News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार विचार

पत्रकारद्वय ज्ञवाली र पौडेललाई खुला पत्र !!

'दम छ ? हाम्रो आम्दानीको स्रोत यो हो ? यसरी कमाएको हुँ मैले भनेर देखाउने ?'

अब बोल्नै पर्छ । पत्रकारिता भित्रको विकृति, विसंगति र गलत धन्दाको विषयमा अब बोल्नै पर्छ । अब पनि नबोल्ने हो भने त्यस्तो दिन आउँछ, जब बोल्न खोज्नेहरुलाई यिनीहरुले जिउँदै खाल्डोमा दवाउँछन् । पत्रकारिता क्षेत्रको विकृतिका विषयमा स्वयम् पत्रकारहरु नै खुलेर बोल्न सक्दैनन् । न त पत्रकारका विषयमा सर्वसाधारण नागरिकले प्रश्न उठाउन सक्छन्, न त कुनै पनि निकायले हत्तपत्त पत्रकारको विषयमा  हात हाल्न खोज्छ । कारण, एउटा सञ्चार माध्यम नैं भईहाल्यो । भोलि जे मन लाग्छ, त्यहीँ लेखेर बदनाम गरिदिन्छन् कि भन्ने डर । अर्को, विभिन्न गिरोह, संघसंगठन र माफियाको जालो भित्र घेरिएर पत्रकारको आवरणमा बसेकाहरुले जे पनि गर्छन् कि भन्ने त्रास । तर सबै डराउँदैनन् पनि । कोही हुन्छन्, जो यस्ता गलत धन्दा र प्रवृत्तिका बारेमा आवाज उठाई रहेका हुन्छन् । यो विषय कुनै न कुनै दिन सबैले बुझ्नेछन् र प्रश्न सोध्नेछन् ।

यहीँ प्रसङ्गमा पोखराका केही पत्रकारहरुको प्रवृत्तिका विषयमा म खुला पत्र मार्फत् केही लेख्दैछु । मेरा ४/५ पुस्ता नैं यहीँ पोखरामा बितेर गए । म यहीँको स्थानीय पनि हुँ । पोखराको पत्रकारितामा मैले पनि २० वर्ष समय बिताए । अझै पत्रकारितामात्रै मूल पेशा बनाएर काम गरिरहेको छु । मलाई पत्रकारिता भित्रका दुःखसुख, आरोह, अवरोह र वास्तविकता सबै घाम झैं छर्लङ्ग छ । पछिल्लो समयमा आउनु भएका पत्रकार मित्रहरुलाई पोखराको पत्रकारिताको बारेमा थाहा नहुन पनि सक्छ । जे देख्नु भएको छ, जे भोग्नु भएको छ र जे गर्नु भएको छ त्यहीँ नै पोखराको समग्र पत्रकारिता हो जस्तो लाग्न सक्छ । तर धेरै फरक छ यो भित्रको परिवेश र वास्तविकता । आज म नामै तोकेर केही पत्रकारहरुको बारेमा लेख्दैछु र यसपछिको कानुनी चूनौंतीको लागि पनि तयारी मानसिकतामा उभिएको छु ।

पत्रकार रामकृष्ण ज्ञवाली, त्रिभुवन पौडेल लगायतका आधा दर्जन पत्रकारहरुको वास्तविकता अब श्रमजीवी पत्रकारहरुले बुझ्नैपर्छ । यो खुला पत्रमा मैले पत्रकारद्वय ज्ञवाली र पौडेललाई आफ्नो आर्थिक हैसियत आमपत्रकारहरुका माझ सार्वजनिक गर्न चूनौंती दिदैंछु । चुनाव लागेर कसैलाई सिध्याउन यो खुला पत्र लेखेको पनि होइन । न त म नै चुनावी मैदानमा उत्रिएको छु । यी दुई पात्र भन्दा पनि गलत प्रवृत्तिसँगको लडाई र प्रश्न हो । जुन मेरो जीवनको अन्त्यसम्म पनि चलि नै रहनेछ । मैले पनि पत्रकारिताको आवरणमा आर्थिक र नैतिकरुपमा कुनै गल्ति वा धन्दा गरेको भए सप्रमाण पेश गर्न सम्पूर्ण पत्रकारहरुलाई नै यसै लेखमार्फत् खुल्ला चूनौंती दिन चाहन्छु ।

