महेश बस्नेतले न्यूज २४ का पत्रकार राजीव खत्रीलाई पनि आफूमाथिको आरोप पुष्टि गर्न नसके काट्ने धम्की दिएका छन् ।
काठमाडौँ, ५ असोज । गत भदौ २३ गतेको जेन-जी आन्दोलनपछि देशमा आएको परिवर्तनले पुराना दलका नेता तथा कार्यकर्ता मौनजस्तै छन् । शीर्ष तहका नेताले पनि सामाजिक सञ्जालमार्फत सीमित सन्देश सार्वजनिक गरिरहेका छन् । तर, एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत भने आक्रामक देखिन थालेका छन् ।
पछिल्लो समय उनी पत्रकारहरूलाई समेत धम्की दिन थालेका छन् । अपहरण, गुन्डागर्दी र बलात्कारको आरोप पटक–पटक लाग्दैं आईरहेका अपराधिक पृष्ठभूमिका विवादित पात्र बस्नेतले पछिल्लो समय दिएको धम्कीले जेन-जी (नयाँ पुस्ता) आन्दोलनकारी मात्र नभई सिङ्गो समाज नैं आक्रोशित बन्न पुगेको छ ।
शुक्रबार बस्नेतले ‘नेप्लिज टाइम्स’का कार्यकारी सम्पादक टेकमान शाक्यलाई धम्की दिए । यसअघि उनले न्यूज २४ का पत्रकार राजीव खत्रीलाई पनि आफूमाथिको आरोप पुष्टि गर्न नसके काट्ने धम्की दिएका थिए । बस्नेतले समाचार लेखेको भन्दै आफूलाई धम्की दिएको अडियो क्लिप पत्रकार शाक्यले सार्वजनिक गरेका छन् ।
शाक्यसँगको टेलिफोन संवादमा बस्नेतले भनेका छन्, ‘तिमीले मेरो विषयमा जे बोलेका छौ । त्यो पुष्टि भएन भने के गर्छौ ?’ बस्नेतले पत्रकार शाक्यकै नेतृत्वमा सिंहदरबार र सर्वोच्च जलाइएको आरोपसमेत लगाएका छन् ।
जेन जी आन्दोलनका क्रममा आफ्नो घर तोडफोड र आगजनी भएको भन्दै महेश बस्नेतले अराजक स्टाटस लेख्ने र भड्काउ अभिव्यक्ति दिँदै आएका छन् ।
पत्रकार शाक्यले धम्कीपूर्ण अडियो क्लिप सार्वजनिक गरेपछि पनि नेता बस्नेतले म्यासेज गर्दै धम्की दिएका हुन् । शाक्यलाई धम्की दिँदै उनले लेखेका छन्, ‘धेरै कल रेकर्ड गर्न तयार भएर बस बाबु, सुरक्षित रहनु, सुखी रहनु, कुनै दुर्घटना नपरोस्’ । पत्रकार शाक्यले अर्का एक अपरिचित व्यक्तिले पनि धम्की दिएको बताएका छन् । ‘उनले फोन गर्नुअगाडि ‘म महेश बस्नेतको मान्छे हुँ’ भन्दै एक अपरिचित व्यक्तिले पनि ज्यान मार्ने धम्की दिएको छ,’ शाक्यले भने । ती व्यक्तिले आफू महेश बस्नेतको शुभचिन्तक भन्दै बस्नेतका विषयमा धेरै नलेख्न धम्की दिएको शाक्यको भनाइ छ । यो कल रेकर्ड पनि पत्रकार शाक्यले सामाजिक सञ्जालमा राखेका छन् ।
पत्रकार महासंघको आपत्ति
बस्नेतले पत्रकार शाक्यलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै महासंघले बस्नेतलाई कारबाहीको माग गरेको हो ।
समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न सकिने भन्दै महासंघले पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न सम्बद्ध व्यक्तिहरूलाई सचेत गराएको छ । महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न पनि सम्बद्ध निकायसँग माग गरेको छ ।
नेवास् पत्रकार राष्ट्रिय दबूले पनि पत्रकारलाई धम्की दिनेहरुलाई तत्काल कारबाही गर्न र शाक्यको सुरक्षाका लागि सरकारसँग माग गरेको छ । दबूका महासचिव केके मानन्धरद्वारा जारी विज्ञप्तिमा पत्रकारको नैसर्गिक अधिकारमा अवरोध नगर्नसमेत आग्रह गरेका छन् ।
