News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

सुन तस्करीमा तानिए माओवादीका ४ पूर्वमन्त्रीका सचिवालय सदस्य गुल्मीका भीमकान्त भण्डारी

प्रहरी स्रोतका अनुसार दावासहित पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश, पूर्वसभामुख महराका छोरा राहुलसहितको सञ्जालसँग भण्डारीको कनेक्सन देखिएको छ । भण्डारीले राहुल र दीपेशसँग आफू मन्त्रालयमा कार्यरत रहँदा चिनेको दाबी गरे ।

काठमाडौँ — भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका बिध ल्याबका सञ्चालक भीमकान्त भण्डारी सुन तस्करी प्रकरणमा पनि जोडिएका छन् । सत्तारूढ माओवादीसँग नजिक रहेका भण्डारी चिनियाँ सुन तस्करसँग ‘अस्वाभाविक सम्पर्क’ मा भेटिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।

सुन तस्करीका नाइके तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग भण्डारीले मोबाइल सम्पर्क र सन्देश आदानप्रदान गरेको तथ्य सीआईबीले फेला पारेको हो ।

अनुसन्धान स्रोतका अनुसार दावासँग भण्डारीले पटक–पटक ‘दाइ’ सम्बोधन गरेर फोन सम्पर्क र सन्देश आदानप्रदान गर्ने गरेको देखिन्छ । दावा हाल सीआईबीको नियन्त्रणमा छन् । हङकङबाट असार २९ मा गाडी र स्कुटरका ब्रेक सुमा लुकाएर ल्याएको ६१ केजी सुन प्रकरणमा दावा पक्राउ परेका थिए । त्यस्तै, गत पुस १० मा दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाएर ९ केजी सुन ल्याउने तस्करका अर्का नाइके दावाजिन वाङ भने फरार छन् ।

वाङसहित सुन तस्करीको नेटवर्कमा देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पनि सीआईबीकै नियन्त्रणमा छन् । दावा जोडिएको तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत अनुसन्धानको दायरामा छन् । त्यसकै अनुसन्धान गर्ने क्रममा बिधका सञ्चालक भण्डारी जोडिएका हुन् ।

‘गलतधन्दा गर्नेहरुलाई नै बढि चाहिन्छ शक्तिशालीहरुसँगको निकटता’: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माओवादी नेता वर्षमान पुनसँग गुल्मीका तस्कर अनि भ्रष्ट भीमकान्त भण्डारी । यस्ता पात्रहरुले नै बढि चाहिन्छ शक्तिशाली नेताहरुसँगको निकटता र सम्बन्ध । यसैंको आडमा गलत धन्दाहरु भईरहेका छन् ।

‘सुन तस्करसँग भण्डारीको सम्पर्क र सन्देश आदानप्रदान पटक–पटक भएको देखिन्छ, हाल सीआईबीको नियन्त्रणमा रहेका दावासँग त दाजु–भाइ साइनो लगाएर संवाद भएको अनुसन्धानका क्रममा भेटिएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘एकातिर सुन तस्करसँग अस्वाभाविक सम्पर्क/संवाद, अर्कातिर यही प्रकरणमा अनुसन्धानका क्रममा रहेका राहुल र दीपेशलगायत व्यक्तिसँग उस्तै निकटता देखिन्छ । त्यही भएर उनलाई अनुसन्धानको दायरामा राखेर हेरिरहेका छौं ।’

