News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

कास्कीमा पनि पत्रकारसहित विप्लवका नेता तथा कार्यकर्ताहरु पक्राउ

पत्रकार राजकुमार घिमिरे । प्रतिबन्धित नेकपा कास्कीको जनसभामा समाचार संकलन गरेर फर्किदैं गर्दा आज साँझ जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पत्रकार घिमिरेलाई समेत पक्राउ गरेको छ । विना कारण दुःख दिने मनसायले पत्रकार घिमिरेमाथि प्रशासनले यस अघि पनि दुःख दिएपछि चौतर्फी रुपमा पत्रकारहरुका विभिन्न संघसंस्थाहरुले यस घटनाको विरोध गरेका थिए ।

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीका नेता, कार्यकर्ता तथा पत्रकारलाई आज साँझ ७ बजे पक्राउ गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कास्कीले ७ औं पार्टी पुनर्गठन दिवसको सन्दर्भमा जनसभा गरेर फर्कदैं गर्दा बाटोमा प्रहरीले घेरा हालेर समाचार संकलनका लागि गएका पत्रकारसहित नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।

नेकपा कास्कीले आज पोखरा महानगरपालिका वडा नं. ३३ देउरालीस्थित सुकुम्वासीवस्तीमा जनसभा कार्यक्रमको आयोजना गरेको थियो । सो जनसभालाई नेकपा कास्कीका सेक्रेटरी विश्वासले सम्बोधन गरेका थिए । साँझ ७ बजे समाचार संकलन गरेर फर्किदैं गर्दा बाटोमा प्रहरीले पत्रकार राजकुमार घिमिरेलाई समेत पक्राउ गरेको छ । यता, विप्लवका नेता तथा कार्यकर्ताहरु को-को पक्राउ परे भन्ने विषयमा एकिन हुन नसकेको नेकपा कास्कीले जानकारी दिएको छ ।

सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि तथा पोखरापाटी डटकमका सञ्चालक समेत रहेका घिमिरेलाई यस अघि पनि पक्राउ गर्दा नेपाल पत्रकार महासंघको मिसन टोलीले पोखरामा प्रहरी प्रशासनसँग छलफल गरी रिहा गरेको थियो ।

प्रतिबन्धित नेकपाको कार्यक्रममा समाचार संकलनका लागि सहभागी हुने पत्रकारमाथि पनि यसअघिका कास्की प्रहरी प्रमुख दानबहादुर कार्की लगायतले नियतवश दुःख दिदैं आईरहेका थिए । झण्डै आधा दर्जन पत्रकारहरुलाई विभिन्न स्वार्थ र नियतवश दुःख दिन थालेपछि नेपाल पत्रकार महासंघ केन्द्र र कास्कीका प्रतिनिधिसहितको टोलीले छलफल गरी यो विषय टुङ्ग्याएको थियो ।