन । संसद स्थगित गरेर प्रमुख प्रतिपक्ष दलसँग वार्ता गर्नु उपयुक्त हुन्छ । संसद अवरोधकै बेला अध्यादेश र विधेयकहरु पेश हुनु र देश घाती एमसीसी सम्झौंता पनि यसरी नै पेश गरेर पास गर्ने तयारी हुनेछ । त्यसको हामी विरोध गर्छौं। ’

बैठकमा एमालेका सांसदहरुले पार्टी फुटाउने षडयन्त्र मुर्दावाद, संसदीय सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर लगायतका चर्का नाराबाजी गर्दै संसदको बेलमा गएर सभामुख सापकोटाविरुद्ध नाराबाजी गरिरहेका छन। तर एमाले सांसदहरुको चर्का नाराबाजी बीच पनि संसद बैठक जारी छ ।

डनन्यूज ट्रेन्डिङ