News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ

पोखरा, २७ चैत । पोखराको बीच बजारमा साँझपख धारिलो हतियार प्रहार गरी एकल महिला सिर्जना पौडेल केसीको ज्यान लिने घटनामा संलग्न भाञ्जा नाता पर्ने अभियुक्तसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पारिवारिक अंश विवाद र कलह नै हत्याको मुख्य कारण रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की, गण्डकी प्रदेश प्रहरी कार्यालय र मातहतका वडा प्रहरी कार्यालयको संयुक्त टोलीले तीव्र अनुसन्धान गर्दै घटनास्थल नजिकैका सीसीटीभी फुटेज, पारिवारिक पृष्ठभूमि र प्रमाण संकलन गरेर अभियुक्तसम्म पुगेको हो ।

पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका–११ शिल्मी घर भई हाल पोखरा–६ मा डेरा बस्ने २७ वर्षीय भाञ्जा नाता पर्ने सन्तोष भन्ने शिशिर के।सी र पोखरा–१७, रातोपैह«ो बस्ने ३२ वर्षीय कुशलरत्न परियार रहेका छन् । भाञ्जा सन्तोषलाई प्रहरीले रुपन्देही बुटवल–२ मनकामना टोल र कुशललाई लेकसाईडबाट पक्राउ गरेको थियो । भाञ्जा सन्तोष यसअघि अभद्र व्यवहार र चोरी तथा डाँका मुद्दामा संलग्न भएको प्रहरी रेकर्डमा उल्लेख छ । त्यसैगरी कुशल लागूऔषध मुद्दामा पटक–पटक पक्राउ पर्दै आईरहेका छन् ।

भाञ्जा शिशिर केसी (सन्तोष) र उनका सहयोगी कुशलरत्न परियार

शिशिरले खुडा प्रहार गरेको र कुशलले स्कुटरमा लगेर भगाउने मतियारको भूमिका खेलेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको ग २५ प ३०४४ नम्बरको स्कुटर पोखरा–७ मुस्ताङ चोकबाट र रगत लागेको खुडा पोखरा–१६ बिरौटा तितेपानी जङ्गलबाट बरामद भएको छ । अभियुक्तहरूले मास्क, हेल्मेट लगाएर स्कुटरको नम्बर प्लेट छोपेर घटना गरेको सीसीटीभी फुटेजमा देखिन्छ । उनीहरू दिउँसैदेखि सृजनाको पसल वरिपरि घुमेर पिछा गरिरहेका थिए ।

चैत २५ गते साँझ ७:१५ बजे पोखरा महानगरपालिका वडा नं. ८ सभागृह चोक नजिक शिवालय चोकस्थित पोखरा–बाग्लुङ सडक खण्डमा धारिलो हतियार (खुडा) प्रहार गरी सिर्जनालाई घाइते बनाएका थिए । घाइतेलाई तत्काल गण्डकी मेडिकल कलेज पुर्‍याइए पनि राति ८:१८ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

खुँडा (सेतो बोराले बेरेको) बोकेर माईजुको पिछा गर्दै गरेका भाञ्जा सन्तोष भनिने शिशिर केसी ।

४२ वर्षीया मृतक सृजना पोखरा–५ जीरो किमी घर भई हाल पोखरा–१८ सेदी बस्दै आएकी  थिइन् । उनको टाउकोमा प्रहार गर्दा टाउकाको भित्री भागसमेत बाहिर निस्कने गरी विभत्स आक्रमण भएको थियो ।

पारिवारिक पृष्ठभूमि : कलहको बीउ
सृजना ‘खसी किन्ने किस्ने’को नामले चिनिने मासु व्यापारी कृष्ण केसीकी दोस्रो श्रीमती थिइन् । कृष्णकी पहिलो श्रीमतीको निधनपछि ९ वर्षअघि सृजनासँग विवाह भएको थियो । कृष्णको ३ वर्षअघि निधन भएपछि सृजना ४ वर्षीया छोरीसहित एक्लै जीवन गुजार्दै थिइन् । कृष्णको पहिलो श्रीमतीबाट एक छोरा र दुई छोरी छन् । छोरा लागूऔषध मुद्दामा कास्की जिल्ला कारागारमा थुनामा छन् ।

अदालतबाट बकसपत्र सम्बन्धी मुद्दामा सृजनाकै पक्षमा फैसला भएपछि परिवारभित्र अंश र सम्पत्तिको विवाद चर्किएको थियो । प्रहरी अनुसन्धानअनुसार यो नै हत्याको मुख्य कारण हो । सृजना पसल बन्द गरेर पैदल घर फर्किँदै गर्दा पछाडिबाट आक्रमण भएको थियो ।

कान्छी श्रीमती सिर्जनाका साथ कृष्ण केसी । फाईल तस्विर

यो रगत लागेको खुँडा पोखरा–१६ बिरौटा तितेपानी जङ्गलबाट प्रहरीले बरामद गरेको हो ।

कानुनी कारबाही
दुवै अभियुक्तलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत कास्कीबाट म्याद थपेर अनुसन्धान अघि बढाइएको छ । घटनासँग जोडिएका अन्य मतियार वा सहयोगी छन् कि भन्ने विषयमा थप अनुसन्धान जारी छ ।  मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अनुसार ज्यान सम्बन्धी कसुरमा मुद्दा चलेको छ ।

१ महिनादेखि माईजु सिर्जना केसीको हत्या गर्ने योजना बनाएका भाञ्जाले हत्या गर्ने दिन दिनभरि खुँडा बोकेर हिँडिरहेका थिए।

