पोखरा, ८ मंसिर । मानव बेचविखन तथा ओसारपसार र जबरजस्ती करणीको आरोपमा पोखरामा तीनजना युवती पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामले उनीहरुलाई बिहीबार राति पक्राउ गरेको हो ।
प्रहरीले गोरखाको पालुङटार–४ स्थायी घर भई हाल पोखरा–६ लेकसाइडस्थित होटल स्नोल्याण्डले सञ्चालन गरेको भिसा युथ होस्टेल प्रा.लि.को कोठाहरुमा राखी बाध्य तुलाई यौन शोषण गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारी ती बालिकाहरुको उद्धार गरेको थियो ।
प्रहरीले बालिकाहरुको भनाई अनुसार गलत धन्दामा संलग्न गराउने १९ वर्षीया ममता तामाङ, मकवानपुरको बाग्मती गाउँपालिका–८ घर भई हाल काठमाडौँ बुढानिलकण्ड नगरपालिका–७ कपन बस्ने २३ वर्षीया रिना तामाङ र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१० घर भई हाल पोखराको लेकसाइड बस्ने १९ वर्षीया जस्मिन ठकुरीलाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–६ लेकसाइडस्थित स्नो ल्याण्ड होटलले संचालन गरेको युथ होस्टेलको कोठामा बिहीबार राति १० बजेको समयमा ४ जना बालिकालाई यौनशोषण गरेको भन्ने सूचना प्राप्त गरेपछि प्रहरीको टोली पुगेको थियो ।
प्रहरीले सोही ठाउँबाट चार जना बालिकाको उद्दार गरेको छ । पीडित बालिकाले होटलमा काम लगाइदिन्छु, मासिक तलब राम्रो हुन्छ, खानाबस्नको राम्रो सुविधा छ भनेर फकाईफुल्याइ ल्याई यौन शोषणमा लगाएको बताएका छन् ।
यौन शोषण गर्न बाध्य पार्ने तीनै जना युवतीलाई शुक्रबार जिल्ला अदालत कास्कीमा मानव वेचविखन तथा ओसारपसार मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बसन्त कुमार शर्माले बताए ।