News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज डन न्यूज खोज प्रमुख समाचार

डिजेल चोरी गर्ने कार्यालय प्रमुख दास र व्यापारी बाबुरामलाई कारवाही गर्न अख्तियारमा सिफारिस

यसरी चोरिएको पेट्रोल र डिजेलको पैसा पम्प सञ्चालकहरुले केही हिस्सा आफैंले राखेर बाँकी सबै रकम कार्यालय प्रमुख चितरञ्जन दासलाई नगदैं बुझाउँदैं आईरहेको स्रोतले बताएको छ । यसपटक डिजेल चोरीमा लेखनाथ उद्योग वाणिज्य संघमा दुईपटक अध्यक्ष भइसकेका पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जम्मरकट्टेल संलग्न देखिएका छन् ।

पोखरा, २७ साउन । नेपाल आयल निगम लिमिटेडका गण्डकी प्रादेशिक प्रमुख चितरञ्जन दास र व्यापारी बाबुराम जम्मरकट्टेलसहित इन्धन चोरीमा संलग्नलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा शुक्रबार नैं सिफारिस गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले कार्यालय प्रमुख दास कैं संलग्नतामा पेट्रोलियम पदार्थको चोरी भएकोमा यस घटनामा अख्तियार दुरुपयोग भएको देखिएको हुँदा थप अनुसन्धान र छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा पठाईएको जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले भने–‘डिजेल चोरीको विषयमा अख्तियार प्रमुखलाई सम्पूर्ण जानकारी गराईएको छ । गगनगौंडा डिपोमा कार्यालय प्रमुख कैं संलग्नतामा पेट्रोलियम पदार्थको चोरी र हिनामिना धेरै परिमाणमा भएको हुन सक्ने स्थिति देखिएपछि थप अनुसन्धान र आवश्यक कारवाहीका लागि अख्तियारमा पठाउने निर्णय गरेका हौं ।’

पोखरा महानगरपालिका वडा नं.२७ मा रहेको बाबुराम जम्मरकट्टेलको पश्चिमाञ्चल ट्रेडर्स नामको पेट्रोल पम्प ।

जिल्ला प्रशासनको एक टोलीले गोप्य सूचनाका आधारमा निगममा बिहीबार दिउँसो २ बजेर ५४ मिनेट जाँदा डिजेल भरेर ग२ख ८३६ नम्बरको ट्यांकर निस्किएदेखि नैं पिछा गरिरहेको थियो । पोखरा महानगरपालिका वडा नं. २७ स्थित पश्चिमाञ्चल ट्रेडर्स नामको पेट्रोल पम्पमा डिजेल खन्याउन जाने बेलामा दिउँसो ३ बजेर १५ मिनेट जाँदा टोलीले तालचोक नजिकबाट ट्यांकरलाई नियन्त्रणमा लिएर नजिकैको डाँडाको नाक प्रहरी चौकीमा लगेको थियो ।

कार्यालय प्रमुख दास नै पेट्रोलियम पदार्थ चोरीमा संलग्न हुन थालेपछि डेढ महिना अघिदेखि नै जिल्ला प्रशासन कार्यालय कास्कीमा गोप्य सूचनाहरु आईरहेका थिए ।

प्रशासनको टोलीले ट्यांकर चालक निर्मल थापालाई तत्कालै पक्राउ गरी प्रहरीको जिम्मा लगाएर अनुसन्धान अगाडि बढाएको थियो । प्रहरी चौंकीमा ट्यांकर मालिक पश्चिमाञ्चल ट्रेडर्स सञ्चालक बाबुराम जम्मरकट्टेल र निगमका प्रादेशिक प्रमुख दासलाई प्रशासनको टोलीले ट्यांकर नापजाँचका लागि तत्कालै बोलाएको थियो । व्यापारी जम्मरकट्टेल आएपनि कार्यालय प्रमुख दासले भने विभिन्न वाहनावाजी गर्दै मोवाइल नै स्वीचअफ गरी सम्पर्कविहिन भएका थिए ।

प्रशासनको टोलीसँग प्रादेशिक प्रमुख दासले प्रहरीसँग कुरा गरेर ट्यांकरलाई छोडिदिन आग्रह गरिरहेका थिए । ‘सबै ठिक छ हजुर, प्रहरीसँग कुरा गरेर ट्यांकरलाई छोडिदिनुस्’, टोलीसँग प्रमुख दासले यसरी अन्तिम समयसम्म पनि ट्यांकरलाई छुटाउन कोसिस गर्दै थिए । दासले पेट्रोल पम्पहरुलाई बढि तेल दिएर आर्थिक लाभ लिने गरेको गोप्य सूचनापछि प्रशासन चनाखो बनेको थियो ।

प्रशासनको टोलीले कि तपाई आउनुस्, नभए प्रशासनको गाडी पठाई दिन्छौं, त्यसैंमा प्रहरी चौकीमा आउनुस् भन्दै फोनमा कुरा भईरहँदा दासले मोवाईल स्वीचअफ गरी कार्यकक्षमा तालाचापी लगाई तत्कालै सम्पर्कविहिन भएका थिए । कार्यालय प्रमुख दास गायव भएपछि निगमका सहायक प्रवन्धक एवम् सूचना अधिकारी श्रीधर लामिछानेको उपस्थितिमा टोलीले ट्यांकरमा रहेको डिजेलको परिमाण नापजाँच गरेको थियो ।

निगमका अपरेसन इञ्चार्जदेखि अन्य कर्मचारीले गर्नुपर्ने कामहरु कार्यालय प्रमुख दासले नै गर्दै आईरहेका थिए ।

