नवलपुर, २२ असार । नवलपुरको कावासोती–४ हसौरामा दशकौँदेखि स्थानीयले जोत्दै आएको करिब ७० विघा जमिन हडपेको आरोपमा नेकपा बहुमतले क्यूप्रसाद बस्याललाई कालोमोसो दल्दै सार्वजनिक रूपमा कारवाही गरेको छ।
आरोप अनुसार बस्यालले उक्त जमिन जालसाजीमार्फत आफ्नो नाममा पास गराएर, त्यसलाई फिर्ता गरिदिने भन्दै स्थानीयसँग पैसा उठाउने तर पछि अस्वीकार गर्ने, झन पीडितहरूलाई मानसिक रूपमा दबाब दिने काम गर्दै आएका थिए।
नेकपा बहुमत नवलपुरका जिल्ला सेक्रेटरी अमर गोपालीका अनुसार, “जनताको ढाड सेकेर कमाउने यस्ता व्यक्तिहरूमाथि चेतावनीका रूपमा यो सांकेतिक कारवाही गरिएको हो।”
बस्याल हाल देवचुली नगरपालिकामा बसोबास गर्दै आएका छन्। कालोमोसो दलिएको घटना पनि देवचुलीमै भएको हो। पार्टीद्वारा सार्वजनिक गरिएको भिडियोलाई हेर्दा मोसो दलिएपछि उनी भाग्दै गरेको देखिन्छ।
स्थानीय तहको प्रयास असफल, पार्टीको चेतावनी
कावासोती–४ का वडाध्यक्ष नारायण लोहोनीले यसअघि पनि जग्गा फिर्ता गराउन स्थानीय सरकारको तर्फबाट प्रयास भएको तर कानुनी जटिलता र प्रभावशालीहरूको संलग्नताले प्रक्रिया अघि नबढेको बताए।
घटनापछि नेकपा बहुमतले विज्ञप्ति जारी गर्दै बस्यालमाथिको कारवाहीको जिम्मा लिएको छ। विज्ञप्तिमा भनिएको छ, “जनताको जमिन जनतालाई फिर्ता गरिएन भने अझ कडा कदम चालिनेछ।”
‘जनकारवाही’को बढ्दो संकेत
हालका दिनहरूमा जग्गा हडपेर पीडितहरूबाट नै पुनः पैसा असुल्ने प्रवृत्तिले गाउँ–शहरमा आक्रोश चुलिएको छ। तर, राज्यले यस्ता भूमाफियामाथि कानुनी रूपमा कठोर कारवाही गर्न चासो नदिँदा स्थानीय स्तरमै ‘जनकारवाही’को संख्या बढ्ने संकेत देखिएको छ।