जेन जी आन्दोलनका क्रममा आफ्नो घर तोडफोड र आगजनी भएको भन्दै बस्नेतले अराजक स्टाटस लेख्ने र भड्काउ अभिव्यक्ति दिँदै आएका छन् । उनले न्यूज २४ का पत्रकार राजीव खत्रीलाई पनि आफूमाथिको आरोप पुष्टि गर्न नसके काट्ने धम्की दिएका छन् ।
महेश बस्नेतले न्यूज २४ का पत्रकार राजीव खत्रीलाई पनि आफूमाथिको आरोप पुष्टि गर्न नसके काट्ने धम्की दिएका छन् ।
२९ गते सुनौलो नेपाल नामको फेसबुक पेजमा पोस्ट गरिएको भिडियोमा बस्नेतले भनेका छन्, ‘जेन जीलाई उचाल्ने टंक दाहाल, राजीव खत्री को को हो अरू ? ल त्यो राजीव खत्री भन्ने फटाहले मेरोबारेमा यौनकाण्डदेखि लिएर अनेक भन्छ । त्यो पनि पुष्टि गर, च्यालेन्ज तँलाई । खुकुरी राखेर पुष्टि गर‘ पुष्टि भयो भने म काटिन तयार, पुष्टि भएन भने तँलाई काट्छु म । च्यालेन्ज तँलाई ।’
त्यसपछि पनि उनले यस्तै खालका अभिव्यक्ति दिँदै आएका छन् । भदौ ३० गते दिउँसो ११ बजेर ४६ मिनेटमा सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा उनले जेन जी लाई ‘आतंककारी’ भनेका छन् ।
उनले सो भिडियोमा भनेका छन्, ‘जेन जी भनेको आतंककारी हो । जसरी हिजो वाईसीएल आतंककारी थियो । हिजो माओवादी आतंककारी । लुटेर बैंक लुट्ने ठग्ने । १० वर्षमा माओवादीले गरेको भन्दा यिनीहरुले २ दिनमा बर्बाद बनाए । जेन जीलाई आतंककारी नभनौं भन्छन् अब साथीहरु । जेन जी भनेकै आतंककारी हो ल । १० चोटि, २० चोटि, ५० चोटि भन्छु । जसले सिंहदरबार जलाए, ती आतंककारी हुन् ।’
बस्नेतको विवादास्पद विगत : शोभा पाठकको बलात्कार आरोप
एमाले नेता महेश बस्नेत आफ्नै पार्टीका कार्यकर्तामाथि बलात्कारको आरोप खेपिरहेका पात्र हुन् । धादिङकी शोभा पाठकले बस्नेतमाथि बलात्कारको आरोप लगाउँदै आएकी छन् । पाठकका अनुसार, बस्नेतले आफूलाई बलात्कार गरेको र यसलाई सार्वजनिक गर्दा उल्टै साइबर अपराधको मुद्दा लगाएर कारबाही गराइएको छ । यस आरोपलाई पाठकले सामाजिक सञ्जालमा उठाएपछि उनलाई प्रहरीले साइबर ब्युरोबाट पक्राउ गरेको थियो ।
एमालेका विवादित र अपराधिक पृष्ठभूमि भएका नेता महेश बस्नेतलाई बलात्कारको मुद्दा दायर गरेकी एक साहसी महिला शोभा पाठक ।
पाठकले बस्नेतविरुद्ध जिल्ला अदालत र उच्च अदालतमा मुद्दा दायर गरेकी थिइन्, तर उच्च अदालतले दाबी नपुग्ने भन्दै मुद्दा खारेज गरेको छ । बस्नेतले भने यो आरोपलाई झुटो र राजनीतिक षड्यन्त्र भन्दै अस्विकार गर्ने गर्दछन् । तर उनीहरु बिचको सम्बन्धका अन्तर्रङ्ग तस्विरहरु भने सामाजिक सञ्जालमा छताछुल्ल छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार हुँदा यो मुद्दा दर्ता हुन सकेन भन्ने आरोप लागेको छ, र अबको सरकारले यसलाई पुनः हेर्न सक्ने आशा गरिएको छ । यो घटनाले बस्नेतको चरित्रमाथि प्रश्न उठाएको छ, जसले उनको हालका भड्काउ अभिव्यक्तिलाई थप विवादास्पद बनाएको छ ।