News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज डन न्यूज खोज प्रमुख समाचार

‘नुभिवको हत्यामा संलग्नलाई बचाउन फेरि आत्महत्याको कुप्रचार’

‘दुईपटकसम्म प्रहरी नै झुक्किएको फुटेज पुनः तेस्रोपटक मिडियामा प्रयोग’

“नुभिवको हत्यालाई आत्महत्यामा परिणत गर्न र घटनामा संलग्न ३ युवासहित अन्य पात्रहरुलाई जोगाउन निकै ठुलो शक्तिको चलखेल भईरहेको प्रहरी स्रोतकै दावी छ ।”

पोखरा । नुभिवको हत्यामा संलग्नलाई बचाउन फेरि आत्महत्याको कुप्रचार गरिएको छ । तेस्रोपटक सञ्चारमाध्यमको प्रयोग गर्दै नुभिव उप्रेतीको हत्यालाई आत्महत्यामा परिणत गर्न खोजिएको हो । एक दुई सञ्चारमाध्यममा भनिए झैं न त उनीहरुसँग फेवातालमा हामफालेको सिसिटिभी फुटेज छ, न त प्रहरीले नै त्यो फुटेज अदालतमा पेश गरेको छ ।

अहिले आएर अदालतमा चलिरहेको मुद्दामा फेरि त्यहीँ पुरानो सिसिटिभी फुटेज जसका कारणले प्रहरी २ पटकसम्म झुक्कियो, त्यसैलाई देखाउँदै केही मिडियाहरुले फेवातालमा हामफालेर नुभिवले आत्महत्या गरेको दावी गरिरहेका छन् । न त ती दावी गर्नेहरुले सिसिटिभी फुटेजको दृश्य सार्वजनिक गर्न सकेका छन्, न त त्यो सिसिटिभी फुटेजको समय खुलाएका छन्, न त पोष्टमार्टम रिपोर्ट र भिसेरा रिपोर्टको विषयमा केही बोलेका छन् ।

वैशाख ४ गते बिहान हत्या गरिएका नुभिवको घटनालाई वडा प्रहरी कार्यालय बैदामले पनि शुरुमा आत्महत्या नै हो भन्दै जाहेरी लिन मानेको थिएन । त्यो सिसिटिभी फुटेज वैशाख ४ गते बिहान ३ः१५ बजेको हो, जहाँ नुभिव फेवातालमा हिडेको मात्र देखिन्छ । यसैको भरमा यो भ्रम सृजना भएको थियो । तर प्रहरी अनुसन्धानका क्रममा सोही बिहान ३ः२६ बजे नुभिवलाई मरणासन्न हुने गरी अर्को ठाउँमा कुटपिट गरिएको सिसिटिभी फुटेज भेट्टिए पछि घटनाले नयाँ मोड लिएको थियो ।

“सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७२ का अनुसार पनि सिसिटिभी फुटेजका दृश्यहरु कम्तिमा ३ महिनासम्म सुरक्षित राख्नुपर्दछ । तर ट्रेजर लाउञ्जले आफ्ना कर्तुत सार्वजनिक हुने डरले सिसिटिभी फुटेज नै मेटाएको छ ।”

कास्की प्रहरीले दोस्रो फुटेज भेट्टाए पछि यो आत्महत्या नभई हत्या हो भन्ने निष्कर्षमा पुगेको थियो । सोही आधारमा परिवारबाट किटानी जाहेरी दर्ता गरिएको थियो । प्रहरीले सिसिटिभी फुटेजका आधारमा हत्यामा संलग्न भनिएका तीनजना युवाहरु पक्राउ पनि गर्यो । जसमध्ये १ जना बालसुधार गृह र अर्का २ जना यतिबेला कास्की कारागार चलान भईसकेको अवस्था छ ।