प्रहरीको भनाइ
जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलन गरी यो जानकारी दिएको हो । प्रहरीले पारिवारिक कलह र अंश मुद्दालाई मुख्य कारण मानेको छ भने थप अनुसन्धानबाट घटनाको पूर्ण चित्र सार्वजनिक हुने जनाएको छ ।

एक सानो छोरीकी आमा, एक्लै व्यवसाय गर्दै जीवन गुजारिरहेकी सृजनाको यस्तो विभत्स हत्याले पोखराको सुरक्षा व्यवस्थामाथि समेत गम्भीर प्रश्न खडा गरेको छ । प्रहरीले घटना भएको ४८ घण्टाभित्रै मुख्य अभियुक्त पक्राउ गर्न सफल भएको छ ।

सिर्जना हत्या काण्डमा संलग्नहरु ४८ घण्टा पनि नबित्दैं पक्राउ परेपछि पत्रकार सम्मेलन गरी जानकारी दिदैं कास्की प्रहरी प्रमुख एसपी नवीन कार्की ।

एउटा सिंगो परिवारको सपना, सम्बन्ध र भविष्य एकपछि अर्को गर्दै चकनाचुर भएको छ
एउटा सिंगो परिवारको सपना, सम्बन्ध र भविष्य एकपछि अर्को गर्दै चकनाचुर भएको छ। पारिवारिक कलहले कृष्ण केसीको घरबार पूर्ण रूपमा लथालिङ्ग बन्न पुगेको छ।

बाहिरी सम्बन्धका कारण घरमा खटपट बढेपछि जेठी श्रीमतीले विष सेवन गरी आत्महत्या गरिन् । त्यसपछि घरमा भित्रिएकी कान्छी श्रीमती सिर्जनासँग कृष्णको सम्बन्ध पनि राम्रो हुन सकेन । पुनः यी दुवैबीच विवाद बढेपछि कृष्णले पनि मालेपाटनस्थित घरमै विष पिएर आत्महत्या गरे । कास्कीको रूपा गाउँपालिका–१ स्यास्त्री माइती भएकी सिर्जना कृष्णसँग वैवाहिक सम्बन्धमा बाँधिनुअघि पूर्वपतिसँग सम्बन्ध विच्छेद गरी माइतीमै बस्दै आएकी थिइन् । १५ वर्षको उमेरमै विवाह गरेकी उनको हाल २६ वर्षीया छोरी र २४ वर्षीय छोरा पूर्व श्रीमानसँगै बस्छन् ।

आफ्नै आँखाअगाडि आमा र बुवाको दुःखद मृत्यु देख्नुपरेका तीन छोराछोरीमात्र होइन, वृद्ध बाआमालाई पनि गम्भीर मानसिक चोट पुग्यो । त्यसको असरले घरमा रहेका छोराछोरीमध्ये जेठो छोरा पारिवारिक कलह र दुर्घटनाको पीडामा फसेर कुलतमा लाग्न पुगे । घरमा पुनः अशान्ति र झैझगडा बढ्यो । अन्ततः लागूऔषधसहित जेठो छोरा पक्राउ परे र जेल चलान भए ।

कृष्णको मृत्युपछि घरमा वृद्ध बाआमा र दुई छोरी मात्र बाँकी थिए । कान्छी श्रीमती सिर्जनाको उनीहरूसँग राम्रो सम्बन्ध हुन सकेन । श्रीमान्को क्रिया सकेलगत्तै उनी सरसामानसहित खपौंदीस्थित अर्को घरमा बसाइँ सरिन् । तर अंश मुद्दा, घर भाडामा लगाउने र भाडा रकम उठाउने विषयमा सिर्जना र यो परिवारबीच विवाद झन् चर्किँदै गयो ।

यस्तो तनावपूर्ण वातावरण नजिकबाट हेर्दै आएका २७ वर्षीय भाञ्जामा आक्रोश भरिँदै गयो । र, आज त्यही आक्रोशले गर्दा सिर्जनाको पनि दुःखद निधन हुन पुग्यो ।

पोखराको सभागृहचोकस्थित बुधबार राति ७:१५ बजेको समयमा सिर्जनाको भाञ्जाले यसरी विभत्सरुपमा हत्या गरेका थिए ।

सबैभन्दा पीडादायी दृश्य त, सिर्जनाको हत्यापछि मात्र ४ वर्षीया छोरी आमाविहीन भएकी छिन् भने जेठी श्रीमतीबाट जन्मिएका तीन निर्दोष बालबच्चाहरू अभिभावकविहिन भएका छन् । उनीहरू आमाबुबा दुवै गुमाएर अहिले एक्लै र असहाय बनेका छन्। परिवारमा चलेको निरन्तरको कलह, ईर्ष्या र तनावले मात्र यो विनाश निम्त्याएको होइन, लागूऔषध मुद्दामा जेठीतर्फका छोरालाई फसाइएको आरोप पनि लागेको छ।

यो घटना पारिवारिक कलह, मानसिक तनाव र बदला भावनाको नतिजा भएको स्थानीयहरू बताउँछन्। एउटै छानामुनि बसेका मानिसहरूबीचको सानो–सानो कुराले कसरी ठूलो विनाश निम्त्याउन सक्छ भन्ने यो दुःखद उदाहरण हो। यो दुःखद घटनाले समाजलाई फेरि एक पटक सोच्न बाध्य बनाएको छ -घरभित्रको कलहले कति ठूलो मूल्य चुकाउन सक्छ भन्ने कुरा।

डनन्यूज ट्रेन्डिङ