News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पर्यटन प्रमुख समाचार

पोखरादेखि सुदूरपश्चिमको धनगढीसम्म हवाई सेवा शुरु

१८ फागुन, पोखरा । पर्यटकीय नगरी पोखरादेखि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीसम्म हवाइ सेवा आजदेखि शुरु भएको छ । अब पोखरादेखि धनगढीसम्म हप्ताको तीन दिन हवाइ सेवा सञ्चालन हुने भएको हो ।

स्थलमार्ग हुँदै पोखरादेखि धनगढी पुग्न २४ घन्टाभन्दा बढी समय लाग्दछ । हवाइ मार्गबाट भने ५५ मिनेटमै पुग्न सकिन्छ । बुद्ध एयरको पोखरा स्टेसन म्यानेजर गौतम बरालका अनुसार पोखरादेखि धनगढीसम्मको भाडादर ६ हजार नौ सयदेखि १२ हजार २४० रुपैयाँसम्म तोकिएको छ । सातामा आइतबार, बुधबार र शुक्रबार गरी तीन दिन पोखरा–धनगढी उडान हुने तालिका रहेको छ ।

नेपाल टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० गण्डकीको अगुवाइमा पहिलो उडानमा पोखरादेखि धनगढीसम्म जान लागेका पर्यटकलाई गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्माले बिदाइ गरेका छन् । कोरोना महामारीपछि पर्यटन क्षेत्र लयमा फर्किन लागेको बेला पोखरा र धनगढीको हवाइ सम्बन्धले व्यवसायीहरूलाई थप राहत पुग्ने विश्वास मन्त्री शर्माले व्यक्त गरे । ‘पर्यटनलाई चलायमान बनाउन झन्झटिलो स्थलमार्गको विकल्पमा अब सुदूरपश्चिमको धनगढी र पोखरा हवाइ सेवा सुरु भएको छ,’ मन्त्री शर्माले भने, ‘पैसा हुने तर कम समय हुनेले पनि अब पोखरा र धनगढीमा रमाउन पाउने भएका छन् ।’

पहिलो लहरको कोरोना महामारीलगत्तै नाट्टाकै नेतृत्वमा पोखरा–नेपालगञ्ज उडान भएको थियो । सीता एयरलाइन्सको सानो जहाजबाट उडान सुरु भएकोमा गत साउनदेखि बुद्धले नियमित उडान भरिरहेको छ । बुद्ध एयरलाइन्सले पोखरादेखि काठमाडौं, धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरासम्म उडान गर्दै आएको छ । आउँदो शनिबारदेखि पोखरा–जनकपुर पनि हवाइ सेवा पनि सुरु गर्ने तयारी छ ।

शनिबार गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित व्यवसायी र सरोकारवालाले बु्द्ध एयरमार्फत जनकपुर उडान गर्ने कार्यक्रम छ । पोखरा–जनकपुरको भाडादर चार हजार एक सयदेखि नौ हजार ३६० रुपैयाँसम्म रहने छ । बुद्ध एयरले भविष्यमा पोखरादेखि भद्रपुर र विराटनगरमा पनि उडान सञ्चालन गर्ने बुद्ध एयरको पोखरा स्टेसन म्यानेजर गौतम बरालले बताए ।