नुभिवको हत्या नै भएको हो भन्ने सबैभन्दा बलियो प्रमाण भनेको शवको पोष्टमार्टम् रिपोर्ट नैं हो । त्यस रिपोर्टका अनुसार नुभिवको मृत्युको कारणमा ‘हेड इन्जुरी’ भएको स्पष्ट छ । कुटाई खाएको करिब साढे दुई घण्टामैं फेवातालमा बाराही मन्दिर अगाडि र बाराही घाटको बीचमा नुभिवको शव पानीमाथि तैरिई रहेको अवस्थामा फेला परेको थियो । अपराध अनुसन्धानको सबैभन्दा बलियो आधार पोष्टमार्टम् रिपोर्टका अनुसार पनि नुभिवको मृत्यु पानीमा डुबेर नभई टाउकोमा लागेको चोटका कारण भएको स्पष्ट छ ।

‘एक दुई सञ्चारमाध्यममा भनिए झैं न त उनीहरुसँग फेवातालमा हामफालेको सिसिटिभी फुटेज छ, न त प्रहरीले नै त्यो फुटेज अदालतमा पेश गरेको छ ।’

नुभिव माथि लागेको अल्कोहल र लागूऔषध प्रयोगको आरोप पनि भिसेरा रिपोर्टको तथ्यले ठाडै खण्डन गरेको छ । भिसेरा रिपोर्ट अनुसार, नुभिवको मृत्युको समयमा शरिरमा न त अल्कोहलको प्रयोग भेटिन्छ, न त लागूऔषधको नै ।

पहिला २ पटक त्यहीँ फुटेजका कारण झुक्किएको प्रहरीले अनुसन्धानका क्रममा हत्या नैं भएको हो भन्ने ठहर गर्दै परिवारले दिएको किटानी जाहेरी दर्ता गरेको हो । ‘अदालतमा अनुसन्धान भईरहेको बिषयलाई प्रभावित पार्ने गरी गलत समाचार सम्प्रेषण गर्नु कानुन संगत पनि होईन,’ एक कानुन व्यवसायीले भने–‘प्रहरीले अझै पनि अदालतको आदेश बमोजिम र अनुसन्धान कार्य जारी राखेको देखिन्छ ।’

उही नुभिव कुटिनु अघिको फेवाताल तिर हिडेको पुरानो फुटेजलाई देखाउँदै ती सञ्चार माध्यमहरुमा हत्यालाई ‘आत्महत्या’ हो भन्ने कुप्रचार गरिएको मात्र हो । नुभिवको हत्यामा संलग्नहरुलाई जोगाउन ‘आत्महत्या’ हो भन्दै गरिएको कुप्रचारलाई चिर्ने र हत्या हो भन्ने बलियो आधार र प्रमाणहरु कास्की प्रहरीसँग सुरक्षित मात्र होइन, आदलतमै पेश भईसकेको प्रहरी स्रोतले बतायो ।

“नुभिवको पोष्टमार्टम् रिपोर्टका अनुसार उनको मृत्यु टाउकोमा लागेको चोटका कारण भएको देखिन्छ । तालमा शव भेटिए पनि उनको पेटमा तालको पानी भने देखिदैंन । नुभिवको हत्या हुने समयमा कुनै पनि लागूऔषध, अल्कोहल प्रयोग नगरिएको उनको भिसेरा रिपोर्टले देखाएको छ ।”

हत्यामा संलग्न ३ जना युवाहरु पक्राउ परेसँगैं अझै घटनाको अनुसन्धान फितलो भईरहेको आरोप खेपिरहेको कास्की प्रहरीले आजसम्म पनि झगडाको शुरुवात भएको ठाउँ ट्रेजर लाउञ्च भित्रको सिसिटिभी फुटेज भेट्टाउन सकिरहेको छैन । नुभिवको हत्यालाई आत्महत्यामा परिणत गर्न र घटनामा संलग्न ३ युवासहित अन्य पात्रहरुलाई जोगाउन निकै ठुलो शक्तिको चलखेल भईरहेको प्रहरी स्रोतकै दावी छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले डन न्यूजसँगको कुराकानीमा भने-‘हामी अन्यत्र खोज्न तिर लाग्यौं । तर पछाडि हामीले पत्रद्वारा ट्रेजर लाउञ्ज बार लेकसाईडको सिसिटिभी फुटेज पनि माग्यौं । ट्रेजर लाउञ्चको ३ दिनभन्दा अगाडिको फुटेज रहँदो रहेनछ । रिकभर गर्दा पनि ब्याकअपबाट हटिसकेको अवस्था रहेछ । हामी ९/१० दिनपछि मात्र त्यहाँ पुग्यौं ।’

