News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

पोखरा महानगरपालिकाको मेयरमा चर्चा चलेका कांग्रेसीनेताहरु

पोखरा, १९ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पोखरा महानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसबाट धेरै नेताहरुको नाम चर्चामा आएको छ । युवाउद्यमीदेखि महिलानेतृ हुँदै पूर्वमन्त्री, वाहलवाला मन्त्री र पूर्वसचिवसम्मको नाम पोखराको मेयरको रुपमा चर्चामा आएको हो ।

एकातर्फ कांग्रेस लगायत सत्तारुढ दलहरुको गठबन्धनको आज बसेको बैठकले महानगरपालिकाका सन्दर्भमा केन्द्रबाट नै निर्णय गर्ने सहमति भएको छ । जसका लागि नेताहरुले आ–आफ्नो च्यानल प्रयोग गर्दै भित्र–भित्रै लबिइङ समेत शुरु गरिसकेका छन् । त्यस्तै महानगरबाहेक उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको हकमा भने तालमेल गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाई नै दिने निर्णय भएको छ ।

नेपाली कांग्रेसबाट यतिबेला पोखराको मेयरको उमेद्वारका रुपमा युवाउद्यमीदेखि वहालवाला मन्त्री, पूर्वसचिव र संघका पूर्वमन्त्रीसम्मको चर्चा चलिरहेको छ । संघका पूर्वकानुनमन्त्री यज्ञबहादुर थापा, नेपाल सरकारका पूर्वसचिव बाबुराम आचार्य, प्रदेशका बहालवाला कानुनमन्त्री बिन्दुकुमार थापा, कास्की कांग्रेस सभापति किशोरदत्त बराल, पूर्ववडाध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसी, नेपाली कांग्रेस पोखरा नगर समितिका पूर्वसभापति बजिरमान श्रेष्ठ, विश्वशंकर पालिखे, गंगाधर पराजुली, युवाउद्यमीहरु सिरोजविजय कोइराला र किरण केसी, महिला नेतृहरुमा लक्ष्मी पाण्डे, सरस्वती गुरुङ, माया बराल, नम्रता बराल र कांग्रेसका जिल्ला सचिव सुदीपमोहन भट्टराई लगायतको नाम चर्चामा रहेको छ ।

क्षेत्रफलको हिसाबले देश कैं सबैभन्दा ठुलो महानगरपालिकाका रुपमा चिनिएको पोखरा महानगरपालिका पोखरा उप–महानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमानी (३,९), कास्कीकोट माझठाना (१,४,९) कालिका (१,५) र पुरन्चौर गाउँ विकास समिति मिलेर बनेको हो । पोखरा महानगरपालिका यतिबेला ३३ वटा वडामा विभाजित रहेको छ । यस महानगरपालिकाको कुल जनसंख्या भने चारलाख दुईहजार नौंसय ९५ रहेको छ । जसमा कुलमतदाता संख्या भने दुईलाख ७ हजार सातसय १२ रहेको छ ।

मेयरका दावेदारहरुको संक्षिप्त परिचय :
पूर्वकानुनमन्त्री यज्ञबहादुर थापाः
पूर्वकानुनमन्त्री तथा नेपाली कांग्रेस कास्कीका सभापति समेत भईसकेका थापा पोखरामा इमान्दार छवि बनाएका नेता हुन् । वाककलामा निपुण उनको सम्पूर्ण जीवन नेपाली कांग्रेसको राजनीतिमा नै समर्पण गरेका छन् । यतिबेला पूर्वमन्त्री थापाको नाम पनि पोखराको मेयरको रुपमा चर्चामा आईरहेको छ । प्रजातन्त्र स्थापना, लोकतन्त्र र गणतन्त्रको आन्दोलनमा अग्रमोर्चामा रहेर आन्दोलनको नेतृत्व गरेका थापा कास्कीका लोकप्रिय नेताहरु मध्येका एक हुन् ।

नेपाल सरकारका पूर्वसचिव बाबुराम आचार्य:
नेपाल सरकारका पूर्वसचिवसमेत रहेका बाबुराम आचार्य सचिवबाट अवकाश पाएसँगै २०६७ सालदेखि कांग्रेसमा क्रियाशील भई तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाको प्रशासनिक सल्लाहकार समेत रहेका थिए । भूमिसुधार मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, श्रम तथा यातायात मन्त्रालयमा काम गरेको अनुभव आचार्यसँग छ । यसबाहेक उनले नापी विभागको महानिर्देशक समेत भएर काम गरेका छन् ।