गुल्मीबाट पोखरा आएका ज्ञवाली शुरुमा साईकलमा मिठाई बेचेर आफ्नो पेट पाल्दथे । पछि उनले गगन साप्ताहिक पत्रिकामा वितरकको काम शुरु गरे । पोखरा आएको १० वर्षभन्दा बढि समय दिदीभिनाजुको डेरामा नै बस्ने ज्ञवालीले साईकलमा पत्रिकाहरु घर–घरमा पु¥याउने काम गर्दथे । क्रमशः उनी पत्रकारितामा कलम चलाउन थाले । उनले पोखराका अधिकांश स्थानीय पत्रपत्रिका र एफएमहरुमा संवाददाता, सहसम्पादक र सम्पादक नै भएर काम गरे । राजधानी दैनिक र एभिन्यूजमा पोखराबाट काम गरेका ज्ञवालीको यो भन्दा फरक कुनै पनि व्यवसाय गरेको देखिदैंन । अरुलाई सुन्दा अचम्म लाग्ला, रामकृष्ण ज्ञवालीको गुल्मीमा भएको पैतृक सम्पत्ति कति छ भनेर यहाँ लेखे भने धेरैले पत्याउनु पनि हुँदैन होला । बाँदर लड्ने केही भीर र सानो खरको झुपडी बाहेक सम्पत्तिको नाममा केही पनि छैन । यदि छ भने लालपुर्जा देखाउन म ज्ञवालीलाई चुनौंती दिन चाहन्छु । जे जति सम्पत्ति आर्जन गरेका छन् ज्ञवालीले पत्रकारिताको आवरणमा गलत धन्दाबाट नै कमाएका हुन् । जसको निष्पक्ष छानबिन कुनै दिन अवश्य होला पनि ।

त्यसैगरी, पर्वतबाट पोखरामा आएर आमाले चिया पसल राखेर संघर्ष शुरु गर्दा तत्कालिन माओवादीहरुको मुखपत्र स्वाभिमान साप्ताहिकसँग नजिक भएका पत्रकार त्रिभुवन पौडेल पोखरा हटलाईन दैनिकमा संवाददाताका रुपमा काम गरे । पोखरा हटलाईन नेकपा एमालेहरुले चन्दा संकलन गरेर शुरु गरिएको सञ्चार माध्यम हो । जसका संस्थापकहरुमा माधव शर्मा, बद्रीबिनोद खनाल र पूण्य पौडेल रहेका थिए । मैले पनि पत्रकारिताको पहिलो यात्रा पोखरा हटलाईनबाट नै शुरु गरेको हुँ । पछिल्लो समयमा आएर त्रिभुवन पौडेल पोखरा हटलाइनको सञ्चालक भएपनि त्यस दैनिकको प्रेस मेसिनको कहानी रोचक नै छ । त्यो प्रसङ्ग कुनै समयमा आवश्यक परेमा लेखुँला पनि । त्रिभुवनको आमाले अस्तिसम्म पनि चियापसल र किराना पसल गरेर दुःख गरिरहनु भएको थियो । आमालाई पनि थाहा छैन होला । कसरी छोराले यतिका सम्पत्ति कमायो भनेर ? त्यसकारण पत्रकार हौं भने धन्दा बन्द गर, होइन भने पत्रकारिता छोड र हामीलाई पत्रकारिता गर्न देऊ ? राजनीतिक पहुँच र शक्ति देखाएर पत्रकारिताको आवरणमा धन्दा नचलाऊ । यत्ति हो हाम्रो प्रश्न ?

रामकृष्ण ज्ञवाली

त्रिभुवन पौडेल

स्पष्ट छ, त्यतिबेला पोखराका दैनिक पत्रपत्रिकाहरुले कति दिन्थे तलब भन्ने कुरा । ३ हजार, पाँच हजार, १० हजार यो भन्दा बढि तलब कसैको थिएन । चाँहे त्यो वितरक होस्, संवाददाता होस् वा सम्पादक होस् । म खुल्ला चूनौंती दिदैं भन्दैछु । पत्रकार रामकृष्ण ज्ञवालीले काम गर्ने सञ्चारमाध्यमहरु राजधानी राष्ट्रिय दैनिक, एभिन्यूज टेलिभिजन, समाधान, पोखरा एफएम लगायत यस अघि काम गरेका गगन साप्ताहिक, जनमत लगायतका पत्रपत्रिकाहरुले दिने तलब र काम गरेको अवधि सार्वजनिक गरियोस् । के त्यो तलबले पोखरा महानगरपालिकाको कार्यालय अगाडि न्यूरोडमा तीनचार तले भवन र पुम्दीभुम्दीस्थित ५ रोपनी जमिन अनि अल्ट्रा लाईट जस्ता कम्पनीहरु खडा गर्न पुग्छ त ? त्यो बाहेक विभिन्न कम्पनीहरुमा भएको शेयर र भित्री लगानी के सम्भव छ त ?

पत्रकार ज्ञवालीलाई केही नेताहरुको कालोधन सेतो बनाउने काममा विभिन्न होटल, हाइड्रोपावर, डिस्को र सञ्चारमाध्यममा लगानी गर्ने गरेको प्रश्न बारम्बार उठिरहेको छ । स्पष्ट रुपमा भन्नुपर्दा रामकृष्ण ज्ञवालीको गुल्मीको अवस्थाले पोखरामा डेरा भाडा पनि तिर्न पुग्दैन । नपत्याए अहिले न्यूरोडमा बसेका ती बाबाआमालाई केही यूट्यूबर भाइहरुले गएर प्रश्न सोधे पनि हुन्छ । र, पत्रकारिताको आम्दानीले यति विघ्न आम्दानी गरेको हो भन्ने यदि कोही कसैलाई लाग्छ भने पोखरा कैं तीनसय पत्रकारहरुको अवस्था हेरे पुग्छ टाढा कतै जानु पर्दैन । बिना उद्योग, कलकारखाना, लगानी रातारात कोही व्यक्ति यति विघ्न धनाढ्य कसरी बन्न सक्छ ? छ दम, हाम्रो सम्पत्ति यति छ ? हाम्रो आम्दानीको स्रोत यो हो ? यसरी कमाएको हुँ मैले भनेर देखाउने ? छ भने देखाऊ र स्पष्ट पारिदेऊ मैले यसरी जोडेको हुँ यी सारा सम्पत्ति भनेर ? नभए पत्रकारिताको मुखुण्डो लगाएर गलत धन्दा नगर पत्रकारद्वय ।

