पोखरा, १० वैशाख । विन्दवासिनी बचत तथा ऋण सहकारी डुबाउने मुख्य अभियुक्तहरु मध्येका प्रमुख सचिव गंगाधर सुवेदी सोमबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । आइतबार आफैं अदालतमा हाजिर भएका सुवेदीलाई सोमबार न्यायाधिश हरिप्रसाद कोइरालाको एकल ईजलासले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।
विन्दवासिनी सहकारीको ७ करोड रुपैयाँ भन्दा बढि रकम अध्यक्ष सुवर्णमान नकर्मी, सचिव सुवेदी र उनका सानीआमाका छोरा भाइ नाता पर्ने पोखरा–८ बगाले टोलमा रहेको लेक सिटी हस्पिटल एण्ड क्रिटिकल कियर प्रा.लि. का अध्यक्ष उदिपसन्दिप पौडेल मिलेर हिनामिना गरेका थिए । सचिव सुवेदीले योजनावद्ध ढंगले किर्ते कागजपत्र, सञ्चालक समितिका अन्य सदस्यहरुको हस्ताक्षर र खाताको दुरुपयोग गरी करोडौंको सम्पत्तिको हिनामिना गरेका थिए ।
सहकारीका अध्यक्ष नकर्मी र सचिव सुवेदी मिलेर सहकारीको नाममा रहेको साढे ५ करोडको जग्गा व्यक्तिगत नाममा ल्याई सहकारीको रकम हिनामिना गरेको वित्तीय छानबिन र प्रहरी अनुसन्धानका क्रममा पुष्टि भएको थियो । वित्तीय अनुसन्धान चलिरहँदा आफ्नो कर्तुत सार्वजनिक हुने स्थिति देखिएपछि पक्राउ हुने डरले सचिव सुवेदी दुईसाता अघि देखि नैं फरार भएका थिए ।
अध्यक्ष नकर्मी र सचिव गंगाधर सुवेदी मिलेर कार्य समितिका अन्य पदाधिकारीहरु समेतको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेका थिए । साथै सहकारीको नाममा रहेको कि.नं. ८९३२ सिट नं. ०९०११६७१ को क्षेत्रफल ३.१.३.० मो जग्गा समेत किर्ते गरी बेचबिखन गरेका थिए । उनीहरुले यो ठगी काण्डमा सहकारीको झण्डै ५ करोड रुपैयाँ हिनामिना गरेका छन् । लम्की–चुहा नगरपालिका वडा नं. ६ कैलालीकी रेजिना विष्ट र पोखरा–१७, विरौटा बस्ने उदितसन्दीप पौडेललाई योजनावद्ध ढंगले अध्यक्ष नकर्मी र सचिव सुवेदीले जग्गा नामसारी गरिदिएका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ऐन २०७४ को दफा १२२ र दफा १२४ अनुसार सहकारी ठगीमा मुद्दा ३१ जनालाई प्रतिवादी बनाउँदैं २०८० चैत १५ गते मुद्दा दर्ता गरेको थियो । २०८० चैत १८ गते अध्यक्ष नकर्मी भने पुर्पक्षका लागि कारागार चलान भईसकेका छन् । तर अदालतले करोडौं लुट्ने धन्दामा सक्रिय उदिपसन्दिपलाई भने असाध्यैं न्यून धरौंटी ५ लाख रुपैयाँमा रिहा गरिदिएको छ ।