News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

रास्वपाका नेता बोधराज रेग्मी र ‘गण्डकी छड्के’का चन्द्र विक ठगी मुद्दामा फरार

बोधराज र चन्द्र विकसहित मित्र मिलन सहकारीका २७ ऋणीविरुद्ध पक्राउ पुर्जी जारी

पोखरा, १ जेठ । ‘गण्डकी छड्के’का चन्द्रबहादुर विक र राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मी ठगी आरोपमा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी जारी गरेसँगैं चन्द्र र बोधराज लगायतका २७ जना फरार भएका हुन् ।

पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारमा रहेको मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर बारम्बार ताकेता गर्दा पनि नतिर्ने २७ जना ऋणीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पुर्जी जारी गरेको हो। प्रतिव्यक्ति विगो छुट्याई जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा बुझाएको छ ।

‘मालपोत कार्यालयमा स्टीङ अपरेशन ! घुस सहीत रंगेहात । बिचौलियाको भागाभाग। कर्मचारी बिचौलियाको भण्डाफोर’ भन्ने कार्यक्रममा सँगैं खटिएका अपिल त्रिपाठी र ठगीमा फरार चन्द्रबहादुर विक ।

सहकारीको करोडौँ रकम हिनामिना र अपचलन प्रकरणमा कास्की प्रहरीले थप आक्रामक कदम चालेको छ । सहकारीबाट ऋण लिएर लामो समयसम्म चुक्ता नगर्ने र प्रहरीको बारम्बारको ताकेतालाई अटेर गर्ने राष्ट्रिय स्वतन्त्र पाटी स्याङ्जाका नेता हाल पोखरा–१७ बस्ने ३५ वर्षीय बोधराज रेग्मी र स्याङ्जा घर भई हाल पोखरा–१७ बस्ने गण्डकी छड्के कार्यक्रमका प्रस्तोता युट्युवर अपिल त्रिपाठीका सबैभन्दा निकट मानिने ४८ वर्षीय चन्द्र बहादुर बि.क. लगायत रहेका छन् ।

‘गण्डकी छड्के’ कार्यक्रमका प्रस्तोता अपिल त्रिपाठी र उनका विश्वासिला पात्र (वडीगार्ड र चालक) चन्द्र विक । हरेक न्यूजमा युट्युवर अपिलसँगैं हिड्ने विकको ‘वार्गेनिङ धन्दा’ले यो टिम नैं शंकाको घेरामा परेको छ ।

‘गण्डकी छड्के’ कार्यक्रमका प्रस्तोता अपिल त्रिपाठीका विश्वासिला पात्र चन्द्र विकले ‘गण्डकी छड्के’को हवाला दिदैं विभिन्न व्यक्तिहरूलाई धम्क्याएर रकम असुली गर्दै आईरहेका छन् । गण्डकी छड्केका अधिकांश कार्यक्रमहरुमा युट्युवर त्रिपाठीको ‘बडी गार्ड’को रुपमा रहने र प्रायः गण्डकी छड्केको कार्यक्रमहरुमा देखिने चन्द्र विकको हर्कतले ‘गण्डकी छड्के’ माथि नैं प्रश्न चिन्ह खडा गरेको छ ।

त्यसैगरी रास्वपा स्याङ्जाका प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीका स्वकीय सचिव बोधराज रेग्मीले समेत सहकारीको रकम तिर्नुको साटो गुन्डाहरु प्रयोग गर्दै सहकारीका पीडित बचतकर्ताहरुलाई उल्टैं धम्क्याउने र थर्काउँदैं आईरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मित्रमिलन सहकारी ठगीमा संलग्न थप २७ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। मित्रमिलन सहकारीको पुरक अनुसन्धानका क्रममा लामो समयसम्म ऋण चुक्ता नगर्ने र प्रहरीले बारम्बार ताकेता गर्दा पनि अटेर गर्नेहरु सबै विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

