काभ्रेपलाञ्चोक, २६ भदौ । पोखरामा जेन जी (नयाँ पुस्ता)का प्रदर्शनकारीले आगजनी गरेको घरमा मृत फेला परेकी युवती दोलखाकी २७ वर्षीया स्वस्थानी खड्का भएको पुष्टि भएको छ । उनी दोलखाको वैतेश्वर गाउँपालिका–८, छेत्रपा फेदीकी बासिन्दा हुन् ।
स्वस्थानीका छिमेकी पुष्कर अधिकारीका अनुसार उनी काठमाडौंमा काम गर्थिन् तर कामको सिलसिलामा पोखरा पुगेकी थिइन् । उनको शव लिन उनका भिनाजु र भाइ पोखरा गएका छन् भने बाबुआमा दोलखाबाट काठमाडौं जाँदै छन् ।
स्वस्थानीको मृत्यु पोखरा लेकसाइडको अंशुभरा स्क्वायरमा भएको आगलागीमा भएको हो । उनको शव बुधबार जलेको अवस्थामा फेला परेको थियो ।
त्यसैगरी, नयाँ बजारमा आगजनीमा परेर मारिएकी महिलाको पनि पहिचान खुलेको छ । अन्दाजी ३५ वर्षीय सञ्जु नगरकोटीको रहेको कास्की प्रहरीले जनाएको छ। सञ्जु गत असार १ गतेदेखि मात्र उक्त सोरूममा काम थालेकी थिइन्। त्यसअघि उनी घरेलु कामदारका रूपमा काम गर्दै आएको बुझिएको प्रहरीले जनाएको छ।
उनको स्थायी ठेगाना सिन्धुपाल्चोक भएको बुझिए पनि अझै पालिका र वडा यकिन भइनसकेको कास्की प्रहरीले जानकारी दिएको छ।