News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

चोरी तथा डाँका सम्बन्धी कसूरमा खड्का र विक पक्राउ

वडा प्रहरी कार्यालय रामबजारको टोलीले अनुसन्धान गर्दै जाँदा चोरीका सामानसहित उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो ।

पोखरा, १६ जेठ । चोरी तथा डाँका सम्बन्धी कसुरमा तेजेन्द्र खड्का र टिकाराम विक तीनदिन अघि पक्राउ परेका छन् । पोखरा–१३, माटेपानीमा भएको चोरीको सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा खड्का र विक पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय रामबजारको टोलीले अनुसन्धान गर्दै जाँदा चोरीका सामानसहित उनीहरुलाई पक्राउ गर्न सफल भएको थियो । कञ्चनपुर जिल्ला घर भई नवलपरासी जिल्ला कावासोती नगरपालिका वडा नं. ११ बस्ने ३४ वर्षीय तेजेन्द्र खड्का र पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. १३ स्थायी घर भई हाल पोखरा–५, पस्र्याङ बस्ने ३२ वर्षीय टिकाराम विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

पक्राउ परेका खड्का र विकलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा आठ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाईएको डीएसपी बस्नेतले बताए ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा खड्का र विकले अन्य स्थानमा समेत चोरी गरेको खुलेको छ । हालसम्म ३ लाख ४४ हजार पाँचसयका गरगहना चोरी भएको भन्ने जाहेरी प्राप्त भएको र थप जाहेरी आउनसक्ने अनुमान प्रहरीले लगाएको छ ।

प्रहरीले उनिहरुको साथबाट सुन जस्तो देखिने पँहेलो धातुको डल्ला ५ तोला ४ लाल, विभिन्न किसिमका चाँदी जस्तो देखिने धातुका गरगहना ७ तोला ६४ लाल, विभिन्न किसिमका चाँदीका सिक्का (६ थान) २१ तोला, ३० लाल र अन्य विभिन्न किसिमका गरगहना (ब्रासलेट, सिक्री, लकेट) गरगहना बनाउन तयारी अवस्थामा रहेका कच्चा पदार्थ समेत गरी जम्मा ७४ तोला ४६ लाल बरामद गरेको छ ।

साथै घटनामा प्रयोग भएको ग २० प ३४६३ नम्बरको स्कुटर १ थान, सोको चावी १ थान, दर्ता किताव –१ थन र सुन तथा चाँदीका गरगहना गाल्न तथा बनाउन प्रयोग गर्ने औजारहरु समेत प्रहरीले बरामद गरेको छ ।