News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

मित्रमिलन सहकारीका लेखा संयोजक सूर्यबहादुर ७ लाख धरौंटीमा रिहा, बचतकर्ताहरु आक्रोशित

पोखरा, ३ माघ । मिल मिलन सहकारीका लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी धरौंटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश वसन्तजंग थापाको इजलासले मंगलबार ७ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

सहकारी ऐन तथा विनिमय बमोजिम लेखा सुपरीवेक्षण समितिको काम कर्तव्य पालना नगर्ने तर वैठकमा उपस्थित भएर भत्ता वापतको रकम बुझिलिने जस्ता कार्य गरी सहकारीको सम्पत्ति हिनामिना गर्नमा साथ र सहयोग प्रदान गरेको आरोपमा प्रहरीले उनलाई पुस २५ गते बुधबार पोखरा–१३, कसेरी बौरीबोट घरबाट पक्राउ गरेको थियो । ५७ वर्षीय अधिकारी आर्वा विजय मावि पोखरा–१३, ढाँडवेसीका शिक्षक समेत हुन् ।

लेखा संयोजक अधिकारीलाई सहकारी ऐन, २०७४ को दफा १२२ को उपदफा (त)ले परिभाषित कसुर भए गरेको हुँदा ऐनको दफा १२४ को उपदफा (१)को खण्ड (घ५) बमोजिम अधिकतम सजायको माग दावी गर्दै सरकारी वकिलको कार्यालय कास्कीले मुद्दा दायर गरेको थियो ।

मित्र मिलन सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म ७ जनामात्र पक्राउ परेका थिए । जसमध्ये ६ जना यसअघि पुर्पक्षका लागि कारागार चलान भईसकेका छन् । भने अधिकारी धरौंटीमा रिहा भएका हुन् ।

सहकारीका ३ हजार ४ सय ४६ वचतकर्ताको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएकोमा सरकारी वकिलको कार्यालयले कानुन बमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ विगो माग दावी गर्दै मुद्दा दायर गरिएको थियो । सहकारी ठगीमा प्राध्यापक, वडाध्यक्ष, वकिल, टोले गुन्डादेखि पत्रकारसम्मको संलग्नता रहेको अनुसन्धानका क्रममा देखिएको थियो ।

सहकारी ठगीमा फरार अभियुक्तहरुले अदालतमा सेटिङ मिलाएर सार्वजनिक हुने हल्ला चलेसँगैं पछिल्लो समय अदालतबाट देखिन थालेको आदेशले सहकारी पीडित बचतकर्ताहरु भने आक्रोशित भएका छन् । आर्थिक चलखेल गर्दै अदालतबाट छुट्ने र बचतकर्ताहरुलाई धम्की दिदैं प्रमाणहरु नष्ट गर्ने र मुद्दालाई प्रभावित पार्न सक्ने हुँदा सहकारी ठगीमा संलग्नहरुलाई पुर्पक्षका लागि कारागारमा राखी अनुसन्धान गर्न बचतकर्ताहरुले माग गरेका छन् ।