पोखरा, १८ असोज । पूर्वयुवराज पारस शाहको पोखरामा रहेको फ्ल्याटमा चोरी गरेको आरोपमा उनकै कामदारलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वयुवराज पारसको फ्ल्याटबाट क्यामरा, आइप्याड, दुरबिन र फोन लगायतका सामाग्रीहरु चोरी भएका थिए ।
पूर्वयुवराज पारसको फ्ल्याटबाट सामाग्रीहरु चोरी गरी २५ बर्षीय शुभ गौतम काठमाडौं पुगेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले मित्रनगरबाट आइतबार पक्राउ गरेको थियो । पक्राउ परेका गौतमको साथबाट चोरी भएका सामाग्रीहरु बरामद भएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले दिएको जानकारी अनुसार पोखरामा मुद्दा परेको थाहा पाएपछि फोन ट्रयाकिङ गरेर गौतमलाई पक्राउ गरिएको हो । पक्राउ परेका गौतममाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।