News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पर्यटन प्रमुख समाचार

पोखरा विमानस्थल सञ्चालनको आठ महिनापछि पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान

भुटानबाट आएको ड्रुक एयरको विमानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा शनिबार बिहान पानीको फोहोराले स्वागत गरिँदै । तस्बिरः राधिका कँडेल

पोखरा, २३ भदौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको आठ महिनापछि पहिलोपटक बल्ल अन्तर्राष्ट्रिय उडान भरेको छ । भुटानको ड्रुक एयरले व्यावसायिक उडान भरेसँगैं विमानस्थललाई पहिलोपल्ट आम्दानी भएको हो ।

भुटानको पारो विमानस्थलबाट चालक दलका तीन सदस्यसहित शनिबार बिहान ६ः४५ मा पोखरा ओर्लिएको ड्रुक एयरले ४२ अमेरिकी पर्यटक बोकेर ८ः१५ मा थिम्पु फर्किएको विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले जानकारी दिए ।

यसअघि चीनको सिचुवान एयरलाइन्सले छेङ्दुबाट चार्टर्ड उडान गरी पोखरा आएको थियो । उक्त विमान फर्किंदा रित्तै फर्किनु परेको थियो । पर्यटन व्यवसायीले विमानस्थलमा ड्रुक एयरका चालक दललाई स्वागत गर्नुका साथैं थिम्पु जाने पर्यटकलाई बिदाइ पनि गरेका छन् ।

भारत, नेपाल र भुटान घुम्ने गरी आएका खर्चालु अमेरिकी पर्यटक ड्रुक एयर चार्टर गरी थिम्पु पुगेका हुन् । जहाज भारतीय एजेन्सीले नै चार्टर गरेको हो । उनीहरू तीन दिन पोखरामा बसेर विभिन्न साहसिक गतिविधिमा सामेल भएका थिए । उक्त टोली शुक्रबार आठवटा हेलिकप्टरमार्फत कुरिनटार पुगेर मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ गरी हेलिकप्टरमै पोखरा फर्किएको थियो ।