News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

बिमाको लोभमा आफ्नै पसलमा आगो लगाउँदा प्रहरी फन्दामा सुजन गहतराज

पोखरा, २१ साउन । बिमाको लोभमा आफ्नै पसलमा आगो लगाउँदा सुजन गहतराज र उनका साथी प्रहरी फन्दामा परेका छन् । प्रहरीले पोखरा ड्यामसाईडका पसल सञ्चालक ३६ वर्षीय गहतराज र उनका साथी बिरौंटा बस्ने ४३ वर्षीय पवन नेपाललाई शनिबार पक्राउ गरेको हो ।

पोखराको बैदामस्थित नारेश्वरचोकमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा विद्युत सर्ट भई आगजनी भएको दावी गरिए पनि प्रहरी अनुसन्धानका क्रममा विमा रकम दावी गर्न सञ्चालक गहतराज आफैंले साउन १६ गतेको विहान २ बजेतिर आगजनी गरेको भेटिएको हो ।

सञ्चालक सुजनले आफूले केही दिनअघि नयाँ इन्भर्टर जडान गरेको र उक्त इन्भर्टरको वायरिङ सर्ट भई आगजनी भएको दावी गरेपनि प्रहरीले अनुसन्धानका क्रममा ईन्भर्टर जडान गर्ने व्यक्ति र नेपाल विद्युत प्राधिकरणमा सोधपुछ गरेको थियो । सोधपुछका क्रममा ईन्भर्टर जडान गर्ने व्यक्तिले आगो नलाग्ने बरु बिग्रन सक्ने र विद्युत प्राधिकरणका कर्मचारीले आफ्नो तर्फबाट कुनै कैफियत नरहेको बताएपछि सञ्चालकमाथि नै प्रहरी शंकाको सुई सोझ्याएको थियो ।

अनुसन्धान गर्दै गर्दा सञ्चालक गहतराजले असार १५ गते हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको न्युरोड कार्यालयबाट पसलको बिमा गरेको र आगलागी भएको भोलिपल्ट साउन १७ मा २ करोड १० लाख रुपैयाँ बिमा दाबी गर्दै निवेदन दिएको तथ्य फेला परेको थियो । त्यसो त गहतराजले पसलमा भएको आगजनीका विषयमा अनुसन्धान गर्न वडा प्रहरी कार्यालय बैदाममा पनि निवेदन दिएका थिए ।

प्रहरीले गरेको अनुसन्धान र सोधपुछका क्रममा गहतराजले आफ्नो पसल नचलेको, सामान धेरै स्टक रहेको र घरबेटीसँग भाडाका विषयमा विवाद भइरहे पछि आफ्ना साथी पवनसँग सरसल्लाह लिएर यो घटना गरेको तथ्य खुलेको थियो ।

पवनले पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट आफूले सञ्चालन गरेको सफल पोल्ट्री फार्ममा आगो लाग्दा बिमा कम्पनीबाट ३१ लाख रुपैयाँ पाएको सुजनलाई बताउन पुग्छन् । आफू समस्यामा परेको र बिमा कम्पनीबाट फाईदा लिन सकिने देखेपछि गहतराजले आफ्नै पसलमा आगो लगाउने योजना बनाउन पुग्दछन् । र, साथी पवनलाई पनि योजनामा संलग्न गराउन पुग्दछन् ।

योजनामुताविक पानी परेको दिन सबै मानिस सुत्ने र खासै चहलपहल नहुने साथी पवनको सुझाव अनुसार आगो लगाउने सरसल्लाह हुन्छ । गहतराजले घरबाट गाडीमा स्प्रिटको ग्यालेन समेत राख्दछन् । घटना भएको दिन राति करिब ११ बजे गहतराज र पवन मिलेर पोखरा–१७ ड्यामसाइडको फेवा झिर रेष्टुरेण्टमा ५ वटा बियर पिउँछन् । र, सोही दिन पानी परेको हुँदा योजना कार्यान्वयन गर्ने सोंचमा उनीहरु पुग्दछन् ।

गहतराजले चलाउने गरेको ग३च ६२६६ नम्बरको गाडीमा दुवै जना बस्छन् । उनीहरु सपिङ सेन्टर भित्र बाहिर गरिरहन्छन् । दुवैजना १०/१५ मिनेटभित्र बसेर स्प्रिट छर्केपछि बाहिर निस्क्छन् । गहतराज तालबाराही स्कुलतिर लाग्छन् भने बाहिर उभिएका उनका साथी पवनले सटरमा सलाई कोरेर आगो लगाई दिन्छन् ।

करिब २ बजेर १० मिनेटमा उक्त सपिङ सेन्टरमा आगलागी भएपछि पोखरा महानगरपालिकाद्वारा संचालित दमकल, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी र ठूलो संख्यामा स्थानीयवासीको सहयोगमा राति नै ३ बजेर उक्त आगो नियन्त्रणमा आएको थियो ।

यसरी आफैंले पसलमा आगजनी गरेपछि गहतराज र उनका साथी पवनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले ‘आपराधिक उपद्रव गर्न नहुने’ शीर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाउको छ ।