त्यस्तै पत्रकार त्रिभुवन पौडेलको पोखराको फुलबारीमा भएका साढे दुईतला घर, गाडी र फूर्तिफार्ती के पोखरा हटलाईनको तलब र आम्दानीले मात्र पुग्छ त ? त्यसो त पत्रकार पौडेलले ठेक्कापट्टा शुरु गर्नुभन्दा पहिला नै फुलबारीमा जग्गा र घर निर्माण गरेका हुन् । यो सबै कसरी सम्भव भयो पत्रकार पौडेललाई नै थाहा होला । त्रिभुवन पौडेल, पछिल्लो समय पत्रकारिता भन्दा बढि पेटी ठेकेदारितामा व्यस्त छन् । १ करोड भन्दा मूनीको ठेक्का जो टेण्डर आह्वान गर्न पर्दैन । त्यस्तो ठेक्काहरु करोडौंको टुक्रा–टुक्रामा लिने र जनप्रतिनिधिहरुलाई डर, त्रास र आस देखाएर पेटी ठेकेदारी गर्दै आएका पत्रकार पौडेलसँग हामी पत्रकारले के अपेक्षा राख्ने ? यिनीहरुलाई पत्रकारिताको मोर्चा यसकारण चाहिएको हो कि यिनीहरुको धन्दाका विषयमा कसैले विरोध पनि गर्न नसकोस् र पत्रकारिताको आवरणमा सरकारी ठेक्कापट्टा सजिलै हात पार्न सकियोस् । त्यो बाहेक यिनीहरुको पृष्ठभूमिले कहिल्यै पनि श्रमजीवी पत्रकारहरुको विषयमा बोलेको देखिदैंन । र, यिनीहरुको उद्देश्य पनि श्रमजीवी पत्रकारको आवाज बोल्नु नै होइन ।

यिनीहरुले काम गरेको सञ्चारमाध्यममा सँगैं काम गरेको सहकर्मीले बषौंसम्म तलबै नपाउने, यिनीहरुको आम्दानी दिन दुईगुना र रात चौगुना कसरी सम्भव छ ? यिनीहरुले आफैं सञ्चालन गरेको संस्था घाटामा गएर त्यहाँ काम गर्ने श्रमजीवीले ६/६ महिनाको तलब पनि नपाउने ? तर यिनीहरु रातारात नवधनाढ्य बन्दै जाने ? आफैं मालिक भएको संस्थामा श्रमजीवी पत्रकारलाई तलब दिनुपर्छ भनेर लुकि लुकि हिड्ने ? फेरि श्रमजीवी कैं मुद्दा उठाएर चर्को कुरा गर्ने ? कुन नैतिकताले दिन्छ यिनीहरुलाई नेपाल पत्रकार महासंघको चुनावी मैदानमा पत्रकार हुँ भनेर चुनाव लड्न ?

अन्त्यमा, ज्ञवालीले आफ्नै सहकर्मीमाथि गरेको यौनहिंसाको विषयमा मैले यहाँ केही प्रसङ्ग पनि उठाउन चाहिन । किनभने यतिबेला एउटा नारी कैं नेतृत्वमा चुनावी मैदानमा उत्रिएका छन् ज्ञवाली ? आशा र विश्वास छ, महिला पत्रकारहरुले अवश्य पनि त्यो घटनालाई सम्झिएर सबक सिकाउने छन् । ज्ञवालीले नेपाल पत्रकार महासंघको सचिव (खुल्ला तर्फ) र पौडेल केन्द्रीय सदस्यमा उमेद्वारी दिएका छन् । यस्ता गलत पात्रहरुलाई चुनावी मैदानमा देख्दा अचम्म लाग्छ । अन्त्यमा, ज्ञवाली र पौडेलले सञ्चालन गरेको मिडियाको सम्पूर्ण आर्थिक गतिविधि सार्वजनिक गर्न, यिनीहरुको आम्दानी सार्वजनिक गर्न र यिनीहरुका नाममा जोडिएका सम्पत्तिको आम्दानीको स्रोत देखाउन चूनौंती दिदैं श्रमजीवी पत्रकारहरुलाई क्षणिकता नरमाई पत्रकारिता भित्रको विकृतिलाई निमिट्यान्न पार्ने यो अवसरलाई सदुपयोग गर्न आह्वान गर्दछु ।

(लेखक अधिकारी, नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष र डन न्यूजका प्रधान सम्पादक हुनुहुन्छ ।)

प्रतिक्रिया