News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

रसुवा बाढी : ७८१ जनाको शव भेटियो

पोखरा, १४ भदौं । रसुवामा आएको विनाशकारी बाढीपछि अहिलेसम्म ७८१ जनाको शव फेला परेको छ भने करिब २ हजार ५०२ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। आइतबार साँझ ६ बजेसम्म विभिन्न जिल्लाबाट यति संख्यामा शव भेटिएको प्राधिकरणको विवरणमा उल्लेख छ।

प्राधिकरणका अनुसार चितवनमा २७२, नवलपरासी पूर्वमा १९९, नवलपरासी पश्चिममा १००, धादिङमा ५०, गोरखामा ५८, नुवाकोटमा ५२, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको हो। बेपत्ता हुनेमा रसुवाबाट ५६२, विदेशी नागरिक ५९२, विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली १२७, जलविद्युत आयोजनाबाट १३३, नुवाकोटबाट ११५ र मकवानपुरबाट ६५ जना छन्। त्यस्तै नेपाल प्रहरीबाट २५, सेनाबाट ४५, सशस्त्र प्रहरीबाट १३, भन्सार कार्यालयबाट १५, अध्यागमन कार्यालयबाट ४, लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ र क्वारेन्टाइन कार्यालयबाट ३ जना अझै बेपत्ता रहेको प्राधिकरणले जनाएको छ।

हालसम्म ९ हजार ४३५ जनाको उद्धार गरिएको प्राधिकरणको दाबी छ। यसमा जलविद्युतको सुरुङबाट भदौ १२ गते १९१ र भदौ १३ गते ८८ गरी कुल २७९ जनाको उद्धार भएको छ। सेनाको हेलिकप्टरमार्फत २४४ जना विदेशी र ३ हजार ६७ जना नेपाली गरी कुल ३ हजार ३११ जनाको हवाई उद्धार गरिएको छ। आइतबार मात्र हाइड्रोबाट १५ जना चिनियाँ नागरिकको उद्धार भएको थियो।

हवाई उद्धारका लागि हालसम्म ३९४ वटा उडान भएका छन्, जसमध्ये आज मात्र ७२ उडान भए। घटनामा हालसम्म २६७ जना घाइते भएका छन्, जसमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा ६ वटा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ। खोज तथा उद्धारका लागि कुल २० हजार ६१८ जना सुरक्षाकर्मी मैदानमा खटिएका छन्। जसमा सेना ८ हजार ५२१, नेपाल प्रहरी ७ हजार ८९४ र सशस्त्र प्रहरी ४ हजार २०३ जना छन्। पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएका छन्।

तर सरकारले सार्वजनिक गरेको यो उद्धार तथ्यांक घटनासँग सम्बन्धित अन्य विवरणसँग मेल नखाएको देखिएको छ। प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत शनिबार साढे ५ बजेसम्म ७ हजार ५१४ जनालाई हवाई र स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको बताएका थिए। आइतबार साँझसम्म यो संख्या ९ हजार ४३५ पुगेको प्राधिकरणको भनाइ छ। सामान्यतया उद्धार भन्नाले घटनास्थलबाट जीवितै सुरक्षित स्थानमा लगिएको अर्थ लाग्छ। तर बाढीले भग्नावशेषमा परिणत गरिदिएका जलविद्युत आयोजना, भन्सार नाका, सडक, पुल र बजारहरूबाट झन्डै साढे ९ हजार जनालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गर्न कसरी सम्भव भयो भन्ने प्रश्न उठेको छ।

सरकारले दिएका अन्य तथ्यांकले पनि यो आँकडालाई पुष्टि गर्दैनन्। अझै पनि जलविद्युत आयोजनाका सुरुङभित्र थुनिएका श्रमिक तथा कर्मचारीको उद्धार हुन सकेको छैन। २५ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन नै छन्। बाढीबाट विस्थापित करिब ३ हजार ५०० जनालाई विद्यालय तथा सार्वजनिक भवनमा अस्थायी बसोबास गराइएको प्रधानमन्त्रीले नै उल्लेख गरेका छन्। उद्धारपछि अस्पतालमा उपचाररत र डिस्चार्ज भइसकेकाहरूको संख्या जम्मा २६७ मात्र छ। यदि साढे ९ हजार जनालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएको हो भने घाइतेको संख्या वा अस्थायी आवासमा रहेकाहरूको संख्या त्यही अनुपातमा बढी हुनुपर्ने हो। तर यस्तो देखिएको छैन। त्यसो भए उद्धार गरेर ल्याइएका करिब ५ हजार जना कहाँ गए त?