टोलीले डिजेल नापजाँचका क्रममा ३१ सय ९ लिटर डिजेल बढी देखिएको थियो । बिलमा १२ हजार लिटर डिजेल भरिएको उल्लेख थियो । तर नापजाँचका क्रममा १५ हजार लिटर भन्दा बढी डिजेल भेटिएको थियो ।

कार्यालय प्रमुख दासले अन्य कोही पनि कर्मचारीलाई संलग्न नगराई सोही दिन पनि आफैंले ट्यांकरको चलान, विल र गेटपासमा सहीं गरेका थिए । निगमका अपरेसन इञ्चार्जदेखि अन्य कर्मचारीले गर्नुपर्ने कामहरु कार्यालय प्रमुख दासले नै गर्दै आईरहेका थिए ।

एकातर्फ डिपोबाट बिक्री हुने इन्धनको नापजाँच गर्न (डिप लिने) कार्यालयका अपरेसन इञ्चार्ज परशुराम अधिकारीलाई नदिई दासले आफै गर्ने गर्थे । गत असोजमा सरुवा भई प्रमुखका रुपमा आएका दास विवादित पात्र हुन् । उनी त्यहाँ आएदेखि नै इन्धन अपचलनको घटना निकै बढिरहेको थियो ।

डिजेलमा ०.२ प्रतिशत र पेट्रोलमा ०.८ प्रतिशत परिमाण घट्नु सामान्य भएपनि कार्यालय प्रमुख दास आएदेखि नोक्सान असामान्य ढंगले बढ्दै गईरहेको थियो । कार्यालय प्रमुख दास नै पेट्रोलियम पदार्थ चोरीमा संलग्न हुन थालेपछि डेढ महिना अघिदेखि नै जिल्ला प्रशासन कार्यालय कास्कीमा गोप्य सूचनाहरु आईरहेका थिए ।

निगमका कर्मचारीहरुका अनुसार पेट्रोलियम पदार्थको स्टक कति छ भन्ने कुरा पनि आफ्नै डायरीमा लेखेर लैजाने र कार्यकक्षमा कसैलाई पनि प्रवेश समेत गर्न नदिने हुँदा त्यहाँ भईरहेको हिनामिना र चोरी असामान्य नै देखिन्छ । यसअघि सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीको प्रमुख हुँदा पनि निगमका सवारीसाधनमा चाहिनेभन्दा बढी तेल प्रयोग गरेको बिल बनाई इन्धन अपचलन गर्ने गरेको आरोप दासमाथि लागेको थियो ।

प्रशासनले बिहीबार ट्यांकर नियन्त्रणमा लिए पछि सम्पर्कविहिन भएका कार्यालय प्रमुख दास शुक्रबार कार्यालयमा उपस्थित भएनन् । शुक्रबार पुनः जिल्ला प्रशासन कार्यालय कास्कीको टोलीले डिपोमा पुगी आवश्यक कागजपत्रहरु संकलन गरेर ल्याएको थियो । कार्यालय प्रमुख दासको कोठामा ताला लागेकोले सिसिटिभी फुटेज लगायतका महत्वपूर्ण अन्य कागजपत्रहरु प्रशासनको टोलीले भने झिक्न पाएनन् । तर अख्तियारले अनुसन्धान प्रारम्भ गरेपछि यी प्रमाणहरु संकलन हुनेमा निगमका कर्मचारीहरु विश्वस्त छन् ।

यसरी चोरिएको पेट्रोल र डिजेलको पैसा पम्प सञ्चालकहरुले केही हिस्सा आफैंले  राखेर बाँकी रकम कार्यालय प्रमुख चितरञ्जन दासलाई नगद बुझाउँदैं आईरहेको स्रोतले बताएको छ । यसपटक डिजेल चोरीमा लेखनाथ उद्योग वाणिज्य संघमा दुईपटक अध्यक्ष भइसकेका पश्चिमाञ्चल ट्रेडर्सका सञ्चालक बाबुराम जम्मरकट्टेल संलग्न देखिएका छन् । उनकै निजी ट्यांकरले सोही पम्पमा डिजेल ल्याएको अवस्थामा प्रशासनको टोलीले नियन्त्रणमा लिएको थियो ।

बिहीबार राती ट्यांकर चालकलाई थुनामा राखी अनुसन्धान भईरहेको भए पनि शुक्रबार छोडिएको छ । ट्यांकर भने प्रहरी नियन्त्रणमा रहेको छ । डिजेल चोरीमा संलग्न कार्यालय प्रमुख दास र व्यापारी बाबुराम जम्मरकट्टेल लगायतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले के कस्तो कारवाही गर्छ, त्यो भने हेर्न नै बाँकी छ । यो धन्दामा गण्डकी प्रदेशका धेरै पेट्रोल पम्पहरुको संलग्नता रहेको देखिन्छ । जुन अख्तियारको छानबिनपछि पनि थप पुष्टि हुने नै छ ।

प्रादेशिक प्रमुख चितरञ्जन दास निलम्बित
नेपाल आयल निगमको शुक्रबार बसेको बैठकले गण्डकी प्रादेशिक प्रमुख चितरञ्जन दासलाई निलम्बन गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले भने–‘निगम व्यवस्थापनको निर्णयले गण्डकी प्रादेशिक प्रमुख दासलाई अनुसन्धान पुरा नहुँदासम्मका लागि ४५ दिन निलम्बन गरिएको छ ।’

आयल निगमले डिजेल चोरी गरी बिक्री गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन पश्चात् दोषी भएमा कार्यालय प्रमुख दासलाई बखास्त गर्दै थप कारवाही गर्नेछ ।