‘सिल्टेशन ड्याम भत्किएर जनताको गाँस र बास नै उठाउने अवस्था भयो । अब यस्तो भयो के गरम् भनेर नेताहरुलाई फोन गरेर गुहार्दा खेरी कसैले सुनेन ।’- स्थानीय टंक पराजुली
पोखरा । फेवातालको मुहानमा रहेका स्रोत नदीहरुमा निर्माण गरिएको सिल्टेशन ड्याम धमाधम भत्किन थालेका छन् । निर्माण भएको पहिलो वर्षमा अँधेरीखोलामा निर्माण गरिएको ड्याम भत्किएको थियो भने यो वर्ष हर्पन खोलामा निर्माण गरिएको ड्याम भत्किएको छ ।
फेवातालको मुहानमा निर्माण गरिएका सिल्टेशन ड्याम दुई वर्ष पनि नपुग्दै भत्किए पछि नजिकैका वस्तीहरु जोखिममा परेका छन् । पोखरा महानगरपालिका वडा नं. २३ डुडेको फाँटस्थित हर्पन खोलामा निर्माण गरिएको सिल्टेशन ड्याम अविरल परेको पानीका कारण हिजो राती भत्किएको हो ।
कमजोर ढंगले निर्माण गरिएकैं कारण सिल्टेशन ड्याम भत्किँदा डुँडे फाँट नजिकको वस्तीका ३५ घरधुरी, ड्याम भन्दा थोरै तल ठुलाखेतका ९ घर र नौविसे ककहरे भन्ने ठाउँमा १० घर अत्यन्त जोखिममा रहेको पोखरा वडा नं. २३ का कार्यवाहक वडाध्यक्ष भरतराज भण्डारीले जानकारी दिए ।
कार्यवाहक वडाध्यक्ष भण्डारीका अनुसार गुणस्तरहिन निर्माण भएकै कारण धमाधम सिल्टेशन ड्यामहरु भत्किएका हुन् । ‘सिल्टेशन ड्याम बनाउँदै गर्दा हामीले भनेका थियौं, यहीँको सामाग्री प्रयोग गर्नुस् तर माटोको मात्रा बगाएर बालुवाको मात्र राखेर सिमेन्टी र बालुवाको राम्रो मिक्स गराएर मात्रै सिल्टेशन ड्याममा लगाउनु होला,’ कार्यवाहक वडाध्यक्ष भण्डारीले भने–‘नत्र भने यो ड्याम नरहन सक्छ र राज्यको सम्पत्ति दुरुपयोग हुनसक्छ भनेर बुलन्द आवाज उठाएका थियौं ।’
स्थानीय र जनप्रतिनिधिहरुले सिल्टेशन ड्याम निर्माण कार्य गुणस्तरहिन भए पछि शुरुदेखि नै विरोध गरिरहेका थिए । पटक–पटक आवाज उठाउँदै आएपनि सम्बन्धित निकायले वेवास्ता गरेका कारण सिल्टेशन ड्यामहरु धमाधम भत्किन थालेका छन् । यस अघि गत वर्ष अँधेरीखोलामा निर्माण गरिएको सिल्टेशन ड्याम भत्किएको थियो ।
फेवातालको मुख्य स्रोत हर्पन खोलामा खड्का कृष्ण/पि.के. जेभी दाङले ७ करोड ८८ लाख ६२ हजार ५ सय ४१ रुपैयाँमा सिल्टेशन ड्याम निर्माण गरेको थियो । एकातिर ड्याम नै कमजोर निर्माण गरिएको र वस्ती भन्दा पनि उचाईमा ड्याम बनाईदाँ नजिकै रहेका वस्तीहरु र खेतहरु जोखिममा रहेको राजनीतिज्ञ एवं स्थानीय भूमिप्रसाद पराजुलीले बताए ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा फेवाताल संरक्षणको लागि भन्दै हर्पनखोला, अँधेरीखोला, लौरुक खोला र बेतनी खोला गरेर ४ ठाउँमा २८ करोड ९६ लाख रुपैयाँमा चार वटा सिल्टेशन ड्यामहरु निर्माण गरिएको थियो । ड्यामहरु निर्माण हुँदा कमसल भएको भन्दै स्थानीय र जनप्रतिनिधिले यसको विरोध गरेको स्थानीय भक्तबहादुर केसीको भनाई छ ।
