तनहुँ, २३ फागुन । नाबालिकामाथि जवरजस्ती करणीको आरोप लागेर पक्राउ परेका कलाकार पूर्णविक्रम शाह (पल)लाई अनुसन्धानका लागि थप १२ दिन हिरासतमा राखेर अनुसन्धान हुने भएको छ । यस अघि जिल्ला अदालत तनहुँले पल शाहलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
जवरजस्ती करणीको आरोप लागेपछि कलाकार पल शाह आफैं जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर गत आइतबार आत्मसमर्पण गरेका थिए । उनी विरुद्ध नवलपुरको गैंडाकोटमा पनि जबरजस्ती करणीकै उजुरी परेको छ ।
कलाकार शाहका पक्षमा प्रहरी कार्यालय अगाडि मानिसहरुको भीडभाड हुनुका साथै सामाजिक सञ्जाल युट्युव लगायतमा पीडित नाबालिकाप्रति विभिन्न आरोप लगाउँदै अभिव्यक्तिहरु सार्वजनिक भएका थिए ।
जवरजस्ती करणीको मुद्दामा पीडितलाई नै मानसिक यातना हुने गरी व्यक्त भएका अभिव्यक्तिहरुलाई नियन्त्रण गर्न युट्युब च्यानलहरुलाई कडाई गरिएको छ । अब युट्युव च्यानलहरु विधिवत रुपमा दर्ता भएर र प्रचलित कानुनको अधिनमा रहेर सञ्चालन हुनुपर्ने भएको छ ।