काठमाडाै । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको प्रतिस्पर्धा हुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको नजर प्रकाशमान सिंहतिर परेको छ ।
राष्ट्रिय सभागृहमा चलिरहेको मतगणना नसकिँदै देउवाले बेग्लै कदम चलिसकेका छन् । उनले गृहमन्त्री बालकृष्ण खाँणलाई सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पठाएका छन् । भेटमा उनले सहयोग खोजेको बताइएको छ ।
सिंह पनि सभापतिका उम्मेदवार थिए । तेस्रो स्थानमा रहेका उनले ३७१ मात्र भोट पाए । चौथो स्थानमा रहेका विमलेन्द्र निधिले पनि २४९ मत पाएका छन् ।
दोस्रो चरणमा मतदान हुँदा २२५८ मत ल्याएका देउवा र १७४९ मत पाएका शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । यो अवस्थामा देउवालाई सिंह वा निधिमध्ये एकको समर्थन भए पुग्छ । जबकी शेखरलाई दुबैको समर्थन चाहिन्छ ।
देउवा समूह छाडेर सभापतिमा उम्मेदवारी दिएका निधिले देउवालाई समर्थन गर्ने सम्भावना कम छ । त्यसैले उनले सिंहको साथ खोजेका छन् । यद्यपि यसबारे गम्भीर छलफल गरेर मात्र निर्णय लिइने सिंहको समूहका एक नेताले सुनाए ।
आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।
आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।