News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

सभाहल निर्माणमा अनियमितता भएको भन्दै छानविन शुरु

'अस्वभाविक लागत बनाएर डिजाइन, ठेक्का प्रक्रियामा मिलेमतो र भवन निर्माणमा अनियमितता गरेको उजुरी'

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको छ्यारछ्यारेमा निर्माण भएको बहुउद्देश्यीय सभाहलमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ ।

अस्वभाविक लागत बनाएर डिजाइन, ठेक्का प्रक्रियामा मिलेमतो र भवन निर्माणमा अनियमितता गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालयमार्फत छानविन शुरु गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले आयोगको निर्देशनानुसार प्राविधिकसहितको टोली बनाएर छानविन शुरु गरेको जानकारी दिनुभयो । “छानविन टोलीले भवनको नापजाँचका साथै सम्बन्धित कागजातको अध्ययन शुरु गरेको छ”, उहाँले भन्नुभयो, “कागजातको अध्ययन र नापचाँजपछि तयार पार्ने प्रतिवेदन प्रशासनमा बुझाउँछ । त्यसलाई रायसहित थप अनुसन्धानका लागि अख्तियारमा पठाउँछौँ ।”

टोलीमा प्राविधिक, प्रशासनिक र लेखासँग सम्बन्धित अधिकृतस्तरका कर्मचारी छन् । मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा सभाहल निर्माणका लागि बागलुङको जयलक्ष्मी निर्माण सेवाले २०७६ फागुन १५ गते रु एक करोड चार लाखमा ठेक्का सम्झौता गरेको थियो ।

विद्युतीय माध्यमबाट आह्वान गरिएको ठेक्का प्रक्रियामा दुई वटा फर्मले सहभागिता जनाएका थिए । विसं २०७८ जेठ १५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको भवन गत पुस महिनामै सकिएको छ । लक्ष्यभन्दा छिटो काम भएको सो सभाहलको डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रियाका विषयमा दरबाङका बासिन्दाले शङ्कास्पद भएको प्रश्न उठाउँदै आएका थिए ।

अस्वभाविक लागत बनाएको, अनुकूलका ठेकेदारलाई काम लगाउन भवन डिभिजनका कर्मचारीले ठेक्का प्रक्रियामा मिलेमतो र चलखेल गरेको आरोप लागेको छ । एक सय ५० क्षमताको सो सभाहलको लम्बाइ ७७ फिट सात इञ्च र चौडाइ ४२ फिट तीन इञ्ज छ । एकतले सभाहल भवनमा पिल्लर बनाइएको छैन ।

स्टेज, दुई वटा चेञ्जिङ रुम, तीन वटा शौचालय, पानी ट्याङ्की बनाइएको छ । टिनको छाना भएको भवनमा फलामका ट्रस राखिएको छ । एघार फिट अग्लो इँटाको पर्खाल लगाइएको भवनको भुई ढलान गरिएको छ भने ट्रसको उचाइ पाँच फिट छ । रघुगङ्गा गाउँपालिकाले प्रदेश सरकारसँगको साझेदारीमा मौवाफाँटमा बनाउन लागेको सभाहलको डिजाइन भने मालिकाको भन्दा फरक छ । पिल्लर राखिने तीन तले भवनको भुई तलामा बन्ने सभाहलको ढलान, पहिलो तलामा कोठा पार्टेसन गरेर फिनिसिङ र तेसो तलामा पिलर उठाउन हिमालयन बिल्डर्स ललितपुरले भ्याटसहित रु ६७ लाख सात हजार ५२६ मा ठेक्का लिएको छ ।

गाउँपालिकाकै प्राविधिकले डिजाइन तयार पारेको यो सभाहल भवनको लम्बाइ ४८ फिट र चौडाइ ३७ फिट रहेको छ । गाउँपालिकाले सञ्चालन गर्ने योजनाको डिजाइन र ठेक्का प्रक्रियामा भवन डिभिजनका कर्मचारीको संलग्नता र सक्रियतालाई शङ्काको रुपमा हेरिएको छ । गाउँपालिकाका लेखा अधिकृत फणीन्द्रप्रसाद आचार्यका अनुसार रु बीस लाख पेस्की लगेका निर्माण व्यवसायीले दोस्रो चरणमा थप रु तीस लाख भुक्तानी लगेका छन् । अन्तिम बिल भुक्तानी गर्न कर्मचारीले आनाकानी गरेको ठेकेदार कम्पनीका प्रतिनिधि बाबुराम सापकोटाले बताउनुभयो ।

सभाहलको ढोकामा प्रयोग भएका काठ बाङ्गिएपछि प्राविधिकले फेर्न लगाएको थिए । सभाहल निर्माणमा आवश्यक पर्ने बालुवा निर्माणस्थलकै प्रयोग गरिएको मजदूर नाइके छिरी शेर्पाले बताउनुभयो । डिजाइन र लागत अनुमानमा भने बाहिरबाट खरिद गर्ने उल्लेख छ । मालिका गाउँपालिकाका इञ्जिनीयर नमनारायण ढुङ्गानाले आफूहरु नियुक्त हुनुअघिनै भवन डिभिजनका प्राविधिकले गरेको डिजाइन र ठेक्कामा १५ प्रतिशत ओभरहेड, १० प्रतिशत नाफा र डेढ प्रतिशत जमानतसमेत जोडिएकाले लागत बढी देखिनु स्वभाविक भएको बताउनुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले प्रदेश सरकारले तयार पारेको डिजाइनअनुसार भवन डिभिजनको प्राविधिक सहयोगमा ठेक्का लगाई पालिकाका प्राविधिकको निगरानीमा सभाहल निर्माण भएको हुनाले शङ्का गर्नु नपर्ने बताउनुभयो ।