News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद

गिरीलाई अख्तियारले गत वर्ष चैत ७ गते न्यूरोडबाट पक्राउ गरेको थियो

पोखरा, ७ माघ । विशेष अदालतले पोखरा महानगरपालिकाका सातौं तहका अधिकृत कपिल गिरीलाई घुस लिएको अभियोगमा १ महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । साथै, उनले पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति पनि दिनुपर्नेछ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार यो फैसला गरेका हुन् ।

गिरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा टोलीले गत वर्ष चैत ७ गते न्यूरोडबाट २५ हजार रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेको थियो। उनी महानगरको उजुरी फछ्र्योट तथा समन्वय शाखामा कार्यरत थिए। नगरपालिकाका कर्मचारीलाई ‘अख्तियारमा परेको उजुरी र प्रमाणहरू मेटाइदिन्छु, सबै मिलाइदिन्छु’ भन्दै सुरुमा १ लाख मागेका उनले २५ हजार लिएकै बेला पक्राउ परेका थिए। मुद्दा गत वैशाख ९ मा दायर भएको थियो।

पोखराको न्यूरोडबाट अधिकृत कपिल गिरीलाई घुस रकमसहित पक्राउ गर्दै अख्तियारको टोली । फाईल तस्विर

पोखरा महानगरपालिकामा घुसखोरीका घटना नौला होइनन्। पछिल्ला केही वर्षयता यहाँका कर्मचारीहरू बारम्बार घुस रकमसहित पक्राउ पर्दै आएका छन्। अधिकांश अवस्थामा प्रारम्भिक हल्लाखल्लापछि “उच्च तहको सेटिङ” मार्फत मुद्दा कमजोर बन्दै सफाइ पाउने गरेको विगतको रेकर्ड छ।

यही सन्दर्भमा सबैभन्दा ठूलो र विवादास्पद प्रकरण भने मेयर धनराज आचार्यले मणिपाल शिक्षण अस्पताललाई दिएको करिब २० करोड रुपैयाँको राजस्व छुट हो। कार्यपालिका बैठकको माइन्युटमा किर्ते गरी १९ करोड ८१ लाख रुपैयाँ छुट दिने निर्णय गरिएको भन्दै अख्तियारले छानबिन अघि बढाएको छ। आयोगको टोलीले महानगर कार्यालयमै छापा मारेर कागजात नियन्त्रणमा लिएको थियो। यो प्रकरणमा मेयर आचार्यसहित केही जनप्रतिनिधि र कर्मचारीमाथि अनुसन्धान भइरहेको छ।

सूचना स्रोतका अनुसार यो मुद्दालाई प्रभावित पार्न मेयर आचार्य र मणिपाल सञ्चालकहरूको टोली पटक–पटक काठमाडौं धाइरहेको चर्चा चलिरहेको छ । पोखरा महानगरमा यस्ता घटनाहरू दोहोरिँदा सुशासनको अवस्था गम्भीर रूपमा खस्किएको स्पष्ट हुन्छ। जनप्रतिनिधि र कर्मचारी तहमा नै भ्रष्टाचार मौलाउँदा विकास निर्माण र सेवा प्रवाहमा गम्भीर असर परिरहेको छ।

अख्तियार र विशेष अदालतले देखाएको कडाइले केही आशा जगाए पनि “सेटिङ” को संस्कृति नतोडिएसम्म यस्ता घटना रोकिने छाँट देखिँदैन। पोखराका मेयर नैं यसरी ठुलो आर्थिक घोटालामा संलग्न भएपछि अन्य कर्मचारीहरुले गरेको हर्कत सामान्य झैं देखिएको छ ।