News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डन न्यूज खोज प्रमुख समाचार

अक्सिजन प्लान्टका सामाग्री वेवारिसे छाडेर बतास बेखबर !!

‘अब राखिने अक्सिजन प्लान्टले ठाउँ ओगट्ने बाहेक केही उपलब्धि छैन’ : निर्देशक प्रा.डा. खत्री

प्रा.डा. भरत खत्रीले भने–‘यहाँ भएका अक्सिजन प्लान्टलाई त नबिग्रियोस् भनेर आलोपालो चलाउने गरिएको छ । अब यो मेशिन राखेर के गर्नु । यहीं भएको प्लान्टबाट दैनिक चारसय सिलिण्डर अक्सिजन उत्पादन हुने गर्दछ । हाल अस्पताललाई एकसय सिलिण्डर भए पर्याप्त पुग्छ । थप चौंथो प्लान्ट हामीलाई आवश्यक नै छैन ।’

पोखरा, ७ असोज । बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासले जनतासँग चन्दा उठाएर ल्याएको अक्सिजन प्लान्टका सामानहरु वेवारिसे अवस्थामा छाडेर वेखबर भएका छन् । करिब १ वर्ष अघि पोखरा विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)को निर्माणाधिन भवन भित्र वेवारिसे अवस्थामा ती अक्सिजन प्लान्टका सामान राखेर आनन्दराज बतासको समूह नैं सम्पर्क विहिन भएका हो ।

कोरोना महामारीको समयमा अक्सिजनको अभावमा एकैं दिन ६ जना विरामीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा ज्यान गुमाए पछि अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर शुरु गरिएको यो अभियान आज साढे दुई वर्ष हुँदा पनि पुरा हुन सकेको छैन । जब कि दुई वर्ष अघिदेखि नैं विभिन्न दातृनिकाय, प्रवासी नेपाली र राज्यका तर्फबाट पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ३/३ वटा अक्सिजन प्लान्ट जडान भई पूर्णरुपमा सञ्चालनमा आईसकेका छन् । ढिलो गरी ल्याइएको मेसिन अस्पतालले आवश्यक छैन भनिरहँदा त्यसको सहीं व्यवस्थापन नगरी वेवारिसे अवस्थामा सामानहरु छाडेर बतास समूह सम्पर्कविहिन भएको हो ।

बाकसहरु त आईपुग्यो, तर त्यो भित्र के छ, न त अस्पताल प्रशासनले आजसम्म देखेको छ, न त बतास समूहले सार्वजनिक नैं गरेको छ ।

जतिबेला एउटा पनि अक्सिजन प्लान्ट थिएन र पोखरामा हाहाकार थियो, त्यतिबेला थालिएको यो अभियानमा धेरैले सहयोग पनि गरे । तर एक महिना भित्रमा अक्सिजन प्लान्ट ल्याएर सञ्चालनमा ल्याउने प्रचारप्रसार गरेका आनन्दराज बतासले अस्पतालमा नयाँ ३/३वटा अक्सिजन प्लान्ट जडान भई सञ्चालनमा आईसक्दा पनि अभियान अनुसार कामै गर्न सकेनन् । चन्दा संकलन गरी उठाईएको करोडौं रुपैयाँको अन्ततः सही सदुपयोग हुन सकेन । अर्को तर्फ अक्सिजन प्लान्टका यी सामानहरु वेवारिसे अवस्थामा छाडेर हिडेका आनन्दराज बताससहितका समितिका अन्य सदस्यहरु कोही पनि अस्पताल प्रशासनको सम्पर्कमा आजसम्म आएका छैनन् ।

बेखबर बतास: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक भवन निर्माणास्थलमा वेवारिसे अवस्थामा अक्सिजन प्लान्टका सामाग्रीहरु राखेर अभियानका संयोजक आनन्दराज बतास करिब १ वर्षदेखि बेखबर छन् । तस्विर: डन न्यूज

जनताबाट उठाईएको चन्दा पुनः फिर्ता गर्न सक्ने अवस्था नदेखेपछि आनन्दराज बतासले अक्सिजन प्लान्टका बाकसहरु बोकेर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ट्रकसहित २०७९ साल कार्तिक ३० गते पुगेका थिए । तब अस्पताल प्रशासनले थप अक्सिजन प्लान्ट आवश्यक नरहेको र अन्यत्र लैजान भन्दैं त्यहाँ नराख्न अनुरोध गरेको थियो । तर आनन्दराज बतास समूहले अटेर गर्दै निर्माणाधिन भवनमा वेवारिसे रुपमा मेसिनका बाकसहरु छाडेर वेपत्ता भएका थिए । बाकसहरु त आईपुग्यो, तर त्यो भित्र के छ, न त अस्पताल प्रशासनले आजसम्म देखेको छ, न त बतास समूहले सार्वजनिक नैं गरेको छ ।

‘अब आकस्मिक कक्ष निर्माणका लागि यो ठाउँ खाली गर्नु पर्ने भएको छ,’ अस्पताल प्रशासनका एक कर्मचारीले भने–‘न त आनन्दराज बतास सम्पर्कमा छन्, न त यो अभियानका अन्य सदस्यहरु नैं । हामीलाई पो झन् समस्यामाथि समस्या थपियो । अब अक्सिजन प्लान्टका सामानहरु लगेर कहाँ राख्ने ?’

