News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण स्वीकृत

१०७ मिलियन डलरको निर्ब्याजी ऋण लिने सहित ७ महत्वपूर्ण निर्णय

काठमाडौं, ४ मंसिर । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको आगामी सोमबारदेखि हुने भारतको राजकीय भ्रमणलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण अनुमोदन गर्नुका साथै अन्तर्राष्ट्रिय वित्तीय सहायता स्वीकार गर्ने र विभिन्न नीतिगत कार्ययोजना पारित गर्ने लगायतका सातवटा महत्वपूर्ण निर्णय गरेको हो ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गरेका हुन् । सञ्चारमन्त्री तिमिल्सिनाका अनुसार बैठकले आगामी मंसिर ६ र ७ गते प्रधानमन्त्री शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्दै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलसमेत गठन गरेको छ ।

यसका साथै, बैठकले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २० लाख (२ मिलियन) अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मुलुकको आर्थिक तथा वित्तीय व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)बाट ‘र्‍यापिड क्रेडिट फ्यासिलिटी’ अन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख (१०७ मिलियन) अमेरिकी डलरबराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

मन्त्रिपरिषद् बैठकका अन्य प्रमुख निर्णयहरू यसप्रकार छन्ः

जग्गा नापजाँचको आदेश: देशभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाहरूको नापजाँच गरी स्पष्ट लगत तयार पार्नका लागि आवश्यक आदेश जारी गर्ने ।

जैविक विविधता कार्ययोजना: ‘राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (सन् २०२६-२०३०)’ स्वीकृत गर्ने ।

सम्पदा संरक्षण मापदण्ड: ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी नम्स २०८३ स्वीकृत गर्ने ।

झोलुंगे पुल नीति: ग्रामीण तथा दुर्गम क्षेत्रको यातायात सहजताका लागि ‘राष्ट्रिय झोलुंगे पुल नीति २०८३’ स्वीकृत गर्ने ।

डनन्यूज ट्रेन्डिङ