काठमाडौं, ११ फागुन । जग्गाको नक्कली लालपूर्जा देखाएर बिक्री गर्ने भन्दै ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले हितबहादुर बुढाथोकीलाई पक्राउ गरेको छ ।
नक्कली लालपूर्जा र नक्सा देखाएर जग्गा बिक्री गर्न भन्दै ३३ लाख बैना लिएको आरोपमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ का ३९ बर्षीय बुढाथोकीलाई काठमाडौंको कपनबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बुढाथोकीमाथि काठमाडौंको साँखुस्थित साल्खा–६ (ख) मा रहेको दुई रोपनीमध्ये आठ आना जग्गा ३५ लाखमै पास गरिदिन्छु भनी पीडितसँग ३३ लाख लिएको आरोप लागेको छ । बुढाथोकीले रकम लिएर जग्गा पास गर्न आलटाल गरेपछि पीडितले मालपोत कार्यालयमा बुझ्दा सो जग्गा अर्कैको नाममा दर्ता भएको थाहा भएको थियो ।