News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

योद्धाहरू वृद्धाश्रममा, सुकुम्बासी बस्तीमा !

‘झापा विद्रोह’का योद्धालाई नेताहरु सम्मान त गर्छन्, तर विद्रोहीहरुको जीवन निकै कष्टकर छ । उनीहरु सुकुम्बासी बस्ती र वृद्धाश्रममा बुढ्यौली जीवन बिताइरहेका छन् ।

अर्जुन राजवंशी, काठमाडौं, २१ फागुन । पूर्वपश्चिम राजमार्गस्थित धुलाबारी चोक पुग्नुअघि टिमाई खोला पुल तर्नुपर्छ । चोकदेखि करिब डेढ सय मिटर पश्चिमको टिमाई पुलकै तलपट्टि सानो दुर्गा अधिकारी (७१) बस्छन् ।

खोलाको पश्चिम किनारमा लस्करै घरहरू भएको सुकुम्बासी बस्ती छ । बस्तीको पहिलो घर हो अधिकारीको । ‘झापा विद्रोह’ का एक योद्धा अधिकारी २०४९ देखि त्यही सुकुम्बासी बस्तीको ३ धुर ऐलानी जमिनमा सानो घर बनाएर बसोबास गरिरहेका छन् । सामन्ती राज्यसत्ताविरुद्ध अधिकारी २०२५ सालतिरै क्रान्तिकारी कम्युनिस्ट बने । भूमिगत हुँदै सशस्त्र संघर्षमा होमिएका अधिकारीले १७ वर्ष कठोर जेल जीवन बिताए ।

१७ वर्षको किशोरवयमै घरपरिवार छाडेर अधिकारीहरूले भूमिगत संघर्ष गरेकै जोडबलमा मुलुकमा कम्युनिस्ट पार्टीको उदय भयो । मुलुकको अवस्था र व्यवस्था परिवर्तन भए । तर, बुढ्यौलीका लामा दिनहरू खोला किनारको सुकुम्बासी बस्तीमा बिताउनुपर्दा उनलाई दुःख लागेको छ । ‘देश–पार्टीका लागि त्यत्रो गर्दा पनि आफ्नो केही भएन’ उनले भने, ‘तर, त्यो संघर्ष गलत थिएन । सँगैका सहपाठीहरूको नजरअन्दाजमा परियो ।’

भूमिगत संघर्षमा सँगै हिँडेका सहपाठी सांसद, मन्त्री हुँदै प्रधानमन्त्री बने । तर, आफूहरूको कहिल्यै खोजीनिती नहुँदा उनको चित्त असाध्यै दुखेको छ । ‘एमालेबाहेक कतै गइनँ । जेलबाट छुटेपछि ३ वर्ष जिल्ला पार्टी कार्यालयमा काम गरेँ । त्यसपछि पनि निरन्तर पार्टी गतिविधिमै लागिरहेँ । तर, खोइ किन हो हामीलाई पार्टी र भूमिगत सहपाठी कसैले हेरेनन्,’ उनी भन्छन् ।

जेलमा चरम यातना सहेका अधिकारीको शरीर अहिले फतक्कै गलेको छ । एक वर्षयता लगातारजसो बिरामी भइरहन्छन् । हड्डी खिइएर ढाड दुख्ने व्यथाले बेस्सरी च्यापेको छ । नसाको समस्या छ । ‘धेरै बेर बसिरहन सक्दिनँ । धेरै बेरसम्म सुतिरहन पनि सक्दिनँ । हिँडडुल गर्न पनि गाह्रो हुन्छ’, उनी भन्छन्, ‘लठ्ठीको सहारामा कहिलेकाहीँ ओर्तिरपर्तिर डुल्छु ।’ पैसा अभावमा नियमित खानुपर्ने औषधिसेवन गर्न पाएका छैनन् । भन्छन्, ‘आम्दानी छैन । घरमा तेल–भुटन खानै गाह्रो छ । औषधिमुलो कहाँबाट गर्नु ?’