उद्धारमा संलग्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रवक्तासँगको कुराकानीले यसको जवाफ दिन्छ। सुरक्षा निकायका अनुसार सरकारले दाबी गरेजस्तै सबैलाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएको होइन। बाढीले बगाएको घर वा जलविद्युत आयोजनामा फसेकाहरूको उद्धार संख्या अत्यन्त कम छ। उद्धार तथ्यांकमा सबैभन्दा बढी त्यस्ता व्यक्ति छन् जो बाढीका कारण घरबाहिर अलग ठाउँमा परेका थिए।

उनीहरू त्यहाँ सुरक्षित नै थिए तर घर र परिवारभन्दा टाढा थिए। उनीहरूलाई घर पु¥याइदिन सहयोग गरिएको हो। यसमा स्कुलका विद्यार्थीको संख्या धेरै छ। बाढीबाट भागेर डाँडामाथि वा जंगलमा बसिरहेकाहरूलाई पनि घर लगिदिन सहयोग गरिएको छ। गोसाइँकुण्ड गएका पदयात्री बाढीका कारण बीच बाटोमै अड्किएका थिए। उनीहरूलाई एक ठाउँबाट अर्को ठाउँ ओसारिएको छ। सुरक्षित स्थानमै भए पनि अलपत्र यस्ता समूहलाई स्थानान्तरण गरेको तथ्यांक जोड्दा नै करिब ९ हजार पुगेको हो।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार बाढीलगत्तै उद्धार सुरु गर्दा पहिलो चरणमा उच्च जोखिममा रहेका व्यक्तिलाई प्राथमिकता दिइएको थियो। बाढीको बहाव क्षेत्र र नदीकिनार नजिकै फसेका मानिस तथा जलविद्युत आयोजनामा रहेका कामदारलाई हवाई माध्यमबाटै उद्धार गरिएको उनले बताए। उच्च जोखिममा रहेकाहरूको उद्धार सकिएपछि सेनाले जोखिममुक्त तर अलपत्र अवस्थामा रहेकाहरूको स्थानान्तरण गरेको थियो।

बाढी–पहिरोबाट उद्धार गरिएका धेरै जना घाइते अवस्थामा थिए। उनीहरूका लागि त्रिशूली र धुन्चेमा सर्जनसहितको मेडिकल क्याम्प स्थापना गरिएको थियो। सबैभन्दा धेरै क्षति रसुवाको टिमुरेमा भएको छ। त्यहाँ भाग्ने क्रममा घाइते भएकाहरूको समेत उद्धार गरी क्याम्पमै उपचार गरिएको उनले जानकारी दिए।

बाढी आएपछि कतिपय मानिस सिधा अगाडि भागे भने कतिपय डाँडातिर उक्ले। सिधा भाग्नेहरूलाई बाढीले बगायो भने डाँडातिर भागेकाहरूको ज्यान जोगियो। त्यसरी सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेकाहरूलाई पनि पछि हवाई उद्धार गरिएको थियो। विदेशी नागरिक तथा अध्यागमन कार्यालय आसपास रहेका पर्यटकको पनि हवाई उद्धार गरिएको उनले बताए। उद्धार संख्या बढी देखिनुमा छुट्टिएका बालबालिकालाई परिवारसँग पुनर्मिलन गराउन हवाई मार्ग प्रयोग हुनु पनि मुख्य कारण हो।

त्रिशूली बजारमा पुल बगाउँदा वारि–पारिका बस्तीबीच सम्पर्क विच्छेद भएको थियो। स्कुल गएका केटाकेटी घर फर्कन पाएका थिएनन्। उनीहरूलाई एक ठाउँबाट अर्को ठाउँ ओसारिएको छ। भदौ १० गते बाढी आउनुअघि नै स्कुल गएका बालबालिकालाई प्रधानाध्यापकले माथिल्लो भेगमा लगेका थिए। भदौ ११ गते उनीहरूलाई परिवारसँग पुनर्मिलन गराउन हेलिकप्टर प्रयोग गरिएको थियो। गोसाइँकुण्ड पुगेर रोकिएका यात्रु टोलीलाई आइतबार मात्र उद्धार सम्भव भएको थियो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले हवाईभन्दा स्थलमार्गबाट धेरै उद्धार गरेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी अबिनारायण काफ्लेका अनुसार प्रहरीले गरेको उद्धार संख्या ३ हजार नाघिसकेको छ। बाढी पसेका घरहरूबाट निकालेर धेरैलाई सुरक्षित ठाउँमा पु¥याइएको उनले बताए। उद्धार गरेकामध्ये करिब १७ सय मानिस नुवाकोटका विभिन्न आश्रयस्थलमा रहेका छन्।

सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डिआइजी नेत्रबहादुर कार्कीका अनुसार धादिङतिर बिहान माइकिङ गर्दा पनि मानिस घरमै थिए। घरमा हिलो पसेपछि उनीहरूको उद्धार गरिएको थियो। चिलिमे क्षेत्रबाट अलपत्र परेका र बाढीले बगाउँदा-बगाउँदै बाँचेकाहरूको पनि उद्धार गरिएको छ। घाइते अवस्थामा भेटिएकाहरूलाई उपचारको व्यवस्था मिलाइएको उनले जानकारी दिए।