News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश प्रमुख समाचार

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन

मुस्ताङ, २८ भदौंं । नेपाल–चीनबीचको उत्तरी कोरलानाका (लोमान्थाङ–४, न्हेचुङ) स्थित मुस्ताङ भन्सार कार्यालयबाट मात्र १५ दिनको अवधिमा एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।

रसुवाको भोटेकोशीमा गएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको हो।

भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा अवरुद्ध भएपछि मुस्ताङको कोरलानाकाबाट चिनियाँ मालवस्तु पैठारीको क्रम र राजस्व सङ्कलन दुवै तीब्र रूपमा बढेको छ। शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन २७ करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। भदौ २२ गतेयता मुस्ताङ भन्सारबाट दैनिक औसत ३० करोड रुपैयाँ हाराहारीमा राजस्व सङ्कलन भइरहेको प्रमुख चुडालले जानकारी दिए।

प्रमुख चुडालका अनुसार शुक्रबार मात्रै ७१ वटा कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधन (इभी) को भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन्। रसुवागढी नाका बन्द भएको भदौ १० गतेदेखि भदौ २५ गते शुक्रबारसम्म कोरलानाकाबाट नेपाल भित्रिएका कुल ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गराइएको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका कन्टेनर र विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गर्दा कुल दुई अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। स्मरण रहोस्, भदौ ९ गतेसम्म यस नाकाबाट १३३ कन्टेनर र १६३ वटा विद्युतीय सवारी मात्र नेपाल भित्रिएका थिए।

विसं २०८२ भदौअघि उपल्लो मुस्ताङका नागरिकका लागि मात्र बाह्रै महिना खुला गरिएको कोरलानाका, गत वर्ष तातोपानी र रसुवागढी नाकामा बाढीपहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि वैकल्पिक नाकाको रूपमा सञ्चालनमा ल्याइएको थियो। नेपाल सरकारले गत वर्षको भदौ ३१ गतेदेखि यसलाई निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको हो। भन्सार प्रमुख चुडालका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले छ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।

सो अवधिमा पैठारीतर्फ १४ अर्ब ४१ करोड र निकासीतर्फ २० करोड ५० लाख रुपैयाँ बराबरको मालवस्तुको कारोबार भएको थियो भने तीन हजार २२३ वटा विद्युतीय सवारी र एक हजार ८७३ वटा कन्टेनरको जाँचपास गरिएको थियो। प्रमुख उत्तरी नाकाहरू अवरुद्ध बनेको वर्तमान अवस्थामा मुस्ताङको कोरलानाका देशको वैदेशिक व्यापार धान्ने एक प्रमुख वैकल्पिक र भरपर्दो मार्ग बन्न पुगेको छ।

डनन्यूज ट्रेन्डिङ