यो तस्विर एआईबाट निर्माण गरिएको हो । -सम्पादक

नियमनकारी निकाय सहकारी रजिष्ट्रारको कार्यालयले गरेको गहन छानबिन र ७१६ जना बचतकर्ताले दिएको संयुक्त जाहेरी र पुरक अनुसन्धान प्रतिवेदनका अनुसार कुल २९ करोड ४६ लाख रुपैयाँ सञ्चालक र ऋणी लगायतले ठगी गरेको पुष्टि भएको छ । कास्की प्रहरीले सहकारीका सञ्चालकदेखि ऋणीहरुसहित संलग्न सबैको विगोदावीसहित मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाई सकेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाका प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीका स्वकीय सचिव बोधराज रेग्मी । (पहेलो घेराभित्र)

यस प्रकरणमा सहकारीका अध्यक्ष रमण पौडेलसहितका पदाधिकारीहरूमाथि बचतकर्ताको २ करोड ६७ लाख भन्दा बढि रुपैयाँ सिधै हिनामिना गरेको आरोप लागेको छ । जाहेरवाला प्रकाश पौडेल लगायतले आफ्नो पसिनाको कमाइ फिर्ताको माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । यस्तै, अर्का बचतकर्ता विद्या डाँगीले आफ्नो खातामा रहेको २८ लाख २६ हजार रुपैयाँ मन्जुरी बिना नै गायब पारिएको र अध्यक्ष पौडेलमार्फत चिनिएका रियलस्टेट एजेन्टसँगको मिलेमतोमा रकम ठगी गरिएको भन्दै भरत भट्टराई, रमण पौडेल र किरण अधिकारी विरुद्ध किटानी जाहेरी दिएकी थिईन् ।

प्रहरीले वित्तीय विश्लेषण पश्चात् पक्राउ पूर्जी जारी गरेका नयाँ प्रतिवादीहरूमा कास्की मादी–२ स्थायी घर भई हाल पोखरा–१३ बस्ने ३८ वर्षीया रोश माया गुरुङ, पोखरा–५ प्रस्याङ बस्ने ४१ वर्षीया प्रतिमा पौडेल (लम्साल), तनहुँ फरकचौर–४ का ४२ वर्षीय अमृत परियार र स्याङ्जा फेदीखोला–४ स्थायी घर भई हाल पोखरा–१ बस्ने ६० वर्षीय कर्ण बहादुर रानाभाट रहनुभएको छ ।

‘गण्डकी छड्के’का अधिकांश कार्यक्रमहरुमा यसरी नैं युट्युवर अपिल त्रिपाठीसँगैं हिड्ने चन्द्र विक (रातो घेरामा) पक्राउपुर्जी जारी भएसँगैं फरार भएका छन् ।

त्यसैगरी, पोखरा–१३ की ४६ वर्षीया निकिता के.सी., रुपन्देही घर भई हाल पोखरा–७ बस्ने ३२ वर्षीय करण चौधरी, पोखरा–६ बैदामकी ४२ वर्षीया सिता कार्की, बागलुङ तमानखोला–१ का ३५ वर्षीय रेम बहादुर बि.क., पोखरा–१३ की ४८ वर्षीया तारा घर्ती र सोही स्थानकी ४८ वर्षीया लिला देवी गुरुङविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ ।

प्रहरीको सूचीमा पर्वत घर भई पोखरा–८ बस्ने ३४ वर्षीया सृजना देवी रिजाल कार्की, स्याङ्जा घर भई पोखरा–१७ बस्ने ३५ वर्षीय राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बोधराज रेग्मी, गोरखा घर भई पोखरा–११ बस्ने ४५ वर्षीया आशा आले, पोखरा–३३ का ४० वर्षीय रुम बहादुर मल्ल, पोखरा–५ का ४७ वर्षीय निपेन्द्र कुमार श्रेष्ठ र पोखरा–२ का ५९ वर्षीय बसन्त देव नापित समावेश हुनुहुन्छ ।

