पोखरा, २३ वैशाख । खपौंदीस्थित फेवातालमा मिसिने हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर आज आइतबार पोखरा–५ मालेपाटनका १४ वर्षीय सोनाम सुवेदीको मृत्यु भएको छ ।
आज दिउँसो साढे १ बजेको समयमा सोनाम र उनका १५ वर्षीय साथी सञ्जय कार्की पौडी खेल्ने क्रममा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । सोनाम पानीमा डुबेको सूचना प्राप्त हुनासाथ नजिकैको वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल कालिका गणबाट पुगेको रेस्क्यु टोलीले बालकको खोजी गरेको थियो ।
दिउँसो २ बजेर २४ मिनेट जाँदा प्रहरी र सशस्त्रको रेस्क्यु टोलीले बालकलाई मृत अवस्थामा पानीबाट निकाली शव पोष्टमार्टम्का लागि पश्चिम क्षेत्रीय अस्पतालमा पठाएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्तकुमार शर्माले जानकारी दिएका छन् ।