ट्रेजर लाउञ्ज बार भित्रको सिसिटिभी फुटेज सुरक्षित राखिदिन प्रहरीलाई मृतकको परिवारले पहिलो दिन देखि नै भन्दै आईरहेका थिए । सिसिटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७२ का अनुसार पनि सिसिटिभी फुटेजका दृश्यहरु कम्तिमा ३ महिनासम्म सुरक्षित राख्नुपर्दछ । सिसिटिभी फुटेजहरु अनुसन्धानको सिलसिलामा नेपाल प्रहरी वा सरकारी निकायले अनुसन्धान कार्यका लागि माग गरेको खण्डमा उपलब्ध गराउनु पर्नेछ भनिएको छ । तर ट्रेजर लाउञ्जले आफ्ना कर्तुत सार्वजनिक हुने डरले सिसिटिभी फुटेज नै मेटाएको छ ।

‘पोखरा घुम्न आएको एउटा १८ वर्षको युवाको मृत्युलाई कसले मार्यो, कसले कुटपिट ग¥यो र किन ग¥यो भन्ने प्रश्न गर्ने कि उसको मृत्युको बारेमा उसलाई नै दोष दिने,’ नुभिवका साथीले डन न्यूजसँग भने–‘पोखरामा आएका पाहुनाको सुरक्षा गर्न प्रहरी असमर्थ छ । लेकसाईडमा प्रहरी कैं सामु गुहार माग्दा माग्दै नुभिव पटक–पटक कुटिएर मारिएका छन् । अझ हुने नहुने आरोप लगाएर परिवारलाई थप पिडा दिन मिल्छ ?’

हत्यामा संलग्न मध्ये दुईजना युवाहरुले अल्कोहल प्रयोग गरेको तर नाबालक भनिएका पात्रले केही नखाएको बयान दिएका छन् । तर ती दुई युवाहरुले दिएको बयानका आधारमा मात्र नभई ट्रेजर लाउञ्ज भित्रको सिसिटिभी फुटेज नभेट्टिएसम्म त्यहाँ भित्र प्रयोग भएको अल्कोहल थियो कि अन्य लागूऔषध यसै भन्न मिल्ने अवस्था भने देखिदैंन ।

किनभने ३ जनाले कुटपिट गरिरहेको सिसिटिभी फुटेज हेर्दा सबैभन्दा बढि उत्तेजित १८ वर्ष भन्दा कम उमेर भनिएका ती पात्र देखिन्छन् । जसले कुटाई सहन नसकेर ढलेका नुभिवलाई हिर्काई रहेका छन् । ३ जनाको कुटाईबाट चोट सहन नसकेर ढलेकैं अवस्थामा पनि नुभिवमाथि सबै एकदमैं क्रुर रुपमा जाई लागिरहेका छन् ।

‘कुनै पनि साथीभाइहरुको दुःख र समस्या देख्दा एकदमैं सहयोग गर्न जान्थ्यो । आफ्नो परिवारलाई एकदमैं माया गथ्र्यो । नुभिवको परिवार सकारात्मक सोंच भएको, एक अर्कालाई असाध्यै बुझ्ने र प्रोत्साहन गर्ने खालको थियो ।’

त्यसो त जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी सुवास हमालको भनाईलाई यहाँ राख्ने हो भने पनि नुभिवको वुलेट वाईक प्रहरीले लिएर गए पछि उनी सामुदायिक प्रहरी सेवा केन्द्र भएको हल्लनचोकसम्म पछि पछि गएका छन् । यस्ता धेरै दृश्यहरु भेटिन सक्छन् यदि फेवातालको छेऊबाट लेकसाईडको मूलसडकसम्म आउने गल्लीहरुका सबै सिसिटिभी फुटेजहरु हेर्ने हो भने ।