नेपाल भारत सीमा समाधान बैठकको नेतृत्व, निर्वाचन क्षेत्र निर्धारण आयोगको सचिव, सुकुम्बासी समस्या समाधान केन्द्रीय आयोगको सदस्य सचिव, वन सुदृढीकरण आयोगको सदस्य लगायतका थुप्रै र महत्वपूर्ण बैठकमा उनले नेपाल र सरकारको प्रतिनिधिको रूपमा काम गरेका छन् । संयुक्त राष्ट्रसंघको स्वयंसेवक भएर उनी कम्बोडिया पुगेका थिए । यस्तै, बेलायतमा रोयल इन्स्टिच्युसन अफ चार्डर्ड सर्भेयर्स, काठमाण्डौ विश्वविद्यालयको प्राज्ञिक परिषदको सदस्यसमेत भएर काम गरेका आचार्यले पोखराको विकासमा पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, विभिन्न सामाजिक क्षेत्रमा योगदान गरेका छन् । आचार्य तीनै व्यक्ति हुन, जो अख्तियारको प्रमुख आयुक्तमा सिफारिस हुँदा प्रचण्डका कारण नियुक्त हुन पाएका थिएनन् ।

कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापा :
उद्योग वाणिज्य संघ, पोखराका पूर्वअध्यक्ष, नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी, अटो क्षेत्र हुँदै रियल स्टेट व्यापारबाट धनाढ्यको परिचय बनाएका नेता विन्दुकुमार थापा यतिबेला गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री छन् । उद्योग वाणिज्य संघको अध्यक्ष भएपश्चात् मात्र मन्त्री थापा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका हुन् । तर थापा एक यस्ता पात्र हुन्, जतिबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले देशका धेरै क्षेत्रमा चुनाव जित्दा कास्कीमा कांग्रेसलाई ‘क्लिन स्वीप’ हुनबाट जोगाएका थिए ।

कास्की कांग्रेस सभापति किशोरदत्त बराल :
हाल नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल पोखराको भद्रकाली क्याम्पसको संस्थापक क्याम्पस प्रमुख हुन् । शिक्षक संघको नेतृत्व गरेर पार्टी भित्र बौद्धिक नेताको छवि बनाएका नेता हुन् । विशेष गरी नेताहरुलाई उद्यमशिल बनाउनुपर्ने र एग्रो टुरिजमलाई अभियानको रुपमा उनले चलाउँदै आईरहेका छन् । कास्की कांग्रेसको सभापति भएपछि फरक ढंगले कार्यकर्ताहरुलाई प्रशिक्षण र एकतावद्ध गर्नमा बराल निकै सक्रिय भएर लागेका छन् । फरक खालको कार्यशैलीका कारण उनले छोटै समयमा पनि बेग्लै छाप पार्न सफल भएका छन् ।

पूर्ववडाध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे :
२०५४ सालको स्थानीय तहको चुनावमा पोखरा ८ बाट वडा अध्यक्षका रूपमा विजयी भएका वीरेन्द्रनारायण बिजुक्छे कुशल र सफल जनप्रतिनिधिका रूपमा चर्चित बनेका थिए । पार्टीको विभिन्न तहमा क्रियाशील रहेका विजुक्छेले नेपाली काँग्रेसको जिल्ला सदस्य, तरुण दलको कोषाध्यक्ष, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, सूचना तथा प्रचारप्रसार विभागको केन्द्रीय सदस्यको भूमिका निर्वाह गरिसकेका छन् ।

राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय विजुक्छेले आफ्नो वडाका शैक्षिक संस्थामा उल्लेखनीय योगदान दिएका छन् । श्रीराम आधारभूत विद्यालयमा अध्यक्ष, जनप्रिय माध्यमिक विद्यालयमा अध्यक्ष, जनप्रिय बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्य र सल्लाहकार भइसकेका छन् । सिर्जना विकास केन्द्रको उपाध्यक्ष र नेपाल रेडक्रस सोसाइटी कास्कीमा आवद्ध विजुक्छेले दोस्रो जनआन्दोलनपछिको पोखरा महानगरपालिकाको संयन्त्रमा बोर्ड सदस्य रहेर विकास निर्माण र सेवा प्रवाहमा योगदान दिएका छन् ।

कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसी :
नेपाली कांग्रेस कास्कीका निर्वतमान सभापति कृष्ण केसीको नाम पनि यतिबेला मेयरको लागि चर्चामा रहेको छ । मेयरका लागि नेता केसीले पार्टीको माथिल्लो तहसम्म लबिइङ गरिरहेका छन् । कास्की कांग्रेसको सभापतिमा छँदा केसीले सबैलाई मिलाएर पार्टी सञ्चालन गर्नुका साथै अन्य दलहरुसँग पनि समन्वयकारी भूमिका निर्वाह गर्दै आईरहेका थिए ।

नेपाली कांग्रेस पोखरा नगर समितिका पूर्वसभापति बजिरमान श्रेष्ठः
नेपाली कांग्रेसका पुराना एवं इमान्दार नेताका रुपमा परिचित छन् नेपाली कांग्रेसका पोखरा नगर समितिका पूर्वसभापति बजिरमान श्रेष्ठ । पोखरा महानगरपालिकाको मेयरका रुपमा यतिबेला नेता श्रेष्ठको नाम पनि चर्चामा रहेको छ । राजनीतिमा जीवन नै समर्पण गरेका श्रेष्ठ कहिल्यै पनि शक्ति र पहुँचको गलत प्रयोग नगर्ने इमान्दार, हक्की र निडर नेताका रुपमा पोखरामा परिचित छन् । प्रजातन्त्रको लागि प्रतिबन्धको संकटपूर्ण अवस्थादेखि सम्पूर्ण आन्दोलनहरुमा होमिदैं आएका श्रेष्ठ सबैसँग घुलमिल भएर काम गर्न सक्ने व्यक्ति हुन् ।

