News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

इनिशा हत्या प्रकरणमा संलग्न चारजना विरुद्ध बलात्कार र कर्तव्य ज्यान मुद्दा दर्ता

इनिशाका परिवारले न्याय पाउनेमा शंका व्यक्त, आन्दोलन दुई पक्षमा विभाजित

सुर्खेत, १८ चैत । सुर्खेतको वीरेन्द्रनगर–४ जनजागरण सामुदायिक वनमा २३ फागुनमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको प्रकरणमा चार जना नाबालिग युवकविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सामूहिक बलात्कार र हत्याको अभियोगपत्र दायर गरेको छ ।

जिल्ला अदालत सुर्खेतमा दायर गरिएको ४१ पृष्ठ लामो अभियोगपत्रमा चारै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अनुसार सामूहिक बलात्कार र कर्तव्य ज्यान मुद्दा लगाइएको छ । अभियोगपत्रमा प्रत्येकलाई आजीवन कारावास माग गरिएको छ । नाबालिग भएकाले कसुर ठहर भएमा वयस्कलाई हुने सजायको दुई तिहाई अर्थात् अधिकतम १६ वर्ष ८ महिनासम्म कैद हुन सक्ने व्यवस्था छ ।

प्रहरी अनुसन्धान र अभियोगपत्रका प्रमाणहरूमा मुख्य अभियुक्त ‘वीरेन्द्रनगर प’ (१६ वर्ष ८ महिना) लाई इनिशाको प्रेमीका रूपमा उल्लेख गरिएको छ । सीसीटीभी फुटेज, कल डिटेल रेकर्ड र बयानअनुसार उनी बिहान ६ बजेर १९ मिनेटदेखि इनिशासँगै वनतर्फ गएका थिए । पोस्टमार्टम रिपोर्टमा इनिशाको मृत्यु यौनांगमा लागेको गहिरो चोट र अत्यधिक रक्तस्रावबाट भएको उल्लेख छ ।

तर, बाँकी तीन अभियुक्त ‘वीरेन्द्रनगर ध’, ‘वीरेन्द्रनगर न’ र ‘वीरेन्द्रनगर फ’ विरुद्ध सरकारी वकिलले पेस गरेको अभियोगमा पर्याप्त प्रमाण देखिँदैन । प्रहरीले मुख्य अभियुक्त ‘प’ लाई बलात्कार र हत्यामा तथा बाँकी तीन जनालाई घटनास्थल पुगेको र इनिशालाई बचाउन भूमिका नखेलेको अभियोगमा मात्र कारबाही सिफारिस गरेको थियो ।

अभियोगपत्रमा समावेश सीआईबीको प्रतिवेदनअनुसार अन्य तीन जनाको कल डिटेल र मोबाइल लोकेसनले उनीहरूलाई बिहान ९ बजेसम्म घटनास्थल आसपास नदेखाएको छ । मुख्य अभियुक्तले ८ बजेर २१ मिनेटमा ‘ध’ लाई फोन गरेर उद्धारका लागि बोलाएको र उनीहरू ९ बजेर ७ मिनेटपछि मात्र घटनास्थल पुगेको देखिन्छ । इनिशाको शव ९ बजेर ३० मिनेटमा फेला परेको थियो ।

चारै जनाको बयान र साक्षीहरूको बयानमा पनि अन्य तीन जनाले बलात्कारमा संलग्नता नदेखिएको उल्लेख छ । मुख्य अभियुक्तले घटना आफैंले गरेको र साथीहरूलाई उद्धारका लागि मात्र बोलाएको बयान दिएका छन् । अभियोगपत्रमा १६३ वटा प्रमाण सूची छन् तर तीन जनाविरुद्ध सामूहिक बलात्कारको प्रत्यक्ष प्रमाण कमजोर देखिएको छ ।

प्रहरी उपरीक्षक सुधीरराज शाहीले अनुसन्धान प्रतिवेदनमा प्रहरीले मुख्य अभियुक्तलाई मात्र बलात्कार र हत्यामा दोषी ठहर गरेको बताएका छन् । सरकारी वकिल कार्यालयले भने प्रहरी प्रतिवेदन अपूर्ण भएको भन्दै चारै जनालाई एउटै मुद्दामा कारबाही माग गरेको छ ।

अभियोगपत्रमा मुख्य अभियुक्तको पोलिग्राफ परीक्षणले उनको बयान झूटो नभएको देखाएको छ । इनिशाको शरीर र घटनास्थलबाट संकलित नमुनाको डीएनए, भिसेरा र बायोसेरोलोजिकल परीक्षणको नतिजा भने अझै आएको छैन । यी नतिजाले सामूहिक बलात्कार भएको वा नभएको निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्नेछन् ।

जिल्ला अदालतले मंगलबार चारै अभियुक्तलाई मुद्दा पुर्पक्षका लागि नेपालगन्जस्थित बाल सुधार गृहमा पठाउने आदेश दिएको छ । मुद्दाको अन्तिम फैसला नआउँदासम्म उनीहरू त्यहाँ रहनेछन् ।

यो प्रकरणमा इनिशाका परिवारले न्याय पाउनेमा शंका व्यक्त गरेका छन् भने तीन अभियुक्तका परिवारले सरकारी वकिलले मुद्दा तोडमोड गरेको आरोप लगाएका छन् । आन्दोलन पनि दुई पक्षमा विभाजित भएको छ । अन्तिम फैसला अदालतले प्रमाणका आधारमा गर्नेछ । डीएनए परीक्षणको नतिजा आएपछि मुद्दाको दिशा थप स्पष्ट हुन सक्नेछ ।