भण्डारीले दावा र उनकी पत्नी भनिएकी अमला रोकासँग आफ्नो चिनजान र सम्पर्क रहेको पुष्टि गरे । ‘कोभिड महामारीका बेला ल्याब सञ्चालन गरिएको हो, त्यही बेला दावासँग कुराकानी भएको हो । भ्याक्सिन खरिद गर्ने सन्दर्भमा दावाले ‘सिनोभ्याक’ का सञ्चालकसँग सम्पर्क गराइदिएका हुन्,’ भण्डारीले कान्तिपुरसँग भने, ‘नागढुंगा–नौबिसे सडकको ठेक्काका क्रममा पनि हाम्रो सम्पर्क भएको हो । ठेक्का प्रतिस्पर्धामा चिनियाँ कम्पनी पनि सामेल थियो, कम्पनीका प्रतिनिधिसँग पनि दावाले नै भेट गराइदिएका हुन् । यी सबै भेटघाट मेरो व्यापारिक प्रयोजनका लागि मात्रै हुन् ।’ दावासँग पछिल्लो पटक १८ महिनाअघि मात्रै सम्पर्क भएको भण्डारीको जिकिर छ ।

प्रहरी स्रोतका अनुसार दावासहित पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश, पूर्वसभामुख महराका छोरा राहुलसहितको सञ्जालसँग भण्डारीको कनेक्सन देखिएको छ । भण्डारीले राहुल र दीपेशसँग आफू मन्त्रालयमा कार्यरत रहँदा चिनेको दाबी गरे ।

२०७३ असोज २१ मा नासुबाट सार्वजनिक सेवा प्रवेश गरेका भण्डारी ४ वर्षपछि २०७७ साउन १ मा राजीनामा दिएर सेवाबाट बाहिरिएका थिए । सेवा प्रवेशको केही वर्षमै अस्वाभाविक सम्पत्ति जोडेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध २०७९ असार ३ मा ६ करोड ५० लाख ६५ हजार ६ सय ४२ रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा विशेषमा अझै विचाराधीन छ । पछिल्लो पटक सुन तस्करी प्रकरणमा जोडिएपछि स्रोत नखुलेको सम्पत्ति तस्करीबाट भित्रिएको सुनसँग त जोडिएको छैन भन्ने आशंका उब्जाएको अनुसन्धान स्रोतको भनाइ छ ।

सरकारी सेवामा रहँदा भण्डारी माओवादीबाट मन्त्री बनेका चार जनाको सचिवालयमा बसेका थिए । पूर्वअर्थमन्त्रीसमेत रहेका महरा, पूर्वऊर्जामन्त्री वर्षमान पुन, पूर्वसंघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र पूर्वसमाज कल्याणमन्त्री आशा कोइरालाको स्वकीय सचिवालयमा बसेर काम गरेका भण्डारीले राजीनामा दिएर कोभिड महामारीका बेला बिध ल्याब सञ्चालन गरेका थिए । ल्याबलाई सरकारले अस्वाभाविक रूपमा कोभिड परीक्षण गर्न अनुमति दिनुका साथै स्वास्थ्य सामग्री खरिदमा पनि सामेल गराएको आरोप लागेको थियो ।

यस्तै, चिनियाँ गिरोहसँग मिलेर सुन तस्करी गरेको कसुरमा बाराका सुनचाँदी व्यवसायी शिव सर्राफ पक्राउ परेका छन्, अर्का व्यापारी भोला सर्राफ फरार छन् । बारा कलैयाका दुवैको चिनियाँ सुन तस्कर दावा छिरिङ र दावाजिन वाङसँग सम्पर्क देखिएको हो । दुवै व्यापारीसँग हालै नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका रूपन्देहीका सुमन खरेलको पनि सम्पर्क खुलेको छ । ‘तस्करीबाट भित्रिएको सुन व्यवस्थापन गर्नेदेखि भारतसम्म पुर्‍याउने भूमिकामा भोला र शिव सर्राफको भूमिका हुन सक्छ,’ प्रहरी स्रोतले भन्यो ।

६१ केजी सुन तस्करीमा २८ पक्राउ परिसकेका छन् । त्यसमध्ये राहुल महरा भने भेप प्रकरणमा समातिएका हुन् । भेप प्रकरणको अनुसन्धान गर्न अझै डेढ महिना समय बाँकी रहेको आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।