News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यात फरार

चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ, २२ असार । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

उहाँका अनुसार पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन् । बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजान भू–माफियासँग मिलेर नेपाल सरकारको सचिव हुँदा बस्न्यातले पनि सरकारी लिखत किर्ते गरेको आरोप छ ।

भूमिसुधार मन्त्रालयको सचिव हुँदा उनले ललितानिवाससम्बन्धी पटक–पटक पत्राचार र निर्णय गरेका थिए ।

ललिता निवास प्रकरणमा चारजना पूर्वसचिवविरुद्ध प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको हो । ललिता निवासको एक सय १४ रोपनी जग्गा व्यक्तिको नाममा कीर्ते गरेर किनबेच गर्नेमाथि प्रहरीले फेरि अनुसन्धान सुरु गरेको हो ।