‘झापा विद्रोह’ का योद्धा भनेर मान्छेहरूले सम्मान गरे पनि अधिकारीको जीवन निकै कष्टकर छ । एक वर्षअघि उनको सानो कटेरो हेरिनसक्नु बिजोग थियो । माओवादी सांसद राम कार्कीको सांसद विकास कोषबाट ३ लाख रुपैयाँको सहयोगमा भत्किएर बस्नै नमिल्ने घरका पर्खाल बनाइएका छन् अघिल्लो वर्ष । टिनको छाना र बरन्डामा सानो किचनसहितको दुई कोठाको घरमा अधिकारी दैनिकी बिताउँछन् ।

अधिकारीकी एक छोरी छन् । कमाइ नभएकाले छोरीले मावल बसेर एसएलसीसम्म पढिन् । एउटा विदेशी संस्थाको सहयोगमा स्टाफ नर्स पढ्ने अवसर पाइन् । ‘नर्सिङ पढिसकेपछ साथीभाइको सहयोगबाट अमेरिका गएकी छ । पढ्न गएकी । उसले अलिअलि पठाउने पैसाले घर खर्च चलेको छ,’ अधिकारीले सुनाए ।

अर्जुनधारा नगरपालिका–११ बुट्टाबारी उत्तरको श्रमिकटोलमा बसोबास गर्छन् ७० वर्षीय दधिराम उप्रेती । उनी पनि ‘झापा विद्रोह’ का योद्धा हुन् । १५ वर्ष जेल बसेका उप्रेती पनि सानो दुर्गा अधिकारीजस्तै बेवास्तामा परेका पुराना कम्युनिस्ट हुन् ।

पुरानो टाँडे घरमा बसोबास गर्दै आएका उप्रेतीले कम्युनिस्ट नेताबाट थुप्रै आश्वासन पाए । तर, आजसम्म कसैले केही सहयोग नगरेको उनी बताउँछन् । ०२९ पुस १४ मा घर नजिकैको सालबारीबाट पक्राउ पर्दा उप्रेती कक्षा १० पढ्दै थिए । ‘हामीले विद्रोह गरेकै कारण एमाले पार्टी जन्मियो । देशले एउटा राजनीतिक दिशा पायो,’ उनी भन्छन्, ‘मुलुकको व्यवस्था परिवर्तनसँगै सबै नेता, जनताको जिन्दगी बराबर हुन्छ भन्ने सोचेका थियौं । तर, त्यस्तो भएन ।’

उनले अझै पार्टी छाडेका छैनन् । तर, जीवनको महत्त्वपूर्ण समय भूमिगत संघर्ष र जेल बसाइमा बितेकाले आफ्नो र परिवारका लागि केही गर्न नसकेको गुनासोको थुप्रो छ । सम्पत्तिका नाममा ९ कट्ठा जमिन छ । त्यसको उब्जनीले परिवारलाई खान पुग्दैन । अन्य आम्दानी छैन । उच्च रक्तचाप र युरिक एसिडको समस्या छ ।

०४४ असोजमा ९ हजार ३ सय ३० रुपैयाँ जरिवाना तिरेर छुटेका उप्रेती ०४६ को जनआन्दोलनमा पनि अग्रपंक्तिमा खटिए । बहुदलीय व्यवस्थाछि झापा विद्रोहमा संघर्ष गरेका सहपाठीहरू सांसद बने । बिस्तारै मन्त्री बन्न थाले । भूमिगतकालमा संगठनमा सँगै खटिएका केपी ओली दुईपटक प्रधानमन्त्री बने । तर, उप्रेतीहरूले कुनै अवसर पाएनन् । ‘७० वर्ष पुगिसकेँ । १६–१७ वर्षकै उमेरमा संगठनका लागि जेलनेल भोगियो । एकैसाथ काम गरेका साथी देशको ठूला–ठूला पदमा पुग्दासमेत हामीलाई सम्झिएनन् । अब, गुनासो गरेर के गर्नु ?’ उनले भने ।

‘झापा विद्रोह’ का अर्का योद्धा हुन्, वीरबहादुर श्रेष्ठ । हक्की स्वभावका श्रेष्ठ सशस्त्र संघर्षका बेला प्रहरीसँगको मुडभेडमा खुब अघि सर्थे । दमन सहनै नसक्ने श्रेष्ठ ‘झापा विद्रोह’ का क्रममा ५ वर्ष जेल परे ।