फेवातालका मुहानबाट बगेर आउने गेग्रयान, कमेरो र माटोले ताल पुरिन थालेपछि जोगाउनका लागि भन्दै प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा सिल्टेशन ड्याम निर्माण गरिएको हो । तर निर्माण भएकै वर्ष नै सबै सिल्टेशन ड्यामहरु भत्किन थालिसकेका थिए । जसमध्ये अँधेरी खोलामा बनाईएको ड्यामले १५६ रोपनी जमिनमा लगाईएको धानवाली नै पूर्णरुपमा नष्ट गरेको चाक्ला बन्दी एवं धान पकेट क्षेत्रका कोषाध्यक्ष अमृत भण्डारीले बताए ।
फेवाताल संरक्षण गर्ने भन्दै निर्माण गरिएका सिल्टेशन ड्यामहरु वेतयानी र लौरुकखोलामा ५० मिटर लम्बाई, ५० मिटर चौडाइ र ४ मिटर उचाइको, अँधेरीखोला र हर्पनखोलामा १ सय मिटर लम्बाई, १ सय मिटर चौंडाई र ४ मिटर उचाईको रहेका छन् ।
पोखरा २४ स्थित वेतयानी खोलामा निर्माण गरिएको ‘सिल्टेसन ड्याम’ श्री गीता/जयनेपाल इश्वर जेभी, स्याङ्जाले निर्माण गरेको हो । यसको लागत ५ करोड ४६ लाख ५८ हजार ९ सय ७५ रुपैयाँ रहेको छ । त्यसैगरी, पोखरा २४ लौरुकखोलामा निर्मित ‘सिल्टेसन ड्याम’ खड्का कृष्ण/पि.के जेभी दाङले निर्माण गरेको हो । यसको लागत ५ करोड ७४ लाख ८४ हजार ९ सय ९८ रुपैयाँ थियो ।
पोखरा २३ र २४ मा पर्ने अँधेरीखोलामा निर्मित ‘सिल्टेसन ड्याम’पनि खड्का कृष्ण/पि.के जेभी दाङले नै निर्माण गरेको थियो । यसको लागत ९ करोड ६ लाख ४ हजार ५ सय ५८ रुपैयाँ थियो । फेवातालको सबैभन्दा माथिल्लो सिरान क्षेत्र पोखरा २३ हर्पनखोलामा निर्मित ‘सिल्टेसन ड्याम’ पनि खड्का कृष्ण/पि.के जेभी दाङले नै निर्माण गरेको हो । यसको लागत ७ करोड ८८ लाख ६२ हजार ५ सय ४१ रुपैयाँ रहेको थियो ।
रामसार क्षेत्रमा सूचीकृत पोखराको फेवाताल प्राकृतिक र मानवीय अतिक्रमणका कारण साँघुरिदैं गईरहेको छ । फेवातालको मुहानबाट तालमा प्रत्येक वर्ष एक लाख ४२ हजार मेट्रिक टन गेग्रान थुप्रिँदै आएको विभिन्न अध्ययनले देखाएको छ ।
नापी विभागको अभिलेख अनुसार सन् १९५७ को नापी अनुसार लगभग २२ हजार रोपनीमा फैलिएको फेवातालको पछिल्लो नापीमा फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर (११२५५ रोपनी ११ आना १ पैसा) कायम गरिएको छ ।
‘सिल्टेशन ड्याम भत्किनुमा सबैभन्दा ठुलो कमजोरी ठेकेदार, ओभरसियर र इञ्जिनियरको हो । यिनीहरुलाई जनता र देशको माया छैन । कसरी पैसा कमाउँ भन्नेमा छन्,’ स्थानीय चुडामणि अधिकारी भन्छन्–‘यस कार्यमा संलग्न सबैमाथि कारवाही होस् ।’
