News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

त्रिभुवन विमानस्थलबाट झन्डै एक करोड बराबरको सुन र आइफोनसहित तीन पक्राउ

काठमाडौं, २० माघ । प्रहरीले जति कडाई गरे पनि नेपालमा सुन तस्करी भने रोकिन सकेको छैन । नयाँ नयाँ तरिका अपनाउँदै तस्करहरुले सुनको अवैध ओसारपोसार गरिरहेका छन् । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक करोड बराबरको सुन र मोबाइलसहित तीन जना पक्राउ परेका छन्।

प्रहरीले बुधबार विमानस्थलको आगमन टनेल गेटबाट तीन जनालाई नियन्त्रणमा लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ।

पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका-१० सोबगाढाका ३२ वर्षीय सुनिलकुमार साह, मकवानपुर मनहरी नगरपालिका-७ का २८ वर्षीय नवराज परियार र सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३का ३९ वर्षीय दावा छिरिङ शेर्पा छन्।

दुबईबाट हिमालयन एयरमा काठमाडौं आएका साहबाट प्रहरीले ६ लाख ४० हजार बराबरको आइफोन १३ प्रो म्याक्स चार वटा बरामद गरेको थियो। त्यस्तै ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको सुनको बेरूवा औंठी र सिक्री एउटा बरामद गरेको कार्यालयले जनाएको छ।

परियार पनि दुबईबाट हिमालयन एयरबाट बुधबार काठमाडौं आएका थिए। उनीबाट एक लाख ६० हजार बराबरको एउटा आइफोन १३ प्रो म्याक्स र ३ लाख ९५ हजार २२५ रुपैयाँ बराबरको दुइटा बेरूवा औंठी बरामद गरेको छ।

यस्तै शारजाहबाट एयर अरेबियामा काठमाडौं आएका शेर्पाबाट ८३ लाख ३९ हजार २४७।५ रुपैयाँ बराबरको एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको थियो । उनले सुनलाई अर्धठोस बनाएर तीन वटा पोका बनाएर मलद्वारमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले फेला पारेको हो।

कार्यालयका अनुसार जम्मा ९९ लाख २९ हजार ६९८ रुपैयाँ बराबरको सुन बरामद गरेको हो । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गर्न कार्यालयले बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको छ।