सालबारीमा अरूको अँधिया खेती गर्दै जीविका चलाउने श्रेष्ठ २०२४ र २५ देखि नै कम्युनिस्टहरूको भेला–बैठकबारे चासो राख्थे । शनिश्चरे गाउँ पञ्चायतअन्तर्गत सालबारीका टाठाबाठा नेता थिए, बुटुन चौधरी । उनकै अगुवाइमा सालबारीमा खेतीपाती हुन्थ्यो । एक दिन घरमा खाने केही नभएपछि श्रेष्ठले चौधरीसँग दुई मन धान मागेका थिए । तर, चौधरीले दिन्न भने । नदिएपछि श्रेष्ठले त्यतिबेलै चौधरीमाथि आक्रमण गरे । आक्रमणपछि सालबारीमा ‘गाउँ एक्सन’ भयो । गाउँका धेरै जना पक्राउ परे ।

०२८ देखि ‘झापा विद्रोह’ को सशस्त्र संघर्षमा भूमिगत भएका उनी धेरैपटक प्रहरीमाथि आक्रमण गरेर भाग्न सफल भएका थिए । तर, चौधरीमाथिको आक्रमणपछि ०२८ चैतमा गाउँकै सालबारी स्कुलबाट उनी पक्राउ परे । त्यतिबेला कम्युनिस्ट आन्दोलनमा लागेको थाहा पाएपछि प्रहरीले परिवारलाई समेत छाड्दैनथ्यो । श्रेष्ठ परिवारको सम्पर्कमा पनि नबसी भूमिगत भए । सीपी मैनाली, राधाकृष्ण मैनालीहरूको निर्देशनमा काम गरे । जेल परेपछि श्रीमती, छोराछोरी सबैको बिचल्ली भयो । को कहाँ गए श्रेष्ठलाई थाहा भएन । २०३३ सालमा राजा वीरेन्द्रको जन्मोत्सवका अवसरमा श्रेष्ठ जेलमुक्त भए । ९० वर्षीय श्रेष्ठ ३३ सालदेखि एक्लो जीवन बिताउँदै आइरहेका छन् । श्रेष्ठ अहिले वृद्धाश्रममा बस्छन् । केही दिनपछि ९१ वर्षमा टेक्ने श्रेष्ठ बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रले सञ्चालन गरिरहेको वृद्धाश्रममा बस्न थालेको ९ वर्ष पुग्यो ।

‘त्यसबेलाको व्यवस्था ठीक थिएन । कोही भोकै मर्थे । कसैको धेरै सम्पत्ति हुन्थ्यो । नेता–जनता सबै समान हुनुपर्छ भनेर आन्दोलनमा लागियो,’ उनले भने, ‘त्यत्रो आन्दोलन गर्‍यौं । कति साथीले ज्यान गुमाए । हामीले चरम यातना भोग्दै जेल जीवन बितायौं । तर, अवस्था त अहिले पनि झन्डैझन्डै उस्तै छ ।’ सँगै विद्रोहमा होमिएका साथीहरू मन्त्री, प्रधानमन्त्री भएकोमा खुसी छन् उनी । ‘झापा विद्रोह’ मा लागेबापत उनले चारपटक नेतासँग हात मिलाए र दोसल्ला ओढे । ‘आन्दोलनमा लागेर के पाएँ भन्नु ? नेताहरूले मलाई चार पटक स्टेज चढाए । हात मिलाए । दोसल्ला ओढाएर सम्मान गरे’, कान एकदमै कम सुन्ने श्रेष्ठले भने, ‘मेरो साथी केपी ओलीलाई भेटेर दुई–चार प्रश्न सोध्नु छ । अघिल्लोपल्ट मेची–महाकाली अभियानका बेला बिर्तामोडको कार्यक्रममा मलाई पनि मञ्चमा बसाएका थिए । त्यतिबेला दुईरचार कुरा गर्नु छ भन्दा उहाँले हल्ला छ केही सुनिँदैन, पछि कुरा गरौँ भन्नुभएको छ ।’ के वीरबहादुरलाई अब ओलीले भेटेर ‘दुईरचार’ कुरा गर्लान् ?

‘झापा विद्रोह’ का अर्का योद्धा मानकुमार तामाङ सुखानी हत्याकाण्ड भएको स्थानदेखि पूर्वको बस्तीमा बस्छन् । अढाई दशकअघि बनाएको काठको सानो टाँडे घर छ । घर जीर्ण छ । पानी पर्दा छाना चुहिन्छ । हिउँदमा चिसो सिरेटाले कोठाभित्र बस्न सकिँदैन । घरका बेरा भत्किएका छन् । एक रात बिताउन पनि कठिन हुने उक्त घरमा ६८ वर्षीया बिरामी पत्नी फूलमायासँग ७२ वर्षीय मानकुमार जीवनको बाँकी समय कटाउँदै छन् ।

