News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धान गर्न रवि लामिछानेलाई आज काठमाडौँ लगिदैं

पोखरा, ११ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आज मंगलबार विहान काठमाडौँ लगिदैं छ । सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ लैजान लागिएको हो ।

कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ लैजान लागिएको हो । आज बिहान ८ः४० मा बुद्ध एयर बाट लामिछानेलाई काठमाडौँ ल्याउने तयारी छ ।

जिल्ला प्रहरी कास्कीका अनुसार स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा अनुसन्धानका लागि काठमाडौँ ल्याउन लागिएको हो । उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि गत २ कात्तिकमा लामिछानेलाई काठमाडौंबाट पक्राउ गरिएको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।

स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड १८ लाख ५८ हजार हिनामिना गरेको भन्दै ६ सय ४५ सदस्यले ठगीमा जाहेरी दिएका थिए । सहकारीका तत्कालीन सञ्चालक, कर्मचारी, गोर्खा मिडियाका पदाधिकारीलगायतको मिलेमतोमा बचत अपचलन भएको अनुसन्धानका क्रममा भेटिएको छ । स्वर्णलक्ष्मीबाट गोर्खा मिडियासहित एक दर्जन कम्पनीमा गैरकानुनी रूपमा रकम प्रवाह भएको पनि खुलेको छ ।

यही प्रकरणमा गत कात्तिकमा काठमाडौं जिल्ला अदालतले गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित २४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ, जसमध्ये राईसहित केही आरोपित फरार छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धान अघि बढेपछि राईसहितका आरोपित फरार भएका हुन् । सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारी ठगीमा पनि राई संलग्न रहेको संसदीय छानबिन समिति तथा प्रहरी अनुसन्धानबाट खुलिसकेको छ ।

सहकारीको बचत गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको भन्दै संसदीय छानबिन विशेष समितिले पनि नेटवर्कका तत्कालीन अध्यक्ष राई, तत्कालीन उपाध्यक्ष तथा पूर्वडीआईजी जोशी, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसपछि प्रहरीले सहकारी ठगीमा अनुसन्धान अघि बढाएको हो । त्यही क्रममा स्वर्णलक्ष्मीको बचत ठगी प्रकरणमाथि पनि अनुसन्धान भएको थियो ।

काठमाडौं महानगरपालिका–१४, कालिमाटीमा मुख्य कार्यालय रही न्युरोड, महाराजगन्ज, स्वयम्भू र जोरपाटीमा शाखा खोली ६ हजार ६ सय ६९ जनाबाट स्वर्णलक्ष्मी सहकारीले २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ बचत संकलन गरेको थियो । सदस्यहरूको उजुरीपछि अनुसन्धान गर्दा हिनामिनामा जीबी राईसहित स्वर्णलक्ष्मीका पदाधिकारी संलग्न देखिएका थिए । स्वर्णलक्ष्मीबाट ११ कम्पनीमा सहकारीको बचत लगेको देखिएको छ ।

डनन्यूज ट्रेन्डिङ