News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पर्यटन प्रमुख समाचार

अन्ततः आन्तरिक पर्यटक खोज्दै पर्यटन व्यवसायी

'पर्यटन व्यवसायीहरु घरभाडा, बैंकको सावाँ तथा ब्याज तिर्न नसक्ने अवस्थामा'

पोखरा । कुनै समय आन्तरिक पाहुनालाई पर्यटक नै नमान्ने र गोरो छालालाई भगवान् ठान्ने व्यवसायीहरु यतिबेला धरासायी बनेको पर्यटन क्षेत्रलाई उठाउन आन्तरिक पर्यटन प्रवद्र्धनमा जुटेका छन् । पछिल्लो केही दिन यता निस्किएका पर्यटन व्यवसायीहरुको टोलीलाई हेर्दा उनीहरु आफैंलाई पनि तनावमुक्त बनाउनुका साथै भ्रमणलाई सन्देशात्मक बनाउन प्रयत्नशिल देखिन्छन् ।

पछिल्लो पटक जाउँ हैं पोखरा अभियानलाई निरन्तरता दिदैं नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा पोखराका पर्यटन व्यवसायीहरुको टोली तीनदिने भ्रमणमा भोलिदेखि जाँदंैछ । यो भ्रमण टोलीमा पोखराका पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र केही पत्रकार गरी १५ जनाको सहभागिता रहने छ ।

खासगरी आन्तरिक पर्यटनलाई पुनःउत्थान गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डसँग मिलेर यस्तो अभियानलाई निरन्तरता दिन लागिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभएको छ । यही मंसिर २४ देखि २७ गतेसम्म सञ्चालन हुने अभियानमा जनकपुर, पर्सा, विरगंज, विराटनगर र चितवनसम्म टोलीले यात्रा गर्नेछ । अभियान अन्तर्गत पत्रकार सम्मेलन तथा प्रदेशस्तरीय र स्थानीय सरकारी तथा गैरसरकारी अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम हुने अध्यक्ष तुलाचनले स्पष्ट पार्नुभयो ।

नेपालमा सरकार र विद्रोही पक्षविच सशस्त्र द्वन्द्व भईरहेको अवस्थामा संघले १८ बर्ष अघि यो अभियानको सुरुवात गरेको थियो । यसपटक कोभिड १९ बाट थला परेको पर्यटन क्षेत्रलाई राहत पु¥याउन सकिन्छ कि भन्ने उद्देश्यका साथ भ्रमणको आयोजना गरिएको आन्तरिक पर्यटन पुनःउत्थान समिति गण्डकीका सहसंयोजक समेत रहेका तुलाचनले जानकारी दिनुभयो ।

विश्वव्यापी महामारीका कारण कतिपय पर्यटन व्यवसायीहरुले घरभाडा, बैंकको सावाँ तथा ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको पर्यटन व्यवसायीहरुको भनाई छ । त्यसो त धेरैले यस क्षेत्रबाट रोजगारी पनि गुमाएका छन् । कतिको ज्यानै पनि गएको छ । नेपालले भोगेको १० बर्षे आन्तरिक सशस्त्र द्वन्द्वको समयमा समेत नेपाली पर्यटन यति डरलाग्दो गरी प्रभावित भएका थिएनन् । महाभूकम्प पछि पनि पर्यटन क्षेत्र जसोतसो उठेको थियो । तर यसपटक स्थिति कहालीलाग्दो भएको पर्यटन व्यवसायीहरुको दुखेसो छ ।

कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भने झैं भ्रमणबाट आन्तरिक पर्यटकहरुको आगमन बढ्छ कि भन्ने आशा बोकेर व्यवसायीहरु भ्रमणमा जान लागेका हुन् । त्यसो त पर्यटन व्यवसायीहरुले नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा पूर्वी नेपालदेखि सुदुर पश्चिमसम्म यात्रा गर्दै आईरहेका छन् । पोखराका पर्यटन व्यवसायीहरु यस्ता भ्रमणले आन्तरिक पर्यटकहरुको संख्यामा वृद्धि हुने विश्वास व्यक्त गर्दछन् । त्यसो त पछिल्लो समय पोखराबाट विभिन्न टोलीहरु पर्यटन प्रवद्र्धनका नाममा भ्रमणमा निस्किई रहेका छन् ।