मेशिन बाकसमा त आयो, तर आज १ वर्ष हुन लाग्दा पनि कोही फर्केर आएनन् । ती अक्सिजन प्लान्टका पाटपुर्जाहरु बाकस भित्र निर्माणाधिन भवनमा वेवारिसे अवस्थामा राखिएको छ । जब कि अब त्यस भवनमा अस्पताल प्रशासनले टेण्डर आह्वान गर्दै ‘आकस्मिक कक्ष’ निर्माणका लागि काम सुरु गर्दैछ ।  अस्पतालले निर्माणाधिन भवनमा केही समयलाई भनेर ती सामानहरु बतास समूह कैं जिम्मेवारीमा रहने गरी ठाउँमात्र उपलब्ध गराएको हो । ‘अब आकस्मिक कक्ष निर्माणका लागि यो ठाउँ खाली गर्नु पर्ने भएको छ,’ अस्पताल प्रशासनका एक कर्मचारीले भने–‘न त आनन्दराज बतास सम्पर्कमा छन्, न त यो अभियानका अन्य सदस्यहरु नैं । हामीलाई पो झन् समस्यामाथि समस्या थपियो । अब अक्सिजन प्लान्टका सामानहरु लगेर कहाँ राख्ने ?’

एउटा पनि अक्सिजन प्लान्ट नभएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा साढे दुई वर्ष भित्रमा ३ वटा प्लान्ट जडान भईसकेका छन् । तस्विर: डन न्यूज

सरकारी अस्पतालमा जहाँ अक्सिजन प्लान्टको आवश्यकता छ, त्यहीं लैजानुस् भन्दैं अस्पताल प्रशासनले आफूलाई अक्सिजन प्लान्टको आवश्यकता नभएको भन्दैं जनतासँग उठाएको करोडौं रुपैयाँको सदुपयोग गर्न बतास समूहलाई पटक–पटक आग्रह गरिरहेको छ । ‘तर यहीं अस्पताललाई भनेर पैसा उठायौं, अन्यत्र लैजाँदा हाम्रो वेइज्जत हुन्छ,’ आनन्दराज बतास समूहले भनेको भनाई उदृत गर्दै एक कर्मचारीले भने–‘जे जस्तो भएपनि अब यो मेशिन यहीं कतैं कुनै एक कुनामा राखिदिनुस् । कमसेकम यहाँ छ भनेर भन्न पाईयोस् । अब यो मेशिन चलोस् वा नचलोस् केही फरक पर्दैन । वश, हामीलाई पैसा खोई भन्दा मेशिन ल्याऔं र मेशिन खोई भन्दा, ‘हेर यहाँ नेर छ’ भन्न पाईयोस् । अरु कुरा जे सुकै होस्, फरक पर्दैन ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)

आनन्दराज बतास यतिबेला आफ्नो लाज जोगाउन आवश्यक नैं नरहेको ठाउँमा जबरजस्ती मेशिन राख्न खोज्दैछन् । समयमा आएको भए यो मेशिन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नै जडान भएर सञ्चालनमा आउँथ्यो । तर आज  अवस्था त्यस्तो रहेन । ३ वटा अक्सिजन प्लान्ट बतास समूहले मेशिन ल्याउनु भन्दा केही वर्ष अघि नैं जडान भएर सञ्चालनमा आईसकेको हुनाले थप प्लान्ट सञ्चालनको आर्थिक भार अस्पतालले खेप्न नसक्ने जनाएको हो ।

ढिलै भए पनि आयो, राखौं न त यो मेशिन भन्दा एउटा अक्सिजन प्लान्ट सञ्चालनको मासिक खर्च ८ देखि १० लाख रुपैयाँ आउँदो रहिछ । आवश्यकता नैं नरहेको यो मेशिन अब जोडेरमात्र के गर्नु ? अस्पताल प्रशासनले बतास समूहलाई अन्यत्र लगेर जोड्न सके, मेशिनको पनि सही प्रयोग हुने र जनताले दिएको पैसाको पनि दुरुपयोग नहुने बताई रहेका छन् । तर आनन्दराज बतासलाई यो कुराको कुनै प्रवाह नै छैन ।

