News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु

मकवानपुर, ३१ भदौ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भएको भयानक गाडी दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य ४ जना घाइते भएका छन्।

इन्द्रसरोवर गाउँपालिका-२ सुकौरास्थित हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल सडक खण्डमा मङ्गलवार दिउँसो करिब २ बजे यो दुर्घटना भएको हो। काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०७२० नम्बरको यात्रुबाहक गाडी अनियन्त्रित भई सडकबाट करिब १ हजार मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परेको गाडीमा चालकसहित कुल ८ जना सवार रहेका थिए। दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानीखेत, इलाका प्रहरी कार्यालय भीमफेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट टोली परिचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीको कमाण्डमा ट्राफिकसहित २१ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो भने उद्धारकार्यका लागि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि खटिएको थियो।

उद्धार टोलीले दुर्घटनामा परी घाइते भएका २ महिला र २ पुरुषसहित ४ जनालाई सकुशल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पठाएको छ।

घटनास्थलमै ज्यान गुमाएका ४ जनाको हालसम्म पहिचान खुल्न सकेको छैन। प्रहरीले मृतकहरूको सनाखत गर्ने काम भइरहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

डनन्यूज ट्रेन्डिङ