फेवातालका यिनै स्रोत नदीहरुमा निर्माण गरिएका सिल्टेशन ड्याममा जम्मा भएका नदीजन्य सामाग्रीहरु बिक्री बितरण गर्नका लागि पोखरा महानगरपालिकाले २४ वर्षका लागि फेवा सिल्टेसन प्रा.लि.लाई ठेक्कामा दिएपछि स्थानीयले यसकोे विरोध गरेका थिए ।
‘हामीले सिमेन्टको मात्रा मिलाएर हाल्नुस् भन्दा हाम्रो कुरा सुनेनन् र टेरेनन्, आज यो अवस्था आयो । अझै कति क्षति हुन्छ भन्न सकिदैंन,’ स्थानीय टंक पराजुलीले भने–‘यसले गर्दा जनताको गाँस र वाँस नै उठाउने अवस्था भयो । अब यस्तो भयो के गरम् भनेर नेताहरुलाई फोन गरेर गुहार्दा खेरी कसैले सुनेन ।’
स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुसँग छलफल नै नगरी महानगरपालिकाले गरेको सम्झौंता खारेज गर्नुपर्ने स्थानीयको माग छ । यो विषयमा पोखरा महानगरपालिकाले वार्ता टोली नै गठन गरेको भएपनि अझैसम्म यो विवाद टुङ्गिन सकेको छैन । यो अवस्थामा ठेक्कामा दिइएका सिल्टेशन ड्यामहरु धमाधम भत्किन थालेका छन् ।
‘डाँडाबाट पहिरो झरेको रहेछ । पहिरो त चलेको चल्यै छ । माथि डाँडाबाट आएको हुनाले एकछिन खोला रोकिए रोकिए जस्तो भयो लेदोले । हामी पुलमा खोला नाप्दै बस्दै गर्यौं ।’ स्थानीय आसबहादुर घलेले भने–‘के गर्ने खोलाको छेवैमा बसेर मैले जति व्यहोर्न त अरुले व्यहोरेको छैन होला । गरेको कामहरु बलियो छैन । जसको शक्ति उसको भक्ति भने जस्तै छ ।’
‘हामी बास छोडेर कतै जाने स्थिति पनि छैन । रातीभरी सुत्ने अवस्था छैन । रातभरी महिला र बालबच्चालाई कता लगेर बचाउने भन्ने पिर छ,’ स्थानीय अईतलाल विकले भने–‘कता लैजान्छ कि भन्ने डर र त्रास मात्र छ । प्राण हुँदा खेरीसम्म बच्ने आशा हुँदो रहिछ ।’
‘खोलामा उदण्ड भईरहेकोले त्यहाँ प्रत्यक्ष स्थानीयहरुलाई एकदमैं ठुलो असर परेको छ । यहाँ आएर खोला संरक्षण गर्छौं भनेर ठुला–ठुला रकम विनियोजन गरेर जनताको आँखामा छारो हाल्ने काम भएको छ,’ स्थानीय राजकुमार विकले भने–‘वस्तीलाई जोखिममा पार्ने काम भयो । यहाँको ढुङ्गा, गिटी, बालुवा लिएर गएर खोलाहरु खोलिदाँ समस्या भयो ।’
फेवातालको मुहानमा निर्माण गरिएका ४ वटा सिल्टेशन ड्यामको प्राविधिक जाँच गर्ने हो भने त्यहाँ भित्रको भ्रष्टाचार र अनियमितता छर्लङ्ग हुन्छ । करोडौं रुपैयाँ ठेकेदारसँग मिलेर पोखरा महानगरपालिकाका कर्मचारीहरुले पचाएका छन्, यसमा कुनै शंका छैन । तर छानबिन सम्बन्धित निकायबाट होला त ?