एकातर्फमात्र सञ्चालन गर्दा पनि अस्पतालले मासिक ८ देखि १० लाख रुपैयाँसम्म आर्थिक खर्च व्यर्होनु पर्ने अस्पतालका निर्देशक प्रा.डा.भरतबहादुर खत्री बताउँछन् । निर्देशक प्रा.डा.खत्री भन्छन्–‘अनावश्यक अक्सिजन प्लान्ट राख्नु सेतो हात्ती पाले जस्तैं हो । एउटा अक्सिजन प्लान्ट एक महिना चलायौं भने ८ देखि १० लाख रुपैयाँ खर्च हुन्छ । बिजुली बत्तिको मात्र ५ देखि ६ लाख रुपैयाँ उठ्ने गर्दछ ।’

ढिलाईको पराकाष्ठा: तदर्थ समितिका कोषाध्यक्ष अटोवेज प्रालिका अध्यक्ष नारायण पौडेलले २ वर्षअघि अक्सिजन प्लान्ट स्थापना गर्ने सम्बन्धमा जारी गरेको विज्ञप्ति ।

बतास समूहले अस्पताल प्राङ्गणमा ल्याएर छोडेको अक्सिजन प्लान्टको आवश्यकता र औचित्यका बारेमा प्रश्न गर्दा निर्देशक प्रा.डा. खत्रीले भने–‘मैले उहाँहरुलाई पनि भनेको हो । यो आवश्यक ठाउँमा दिए हुन्छ भनेको हो । खास अहिले त्यो प्लान्टको आवश्यकता र सदुपयोग यहाँ छैन ।’

यस विषयमा जानकारी लिन आनन्दराज बतासको मोवाईल नम्बरमा पटक–पटक फोन सम्पर्क गर्दा पनि उनले फोनैं उठाएनन् । फोन नउठेपछि म्यासेज गरेर यहीं विषयमा प्रश्न पनि राख्यौं । तर जवाफ केही आएन । जसले गर्दा बतास समूहको प्रतिक्रिया हामीले तपाईहरु माझ राख्न सकेनौं । सेती नदीको रामघाट लगायत महानगरपालिका भित्रका सम्पूर्ण घाटहरुको ठेक्का हात पार्न तत्कालिन मेयर मानबहादुर जिसीसँग उनले जनताको मन जित्ने गरी आफ्नो व्यवसायिक उद्देश्यमा विरोध मत्थर गर्ने गरी चालेको यो अभियान अनन्तः असफल सावित भएको छ ।

अभियानमा को-को सहभागी थिए त ?

‘रु.१०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने अभियानका असफल अभियन्ताहरु

यो अभियानमा पोखराका व्यापारी र तिनले खोलेका सञ्चारमाध्यममा कार्यरत केही पत्रकारहरु अग्रमोर्चामा देखा परेका थिए । प्रतिदिन १५० सिलिण्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट स्थापनाका लागि र थप स्वास्थ्य सामाग्रीको लागि करिब ५ करोड लागतको अनुमान गर्दै बतास फाउण्डेसनको अग्रसरतामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्टको स्थापना गर्ने भन्दैं अभियान शुरु गरिएको थियो । जनस्तरबाट सहभागि र अपनत्व महसुस हुन सकोस् भन्दैं ‘रु.१०० दान गरौं, महामारीमा प्राण राखौं’ भन्ने मूलमन्त्रसहित महाअभियान शुरु गरिएको बतास फाउण्डेसनका अध्यक्ष तथा यो अभियानका संयोजक आनन्दराज बतासको भनाई थियो ।

बतास समूहले ल्याएका सामानहरु यतिबेलादेखि नै वेवारिसे अवस्थामा अस्पतालको निर्माणाधिन भवनमा मिल्किरहेका छन् । तर यसका अभियन्ताहरु मौंन छन् ।

यो अभियानलाई सफल बनाउन र यसका गतिविधिलाई पारदर्शी बनाउन एक तदर्थ समिति गठन गरिएको थियो । जसको संयोजकमा आनन्दराज बतास थिए भने संरक्षकमा तत्कालिन पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी थिए । साथै सो तदर्थ समितिको कोषाध्यक्षमा अटोवेज प्रा.लि.का अध्यक्ष नारायण पौडेल थिए । साथै सदस्यहरुमा केसी ग्रुपका किरण केसी, पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखे, सुपरमादी हाइड्रो प्रा.लि.का अध्यक्ष पुष्पज्योति ढुंगाना, सेलवेज डिपार्टमेन्टल प्रा.लि.का अध्यक्ष सुशिलमान प्रधानाङ्ग र पोखराका व्यापारीहरुको समूहले खोलेको एभरेण्ट एफएमका कर्मचारी दीपेन्द्र श्रेष्ठ लगायत थिए ।

व्यापारी आनन्दराज बतासले अभियान शुरु गर्दा यसरी तामझामका साथ प्रचारप्रसार गरेका थिए । तर उनको अभियान अन्ततः असफल सावित हुन पुग्यो ।