यस्तै, स्याङ्जा घर भई पोखरा–१३ बस्ने ५२ वर्षीया नरमता गुरुङ, स्याङ्जा घर भई हाल पोखरा–१७ बस्ने गण्डकी छड्के कार्यक्रमका कर्मचारी (गाडी चालक) ४८ वर्षीय चन्द्र बहादुर बि.क., तनहुँ घर भई पोखरा–१ बस्ने ५४ वर्षीय सुरोज कुमार श्रेष्ठ, पोखरा–१७ का ३० वर्षीय विनय गुरुङ, स्याङ्जा घर भई पोखरा–१५ बस्ने ५९ वर्षीया शान्ती कुमारी के.सी., तनहुँका ३४ वर्षीय अर्जुन राना, कास्की मादी–७ का ५४ वर्षीय शिवदत्त जैसी तिवारी, पोखरा–१३ का ५२ वर्षीय शिवराज बराल, पोखरा–२१ का ८८ वर्षीय वृद्ध हुमनाथ अधिकारी, पोखरा–८ की सौजना अधिकारी र पोखरा–१३ का मीन प्रसाद गुरुङलाई पनि प्रतिवादी बनाइएको छ ।

यसअघि सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी मुद्दामा ३३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। स्याङ्जा वालिङ नगरपालिका वडा नं. ११ घर भएका पर्वत कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहकारी रजिष्ट्रार कार्यालय पोखराका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, कास्की रुपा गाउँपालिका वडा नं. ५ घर भएका राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखराका तत्कालिन प्रबन्धक सन्तोष घिमिरे, पोखरा–२१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदी, लेखा समितिका पूर्वसदस्य अर्जुन गिरी, पोखरा–१ बगर घर भएका अधिवक्ता जनकल्याण पराजुली, स्याङ्जा स्थायी घर भई हाल पोखरा–७ बस्ने सहकारीका अध्यक्ष रमण पौडेल, पोखरा–५ मालेपाटन घर भएका विजय लम्साल, पोखरा–१२ बस्ने पूर्वअध्यक्ष कृष्णबहादुर राउत, पोखरा–८ बस्ने सचिव कुशल पौडेल रहेका छन् ।

त्यसैगरी, पोखरा–९ बस्ने कोषाध्यक्ष भिमलाल पौडेल, पोखरा–१२ बस्ने संगिता रेग्मी सुवेदी, पोखरा–८ बस्ने रनिता थापा, पोखरा–११ बस्ने गोपाल खनाल, पोखरा–१३ बस्ने सूर्यबहादुर अधिकारी, पोखरा–१ बस्ने प्रतिक लामिछाने, पोखरा–७ बस्ने जनकराज पौडेल, पोखरा–२३ बस्ने जिवनाथ पराजुली, पोखरा–१३ बस्ने सुजन आचार्य, पोखरा–१३ बस्ने भुवन पौडेल, पोखरा–११ बस्ने प्रबन्धक किरण अधिकारी, पोखरा–१७ बस्ने खुमानन्द काफ्ले, पोखरा–२१ बस्ने सुवास अधिकारी, पोखरा–२३ बस्ने विष्णुप्रसाद भण्डारी, स्याङ्जा पुतलीबजार–१२ पेल्काचौरका सञ्जय पौडेल, पोखरा–२३ बस्ने एकराज पराजुली, पोखरा–२१ बस्ने भरत भट्टराई, पोखरा–२३ बस्ने बामदेव सुवेदी, पोखरा–९ बस्ने सुरेशकुमार श्रेष्ठ, पोखरा–१४ बस्ने हरेराम भण्डारी, पोखरा–६ बस्ने कुमार मगर, पोखरा–६ बस्ने राजु बराल, पोखरा–१७ बस्ने बुद्धिसागर पौडेल र स्याङ्जा चापाकोट–४ का लालबहादुर घर्ती रहेका छन् ।

डनन्यूज ट्रेन्डिङ