News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

विपन्न ३० घरपरिवारलाई विप्लव नेतृत्वको नेकपा तनहुँको सहयोग

तनहुँ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले भिमाद नगरपालिका वडा नं. २ मा सामाजिक दुरी कायम गर्दै आर्थिक रुपमा विपन्न तथा एकल महिलासहित उक्त टोलका ३० घरपरिवारलाई विभिन्न खाद्यसामाग्री वितरण गरेको छ ।

कार्यक्रममा बोल्दै नेकपा जिल्ला सेक्रेटरी आन्नदले कोभिड-१९ को त्रास अझैपनी कायमै रहेकोले सबैले स्वास्थ्यलाई ख्याल गर्दै आफ्नो दैनिकीलाई सुरक्षित बनाउन आग्रह गरे । कोरोना भाईरसलाई समुदायमा थप फैलिन नदिन सचेत हुन अनुरोध गर्दै राज्य तथा स्थानीय सरकारलाई समस्यामा रहेको टोल समुदाय र परिवारलाइ निशुल्क पिसिआर जाँच गर्ने र संक्रमितलाई अस्पतालको आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन समेत जोडदार माग माग गरेका थिए ।

यसैगरी कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य एवम् तनहुँ जिल्ला अध्यक्ष ममता रुचालले कोरोना महामारीको समयमा सरकार कुर्चीको भागबण्डा र आपसी झगडामा नै रुमल्लिएकोले जनता र देशको भविष्य झन् जटिल हुँदै गएको धारणा व्यक्त गरिन् । अध्यक्ष रुचालले अनलाईन कक्षा सञ्चालनका नाममा सबै विद्यार्थी समेटिन नसकेको र लाखौं निमुखा विद्यार्थीहरु पढाईबाट बञ्चित हुनुपर्ने स्थिति असक्षम सरकारका कारण निम्तिएको आरोप लगाईन् ।

भिमाद नगरपालिकाका सेक्रेटरी हिमाल खड्काको अध्यक्षतामा भएको सो खाद्यसामग्री वितरण कार्यक्रममा प्रमुख अतिथि जिल्ला सेक्रेटरी आन्नद, अखिल (क्रान्तिकारी)तनहुँ जिल्लाका अध्यक्ष तथा केन्द्रिय सदस्य ममता रुचालले संयुक्त रुपमा राहत स्वरुप प्रति घर परिवारलाई चामल, दाल, तेल र नुन इत्यादी खाद्यान्न वितरण गरेका थिए ।