होटल नचिनेर सोधखोज गरिरहेका नुभिवले केटाहरुको पिटाई खाए पछि प्रहरीसँग बारम्बार सहयोग मागिरहेका थिए । ट्रेजर लाउञ्ज अगाडि रहेका वडा प्रहरी कार्यालय बैदामका प्रहरीसँग उनले गुहार मागिरहेको दृश्य सिसिटिभी फुजेजमा पनि प्रष्ट देखिन्छ । के यसरी निर्घात कुटिएको युवालाई जोगाउनु प्रहरीको दायित्व हो कि होइन ? यहाँ पनि कास्की प्रहरी चुकेको छ ।  त्यतिबेला प्रहरीले सहयोग दिएको भए सायद नुभिव बाँच्ने थिए होलान् ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी केपी ढकालसँग पटकपटक भेटेका नुभिवले ‘मलाई केटाहरुले पिटे, मैले होटल पनि देखिन अंकल’ भनेर सहयोग मागेका परिवारश्रोतले बतायो । ‘प्रहरी ढकालले नुभिवले नम्र भएर मसँग सहयोग मागेका थिए । झर्केर बोल्ने र गुन्डागर्दी शैली देखाउने स्वभाव नदेखेपछि मैले उसलाई थुन्न पनि मिलेन । बरु थुनेको भए बाँच्थ्यो होला ।’, भनेर वैशाख ४ गते पोखरा आएका नुभिवका परिवारसँग भनेका थिए ।

वैशाख ४ गते नुभिव धेरै पटक कुटिएका छन् । ट्रेजर लाउञ्चदेखि शुरु भएको विवाद, के कारणले सुरु भएको पनि अझै अपराधीले अझै प्रस्ट पारेका छैनन् । ट्रेजर अगाडि हातमा मोवाईल देखिएको भए पनि पछि मोवाईल गायव छ । त्यहीँ मोबाईलबाट लास भेटिएको ४ मिनट पछी नुभिवको साथीलाई पनि फोन गरिएको छ । मोबाईलको सम्पूर्ण इन्फर्मेसन डिलिट गरेर फाल्ने र घटनाको दिन फोन गर्नेहरु नै हत्यामा संलग्न छन् भन्ने बलियो आधार प्रहरीसँग छँदैछ ।

वाट्स अपको प्रयोग र नभिवको मोवाइल
नुभिवले आफ्नो मोवाइल बाहेक आफैले प्रयोग गर्ने अन्य ल्यापटप र डेस्कटपमा पनि वाट्स एपको प्रयोग गर्दा सिधै गर्न नमिल्ने र मोवाइल नम्बरमा कोड आएपछि मात्र मिल्ने बनाएका थिए । एथीकल ह्यकिङमा पोख्त नुभिवले घरमा भएको कम्प्युटर र ल्यापटपमा हाई सेक्युरिटी अपनाएका थिए । त्यसैले नुभिवको ल्यापटप वा अन्य कम्प्युटरबाट वाट्स एप चलाउन मोवाइलमा आएको कोड नै चाहिन्थ्यो । नुभिवले प्रयोग गर्ने ल्यापटप लगायतका डिभाइसको अनुसन्धान प्रहरीको साईबर ब्यूरोले गरिरहेको छ ।

‘ट्रेजर लाउञ्चदेखि शुरु भएको विवाद, के कारणले सुरु भएको पनि अझै अपराधीले अझै प्रस्ट पारेका छैनन् । ट्रेजर अगाडि हातमा मोवाईल देखिएको भए पनि पछि मोवाईल गायव छ । त्यहीँ मोबाईलबाट लास भेटिएको ४ मिनट पछी नुभिवको साथीलाई पनि फोन गरिएको छ ।’

नुभिवले पठाएको म्यासेज
नुभिवले आमालाई पठाईएको भनिएको म्यासेज जुन मिडियाहरुमा आएका छन्, बङ्ग्याएर र थपघट गरेर आईरहेको छ । नुभिवको मोवाईलबाट पहिलोपटक आमालाई २ः२६ बजे बिहान/राती म्यासेज आएको थियो । जसमा ‘आइ एम सरी मामु । म बोल्न सक्दिन । म पोखरामा छु ।’ भन्दै बैंकको डिटेल र पासवर्डहरु लेखिएको थियो । नुभिवले यो म्यासेज लगत्तै इन्स्ट्राग्राममा पनि म्यासेज लेखेका छन् । लगत्तै आफ्ना दुईजना साथी सुशान्त र विप्लवलाई इन्स्ट्राग्रामबाट फोन गरेको देखिन्छ । सहिष्णु भन्ने साथीलाई ह्वाटस्एपबाट फोन गरेका थिए । नुभिवले साथिहरुलाई सहयोगको लागि फोन गरेका थिए । तर २ः२६ बजे गरिएको फोन निन्द्रामा भएका कारण पनि साथीहरुले उठाउन सकेनन् ।

