News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

श्रमिक बालबालिकालाई शैक्षिक सामग्री र पोशाक

पोखरा, १० असार । पोखरा उद्योग वाणिज्य सङ्घअन्तर्गत सञ्चालित बालश्रम न्यूनीकरण कार्यक्रममार्फत पोखरा नगरभित्रका न्यून आय भएका एक सय छ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक हस्तान्तरण गरिएको छ ।

आर्थिक दूरावस्थाकै कारण विद्यालय छाडेका, छाड्ने जोखिम भएका, विद्यालय नियमित नभएका तथा श्रममा रहेका तथा यसै शैक्षिकसत्रमा विद्यालय भर्ना भएका विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको बालश्रम न्यूनीकरण कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनले जानकारी दिनुभयो ।

विद्यार्थीलाई गण्डकी प्रदेशसभा सदस्य एवं पोखरा उद्योग वाणिज्य सङ्घका समेत पूर्वअध्यक्ष विन्दुकुमार थापालगायतले शनिबार आयोजित कार्यक्रममा शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य थापाले विद्यार्थीलाई विद्यालय नछाड्न आग्रह गर्दै आवश्यकतानुसार सघाउने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्यले घरेलु कामदारका रूपमा रहेका श्रमिक बालबालिकाको पढ्ने अधिकार सुनिश्चित गराउने अभियानमा समाजले नै सघाउनुपर्ने धारणा राख्नुभयो ।

महासचिव बलराम आचार्य, बालश्रम न्यूनीकरण कार्यक्रमका परियोजना अधिकृत प्रिती पाण्डे, सफल घिमिरेलगायतले पढ्न पाउनु प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार भएको र समाजमा कोही पनि यसबाट बञ्चित हुन नहुनेमा जोड दिनुभयो ।