झापा–इलामको सीमावर्ती बस्ती अर्जुनधारा नगरपालिका–१ खुदुनाबारीमा पाँच कट्ठा ऐलानी जमिनमा उब्जाएको बालीले दुई जनाको परिवार धान्नुपरेको छ । घरको बालीले वर्षभरि खान पुग्दैन । चोयाको डोको, नाङ्लो बनाउँछन् । कहिलेकाहीँ नजिकैको नेते खोलामा बालुवा चाल्छन् । त्यसबाट हुने अलिअलि आम्दानीले तेल–नुन र औषधिमुलो गर्छन् । कमाइले वर्षैभरि खान धौ–धौ पर्छ । जीर्ण घर भत्किसक्दासमेत उनले टालटुल गर्न सकेका छैनन् ।

एक धुर नम्बरी जमिन नभएका मानकुमारले ऐलानी जमिनमै कसैले घर बनाइदिन्छन् कि भनेर धेरैको आशा गरे । सहयोद्धा सांसद, मन्त्री हुँदै प्रधानमन्त्रीसम्म भए । ०७४ को चुनावताका एमालेले मेची–महाकाली अभियान चलाएको थियो । अभियानका क्रममा मानकुमारलाई एमाले कार्यकर्ताले घरबाटै उठाएर बिर्तामोड ल्याएका थिए । बिर्तामोडको कार्यक्रममा उनलाई केपी ओलीले आफूसँगै मञ्चमा बसाए । ओलीले बात पनि मारे । ‘तर, चुनाव जितेपछि कसैले खोजीनिती गरेनन् । एमालेकै जनप्रतिनिधिहरू भएको अर्जुनधारा नगरपालिकाले समेत मेरो बिन्ती सुनेन,’ उनले गुनासो गरे । कतैबाट सहयोग नपाएकै कारण जीर्ण घरमा बस्न बाध्य भएको उनी सुनाउँछन् ।

उनी अतिविपन्न परिवारका रूपमा चिनिन्छन् । ‘सँगै जेल बसेका केपी ओलीहरू प्रधानमन्त्री भए । सीपी मैनाली, राधाकृष्ण मैनालीहरू मन्त्री भए । नारद वाग्लेहरू राजदूत बने । साथीहरूले आफ्ना श्रीमतीलाई समेत सांसद र मन्त्री बनाए । धन–सम्पत्ति जोडे । तर, आफूले एउटा घरसम्म जोड्न सकिनँ,’ चाउरिएको अनुहार मलिन बनाउँदै मानकुमारले भने । ‘पक्राउ परेपछि जेलमा साह्रै दुःख पाइयो । कठोर यातना भोगियो,’ मानकुमार भन्छन्, ‘नेताहरूसँग भूमिगत भएर हिँड्दा जिन्दगीले यो उमेरसम्म दुःख पाउँछ भन्ने कहाँ सोचियो र ?’ जेल परेपछि उनको परिवारको बिचल्ली भयो ।

‘२०४६ पुसमा जेलबाट छुटेर आउँदा मेरी श्रीमती छोराछोरी लिएर जयपुरमा एक जना नेवारको घरको ग्वालीमा बसेकी थिइन् । अन्त कतै जाने ठाउँ थिएन । मैले पनि परिवारसँग त्यही ग्वालीमा एक वर्ष बिताएँ,’ उनले भने, ‘कैयौं पटक आधा रातमा भैंसीले हामीमाथि पिसाब गरिदिन्थ्यो ।’

स्तन क्यान्सर भएर जेठी श्रीमती शोभाको ०४९ मा निधन भयो । श्रीमतीको निधनपछि एक छोरा, दुई छोरीलाई हुर्काउन निकै गाह्रो भएको उनले बताए । ०५१ मा मानकुमारले कान्छी श्रीमतीका रूपमा फूलमायालाई भित्र्याए । उनीपट्टि एक छोरा र एक छोरी भए । छोरीको दुई वर्षअघि निधन भयो । दशकअघि छोरा पैसा कमाउन भारतको कोइलाखानी गएको अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

मानकुमारको दुःख देखेका अर्जुनधाराका पत्रकारहरूले उनका लागि एउटा घर बनाइदिँदै छन् । टिनको छाना भएको एक तलाको पक्की घरको निर्माण कार्य ८० प्रतिशत सकिएको छ । -कान्तिपुर दैनिक