नुभिवले आफ्नो इन्स्ट्राग्राममा यस्तो लेखेका थिए–‘Help me out to get my bike please I got a royal enfield out here in Pokhara.’ नुभिवले भाडामा लिएको वाइक नभेटे पछि यो म्यासेज लेखेका थिए । नुभिवले आमा, साथीभाइ हुँदै प्रहरीसँग गुहार मागिरहेको देखिन्छ । आत्महत्या गर्ने मानिसले यसरी सहयोग माग्दै हिड्छ ? त्यसको लगतै आहिले थुनिएका ती तीनजना युवाहरुले मिलेर झम्टिदैं नुभिवलाई सडकको कुनामा तानेर शरिरका संवेदनशिल अङ्गहरुमा कुटपिट गरेका थिए ।

पोष्टमार्टम् र भिसेरा रिपोर्टको तथ्य
नुभिवको पोष्टमार्टम् रिपोर्टका अनुसार उनको मृत्यु टाउकोमा लागेको चोटका कारण भएको देखिन्छ । तालमा शव भेटिए पनि उनको पेटमा तालको पानी भने देखिदैंन । हत्या गरिसकेपछि फेवातालमा लगेर नुभिवको शव फालिएको प्रष्ट बुझ्न सकिन्छ । । त्यसैगरी नुभिवको हत्या हुने समयमा कुनै पनि लागूऔषध, अल्कोहल प्रयोग नगरिएको उनको भिसेरा रिपोर्टले देखाएको छ ।

असुरक्षित पोखराका क्लबहरुः
पोखरामा रहेका क्लबहरु मध्ये सबैभन्दा बढि पाहुना कुटिने र असुरक्षित क्लब नैं ट्रेजर लाउञ्ज बार हो । राजनीतिक दल र प्रहरी प्रशासनको आडमा मनपरी गर्दै आएको ट्रेजर लाउञ्ज बारका सञ्चालकहरु जस्तोसुकै अपराध गरे पनि बच्दै आईरहेका छन् । अन्य क्लबहरुमा छिसिक्क केही भए पनि निकै कडाई गर्ने प्रहरी प्रशासन ट्रेजर लाउञ्जमा उल्टै गार्ड झै बसिरहेका भेटिन्छन् ।

आन्तरिक तथा वाह्य पर्यटकहरु यतिबेला पोखरामा असुरक्षित मात्र होइन मृत्यु हुँदा समेत गुहार नपाउने अवस्थामा पुगेका छन् । कति पाहुनाहरु क्लबमा राखिएका बाउन्सर र नाईट क्लबका सञ्चालकहरुको कुटाईबाट घाईते भए, त्यसको लेखाजोखा नै छैन । प्रहरीले उल्टै पाहुना र पर्यटकहरुलाई लगेर थुन्ने र क्लब सञ्चालकहरुसँग मिलेर काम गर्ने हुँदा पर्यटकहरु असुरक्षित भएका हुन् ।

पोखराको पर्यटकीय स्थल लेकसाईडमा रहेको वडा प्रहरी कार्यालय बैदामले समेत यस्ता क्लबहरुबाट राम्रै सेवा सुविधा लिने हुँदा पर्यटकहरुको सुरक्षा भन्दा पनि यस्ता बार, रेष्टुरेण्ट र होटलका मालिकहरुको स्वार्थमा प्रहरी परिचालित भएको देखिन्छ । अरु सर्वसाधारण जनतालाई मादक पदार्थ सेवन गरे नगरेको कडाईका साथ चेकिङ गर्ने कास्की प्रहरी यस्ता रात्रिकालिन बारहरुलाई अबेलासम्म चल्न दिने र वेहोश अवस्थामा सवारी साधन हाँकेर हुईकिने युवाहरुलाई चेकिङ समेत नगर्नु सामान्य घटनाहरु नै हुन् । जसले गर्दा पोखरामा रमाईलो गर्न र घुम्न आउने पर्यटकहरुले अनाहकमा ज्यान गुमाउन पुगेका छन् ।

