News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

विप्लवद्वारा प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन

'देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न सहमत' : महासचिव विप्लव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा नेकपाका केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता टोली गठन गरिएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी सहमत भएको छ,’ महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘पार्टीका तर्फबाट वार्तामा सहभागी बन्न पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक सदस्य रहेको दुई सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको जानकारी गराउँदछौं ।’

आज नै प्रतिबन्धित नेकपासँग वार्ता गर्नका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरे लगत्तै विप्लव नेतृत्वले पनि उच्चस्तरीय वार्ता टोली गठन गरेको हो । आज नै प्रेस विज्ञप्ति जारी गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हतियार व्यवस्थापन र मुद्दा फिर्ता लिने विषयमा वार्ताबाट नै समाधान खोजिने उल्लेख गरेका छन् ।

डनन्यूज ट्रेन्डिङ