यो समूहले तामझामका साथ अक्सिजन प्लान्ट स्थापना गर्ने भन्दैं ग्लोबल आइएमई बैंकको खाता नं. ६५०१००००४७७ मा १०० रुपैयाँदेखि आफूले चाहेजति पैसा जम्मा गर्न सकिने प्रचारबाजी गरिरहेको थियो । अभियानमा सहभागी व्यापारी र पत्रकारले गण्डकी प्रदेश कैं सबैभन्दा ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन प्लान्ट स्थापना गर्ने भन्दैं निकै आक्रामक प्रचारबाजी गरिरहेका थिए । तर यी सबै मिलेर जति प्रचारबाजी गरेपनि न त समयमा अक्सिजन प्लान्ट ल्याउन सके, न त ल्याएको मेशिनको सहीं व्यवस्थापन नै गर्न सके ।

‘महामारीको समयमा पोखराका मैं हुँ भन्ने व्यापारी र पत्रकारले भने पछि पैसा सोचेभन्दा छिटो उठ्यो ।’ एक चन्ददाताले भने–‘तर पैसा उठे अनुसार अक्सिजन प्लान्ट आउन सकेन । वषौंपछि मेशिन ल्याइयो भन्ने सुनिएको छ, तर त्यो मेशिन कहाँ, कुन अवस्थामा र कसरी राखिएको छ, हामी चन्दादातालाई केही पनि जानकारी छैन ।’

व्यापारी आनन्दराज बतासको अर्को रुप: पशुपतिनाथ मन्दिरको धर्मशालामा थ्रीस्टार होटल चलाउने बतास, सार्वजनिक जमिन र प्राकृतिक सम्पदा दोहनका अनेकन् काण्डमा बारम्बार विवादमा आईरहन्छन् ।

अर्का एक चन्दादाताले भने–‘व्यापारी र व्यापारीले पालेका पत्रकारको विश्वास गर्दा आज जनताबाट उठाइएको करोडौं रुपैयाँ बालुवामा पानी जस्तै खेर गयो । यसको जिम्मेवारी अभियानकर्ताहरुले लिनुपर्छ । अस्पतालमा यस अघि नैं ३/३ वटा अक्सिजन प्लान्ट जडान भएर सञ्चालनमा आईसकेको छ । अब त्यो मेशिन त्यहीं मिल्काएर हुन्छ ? यो जनताको पैसा हो । बरु अन्यत्र सरकारी अस्पताललाई दिईयोस् जहाँ यसको आवश्यकता खड्किएको छ । यसरी वेवारिसे अवस्थामा नफालियोस् ।’

‘अब राखिने अक्सिजन प्लान्टले ठाउँ ओगट्ने बाहेक केही उपलब्धि छैन’ : निर्देशक प्रा.डा. भरत खत्री

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा.भरत खत्री

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा.भरत खत्रीले आनन्दराज बतास समूहले ल्याएको अक्सिजन प्लान्ट अस्पतालमा राख्नु भनेको ठाउँ ओगट्ने बाहेक अरु केही उपलब्धि नहुने बताएका छन् । अस्पतालमा यस अघि नैं ३ वटा अक्सिजन प्लान्ट जडान भईसकेको अवस्था छ । जसको पूर्णरुपमा उपयोग हुन नसकिरहेको निर्देशक प्रा.डा.खत्रीले बताए ।

प्रा.डा.खत्रीले भने–‘यहाँ भएका अक्सिजन प्लान्टलाई त नबिग्रियोस् भनेर आलोपालो चलाउने गरिएको छ । अब यो मेशिन राखेर के गर्नु । यहीं भएको प्लान्टबाट दैनिक चारसय सिलिण्डर अक्सिजन उत्पादन हुने गर्दछ । हाल अस्पताललाई एकसय सिलिण्डर भए पर्याप्त पुग्छ । थप चौंथो प्लान्ट हामीलाई आवश्यक नै छैन ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालनमा आएका ३ वटा अक्सिजन प्लान्टहरु (फोटो फिचर)

पहिलो अक्सिजन प्लान्ट :

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा सञ्चालनमा आएका ३ वटा अक्सिजन प्लान्टहरु मध्ये पहिलो प्लान्ट । जो प्रयोगशाला नजिकै राखिएको छ ।

दोस्रो  अक्सिजन प्लान्ट:

तेस्रो अक्सिजन प्लान्ट :

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदान गरेको अक्सिजन प्लान्ट । जसको २०७८ साल साउन ९ गते सहयोग स्वरुप प्रदान गरेको थियो । जसको फागुन २३ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।


व्यापारी आनन्दराज बतासले अभियानका थप सदस्यहरुको नामावलीसहित जारी गरेको प्रेस विज्ञप्ति