शिक्षक र साथीहरुको नजरमा नुभिवः

‘स्कुलमा हुँदा कहिल्यै पनि शिक्षक र साथीहरुसँग झैंझगडा गरेको हामीले थाहा पाएनौं’ : शिक्षक
अर्जुन सुनाम (कोअर्डिनेटर तथा शिक्षक) सेन्ट जेभिएर्ष स्कुल्, जावालाखेल
‘नुभिवलाई कक्षा ११ र १२ सम्म पढ्दा हामीले दुई वर्ष निकै नजिकबाट चिनेका थियौं । कारण उनी विद्यालयका अनुशासित विद्यार्थीहरु मध्ये एक थिए । स्कुलमा हुँदा कहिल्यै पनि शिक्षक र साथीहरुसँग झैंझगडा गरेको हामीले थाहा पाएनौं । गीत संगीतमा असाध्यै रुची राख्ने उनी विद्यालयका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन्थे । साथीभाइहरुसँग छिट्टै घुलमिल हुने स्वभाव थियो नुभिवको । हामीले यो दुःखद घटनालाई आजसम्म पनि विश्वास गर्न सकिरहेका छैनौं । कि त्यस्तो सरल र असल स्वभावको विद्यार्थी यस्तो दुर्घटनामा परी कसरी हत्या भयो भनेर । एकदमैं शान्त र स्वतन्त्र रुपमा रमाउने परिवारमा हुर्केका उनीलाई हामीले कहिल्यै तनाव र चिन्तामा देखेनौं ।’

‘हामी विद्यार्थी सँगै जाने आउने गथ्यौं’: बिजया (साथी)
‘हामी कक्षा ५ देखि नै सँगै स्कुल पढ्थ्यौं । विहानदेखि बेलुकासम्म पढ्दा हामी नुभिवसँगै हुन्थ्यौं । कहिल्यै नुभिव झर्किएको, रिसाएको र तनावमा भएको हामीले देखेनौं । सधैं हाँसो, ठट्टा र मजाक गर्ने नुभिव, मिलनसार स्वभावको थियो । कुनै पनि साथीभाइहरुको दुःख र समस्या देख्दा एकदमैं सहयोग गर्न जान्थ्यो । आफ्नो परिवारलाई एकदमैं माया गथ्र्यो । नुभिवको परिवार सकारात्मक सोंच भएको, एक अर्कालाई असाध्यै बुझ्ने र प्रोत्साहन गर्ने खालको थियो ।’

‘हामीले त वैशाख ३ गते विहान घुम्ने योजना बनाउँदै थियौं’ : विप्लव अधिकारी (साथी)
‘म विगत ६ वर्षदेखि नुभिवसँगै नजिक छु । ऊ साथीभाइहरुसँग झगडा गर्ने, रिसाउने खालको थिएन । नुभिव को बारेमा नराम्रो भन्ने एउटा मन्छे पनि भेटिदैन ! नुभिवसँग वैशाख ३ गते विहान हामी कलेज बाहिर भेट भएका थियौं । त्यस दिन नुभिवसँगै बसेर घुम्न जाने योजनाहरु बनाउँदै थियौं । कुनै तनाव वा समस्यामा नभिव देखिदैनथे । अझ पोखरा जाने कुरा पनि नुभिवले केही भनेन त्यतिबेला । हामी हरेक वर्ष नयाँ–नयाँ ठाउँमा घुम्न जान मन पराउँथ्यौं । हामीले कल्पनै नगरेको घटनाको सामना गर्नुपर्यो । एउटा असल साथी गुमाएको छौं । मैले त नुभिव पोखरामा छ भन्ने कुरा उसको इन्स्ट्राग्राममा राखेको स्टोरीबाट थाहा पाएको थिए । तर त्यसकै केही घन्टामा असाध्यै दुःखद घटना सुन्न पर्यो ।’