पर्यटन एवं सञ्चार उद्यमी विश्वशंकर पालिखे :
प्रजातन्त्र स्थापनाका लागि त्याग र बलिदान दिएको पालिखे परिवारका व्यक्ति हुन् विश्वशंकर पालिखे । पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष समेत भईसकेका पालिखे पर्यटन र सञ्चारक्षेत्रसँग पनि सम्बन्धित छन् । विशेष गरी अन्तर्राष्ट्रिय सम्बन्धमा पनि राम्रो दख्खल राख्ने उनले पोखराको सडकहरुलाई उज्यालो बनाउने काममा चिनसँग सोलार बत्तीहरु ल्याएर जडान समेत गरेका थिए । चिनसँग विशेष नजिक भनेर चिनिएका पाखिलेले सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन् । यतिबेला पोखराको मेयरमा उमेदवारी दिने भनेर आफैंले सार्वजनिक घोषणा समेत गरेका पालिखे टिकट ल्याउनका लागि लागिपरेका छन् । मेयरको टिकट पाएमा अवश्य पनि जित हासिल गर्ने उनको विश्वास छ ।

युवा नेता तथा पत्रकार गंगाधर पराजुली :
पोखरामा रहेरपनि पत्रकारिताको माध्यमबाट राष्ट्रिय पहिचान बनाउन सफल व्यक्तित्व हुन् गंगाधर पराजुली । करिब २५ वर्ष पत्रकारिता पेशा र पत्रकारिताको राजनीतिमा निरन्तर सक्रिय रहेका कारण पनि पराजुलीको प्रभाव आमजनताहरु माझ राम्रो मानिन्छ । शिक्षक भएर पनि पञ्चायत विरुद्धको आन्दोलनमा सक्रिय भएको भन्दै प्रहरी सुरक्षाकर्मीहरुले विद्यालय घेरा हाली उनलाई पक्राउमात्र गरेनन्, निर्मम कुटपिट र यातना दिंदै ८/१० घण्टा पैदल हिडाउदै पोखरा ल्याएर करिब २ महिनासम्म जेलमा राखेको थियो । २०४६ चैत्र २६ गते राति पञ्चायती व्यवस्थाको अवसान र बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाको घोषणा भएपछि मात्र उनी जेलमुक्त भएका हुन । स्वतन्त्रता, प्रजातन्त्र र मानव अधिकार सहित पत्रकारितामा विशेष रुचिका कारण पत्रकारितामा होमिएका पराजुलीले नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ र लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिका उपसभापति र उपाध्यक्ष भएर काम गरिसकेका छन् ।

युवा नेता तथा उद्यमी सिरोज कोइराला :
कोइराला परिवारको राजनीतिक पृष्ठभूमि, प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुसँग बाल्यकालदेखि नै परिचित सिरोज कोइला युवा उद्यमी एवं आध्यात्मिक व्यक्तित्वका रुपमा परिचित छन् । विश्वविद्यालयको औपचारिक शिक्षा पुरा गरेपछि व्यवसायिक र उद्यमशिलतामा चर्को र खरो उत्रिएका उनी तन्नेरी पुस्ताका माझ फरक र पृथक छवि बनाउन सफल छन् । स्पष्टवक्ता, ईमान्दार, तार्किक र अध्ययनशिल युवा नेता पोखराको विकासका लागि युवाहरुले चर्चामा ल्याएको नाम हो । आफ्नो सोंच, सपना र दृष्टिकोणलाई जबरजस्त स्थापित गराउन हठि स्वभावका उनलाई कांग्रेस भित्र रहेका पाका तथा युवा वर्गले मन पराउँछन् ।

युवा नेता तथा उद्यमी किरण केसी:
सूर्यबहादुर केसीका उत्तराधिकारी किरण केसी नेपाली कांग्रेसमा पछिल्लो समय सबैले चिनेको र मन पराईएका पात्र हुन् । बुबाको मृत्युपश्चात् समस्त उद्योगधन्दा र व्यवसायलाई उस्तै गतिमा सञ्चालन गर्न सफल युवा नेता किरण पोखराको विकासका लागि मेयरको रुपमा आउनु पर्ने आवाज उठिरहेको छ । हाइड्रोपावर, बैकिङ क्षेत्रदेखि उद्योगधन्दा सञ्चालनमा खटिई रहेका किरणलाई आधुनिक पोखराको विकासका लागि मेयरको चर्चामा ल्याईएको छ ।