काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कम तौलको डन्डी बेच्ने हार्डवयरलाई कारवाही गरेको छ । विभागले राजेश हार्डवेयर बालाजु शाखाका सञ्चालक सागरमल अग्रवाललाई कम तौलको डन्डी बेचेको भन्दै ३ लाख रुपैयाँ जरिवाना गराएको हो ।
उक्त हार्डवेयरले कम तौलको फलाम/डन्डी बिक्री गरेको अभियोगमा विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ उपदफा २ (कं) बमोजिम जरिवाना गराएको विभागका प्रवक्ता शिवराज सेडाईले जानकारी दिए । कम तौल भेटिएपछि विभागले तत्कालै थप अनुसन्धान गर्नुपर्ने भन्दै सम्पूर्ण वस्तुहरु नियन्त्रणमा लिई सटर शिलबन्दीसमेत गरेको थियो ।
उपभोक्ताले फलामे डन्डी खरिद गर्दा कम तौलको भएको शंका लागेपछि बालाजु प्रहरीमा खबर गरेका थिए । शनिबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग र प्रहरीसहितको टोलीले डन्डीजन्य सामग्री तौल जाँच गर्दा बिलअनुसार कम भेटिएको थियो ।