बुटवल । काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिदैं गर्दा सशस्त्र प्रहरी निरीक्षक सहित दुईजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज पक्राउ गरेको छ । ५० हजार रुपैयाँ रकम लिदैँ गर्दा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग वुटवलका प्रवक्ता सुरेश भुसालका अनुसार पक्राउ परेका उनीहरुले काठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रकम लिएको बताए । अख्तियारले घुस रकम लिएको विषयमा थप अनुसन्धान अगाडि बढाएको पनि प्रवक्ता भुसालले जानकारी दिए ।