मोरङ, २२ असार । भारत–नेपाल सीमावर्ती क्षेत्र रंगेलीमा लागुऔषध कारोबार रोक्न थालेको प्रहरी सक्रियताले फेरि एकपटक ठूला कारोबारीलाई समात्न सफल भएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले दुई राउन्ड हवाई फायर गर्दै तीनजनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये एक जना भारतीय नागरिक हसिना खातुन (४५) हुन्, जो ४२५ ग्राम खैरो हेरोइनसहित पक्राउ परेकी हुन्। साथमा रहेका रंगेली नगरपालिका–८ का किर्तानन्द ठाकुर (५५) र सुशिल बुढाथोकी (३८) हेरोइन किन्न पुगेका थिए।
घटनाको नेतृत्व प्रहरी निरीक्षक राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलको टोलीले गरेको थियो। ब्युरोले केही सातादेखि भारतीय सञ्जालमार्फत ठूलो मात्रामा खैरो हेरोइन नेपाल भित्रिन लागेको सूचनाका आधारमा निगरानी बढाएको थियो। खातुनलाई भारतबाट ल्याइएको हेरोइनसहित पक्राउ गर्ने योजना सफल भएको हो।
ब्युरोका एक अधिकारीका अनुसार खातुनको परिवार नै लामो समयदेखि भारतमा लागुऔषध तस्करीमा संलग्न छ। “हामीलाई सुरुमा पुरुष आउँछ भन्ने खबर थियो, तर खातुन आइन्,” ती अधिकारीले बताए।
प्रहरीले पक्राउ प्रयास गर्दा तीनै जना भाग्न खोजेपछि दुई राउण्ड हवाई फायर गरिएको थियो। फायरपछि खातुन भने नभागी त्यहीँ थामिइन्। प्रहरीले तिनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।
पछिल्ला केही वर्षमा नेपालमा १००–३०० ग्रामसम्मको खैरो हेरोइन फेला पर्ने गरेको थियो। तर, योपटक बरामद भएको ४२५ ग्राम हेरोइन पछिल्लो ५ वर्षयताकै सबैभन्दा ठूलो परिमाण भएको प्रहरीले जनाएको छ।
यति ठूलो मात्रामा हेरोइनसहितको गिरफ्तारीले भारत–नेपाल सीमाक्षेत्रमा सक्रिय अन्तरदेशीय तस्कर सञ्जालको अस्तित्व पुष्टि गरेको छ। प्रारम्भिक अनुसन्धानले खातुनसँग आबद्ध व्यक्तिहरूको खोजी भइरहेको बताइएको छ।