News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’

काठमाडौं, १४ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले संघीय संसद्का इन्जिनियर पृष्ठभूमिका सांसदहरूलाई दलीय राजनीतिको घेराभन्दा माथि उठेर आआफ्नो प्राविधिक विज्ञता र व्यावसायिक दक्षतालाई देशको दीर्घकालीन विकासमा केन्द्रित गर्न आग्रह गरेका छन् ।

बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको विशेष भेटघाट तथा छलफलका क्रममा प्रधानमन्त्री शाहले नीतिनिर्माणको तहमा रहेका प्राविधिक सांसदहरूलाई देश रूपान्तरणका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्न आह्वान गरेका हुन् ।

‘तपाईंहरू आफै प्राविधिक विषयमा जानकार हुनुहुन्छ र मुलुकको नीतिनिर्माण गर्ने ठाउँमा हुनुहुन्छ। देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस्।’- प्रधानमन्त्री बालेन्द्र शाह

निर्वाचन वा राजनीतिक गतिविधिका समयमा दलगत सक्रियता स्वाभाविक भए पनि संसद्मा प्रतिनिधित्व गर्ने प्राविधिक जनशक्तिले अन्य समयमा व्यक्तिप्रधान वा राजनीतिक खिचातानीभन्दा दीर्घकालीन नीति, प्रणाली र नवीन सोच (आइडिया)मा ध्यान दिनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो। प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई प्राथमिकतामा राखेर अघि बढेमा मात्रै मुलुकको विकासले सही गति लिने उनको भनाइ थियो।

छलफलका क्रममा उपस्थित सांसदहरूलाई ‘असाधारण’ (एक्स्ट्राअर्डिनरी) प्रतिभाको संज्ञा दिँदै प्रधानमन्त्री शाहले त्यस्ता व्यक्तिहरूले सामान्य घटना वा व्यक्ति केन्द्रित भएर समय नष्ट गर्नुको सट्टा सदैव नयाँ विचार र सृजनात्मक काममा ध्यान दिने धारणा व्यक्त गरे । यही किसिमको कार्यशैली र सोच अपनाइएमा आगामी पाँच वर्षभित्रै मुलुकको मुहार फेर्न सकिने उनको विश्वास छ।

उक्त अन्तरक्रियात्मक बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह लगायत संसद्मा प्रतिनिधित्व गर्ने तपेश्वर यादव, जगदीश खरेल (दोलखा), आशीष गजुरेल, उज्ज्वलकुमार झा, अरविन्द शाह, धर्मराज केसी, श्रीराम न्यौपाने, सागर ढकाल, सुशील खड्का र डा। राम लामा लगायत इन्जिनियर पृष्ठभूमिका सांसदहरूको उपस्थिति रहेको थियो।