News Portal

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय अन्तर्वार्ता अर्थ-बिजनेश कला/साहित्य क्राईम–न्यूज खेलकुद जन आवाज जीवन शैली ज्योतिष-विज्ञान डन न्यूज खोज धर्म-सस्कृति पर्यटन प्रमुख समाचार प्रवास फोटो फिचर भिडियो मनोरञ्जन यात्रा संस्मरण राजनीति विचार विज्ञान-प्रविधी विविध समाचार सम्पादकीय सुदुर पश्चिम स्वास्थ्य

आफ्नो नाममा फेक एकाउन्ट बनाएर गलत सूचना दिएको कुलमानको भनाई

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नाममा ‘फेक अकाउन्ट’ खोलेर सामाजिक सञ्जालमा गलत सूचना दिइएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् घिसिङले आफूले एउटा मात्रै सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको र त्यसबाहेक अन्य आधिकारिक अकाउन्ट नभएको स्पष्ट पारेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘मेरो फेक अकाउन्ट खोली विभिन्न समाचारहरु सम्प्रेषण भएकाले मेरो योबाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराउदछु,‘ मंगलाबार उनको विषयलाई लिएर सामाजिक सञ्जालहरुमा गलत सूचना भाइरल भएको थियो ।

मंगलबार कुलमान घिसिङ नामको फेक ट्वीटर ह्याण्डलबाट आफुलाई मन्त्रिपरिषदको बैठकले पुनः विद्धुत प्राधिकरणको प्रमुख बनाएको भन्दै ट्वीट गरिएको थियो । उक्त ट्वीटपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले कुलामान पुनः प्राधिकरण प्रमुख बनेको भन्दै बधाई दिएका थिए भने केहि अनलाइनहरुले समाचार नै सम्प्रेषण गरेका थिए ।

त्यस्ता भ्रमाक समाचार बाहिरिएपछि ऊर्जामन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई निरन्तरता दिनेबारे मन्त्रालयबाट हालसम्म कुनै प्रस्ताव लगिनसकेको बताएका छन् ।

विभिन्न सञ्चारमाध्यमसहित सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएको हल्ला फैलिरहेकै बेला मन्त्री पुनले यसबारे मन्त्रिपरिषद्मा मन्त्रालयबाट कुनै प्रस्ताव नगएको बताए । कुलमानलाई पुनः प्राधिकरणमा निरन्तरता दिने निर्णय गर्नुभएको हो भन्ने प्रश्नमा उनले भने, ‘कुनै निर्णय भएको छैन ।’

मंगलबार मन्त्रीपरिषद बैठक सुरु भएलगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले कुलमानलाई पुन: प्राधिकरण प्रमुखमा नियुक्त गरिसेको भन्दै व्यापक हल्ला चलेका थिए । उक्त हल्लापछि उर्जा मन्त्रालयले मुख खोलेको हो ।

तर प्राधिकरणको प्रमुखमा पुनः कुलमान घिसिङ नै नियुक्त हुने लगभग पक्कापक्कीजस्तै भएको स्रोत बताउछ । ४ वर्ष घिसिङको नेतृत्वमा प्राधिकरणले ठूलो प्रगति हासिल गरेको भन्दै कुलमानलाई दोहोर्याउनुपर्ने ब्यापक माग जनस्तरमा उठेको छ । यस बिषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका २ अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पनि छलफल भएको बुझिएको छ ।

उक्त छलफलका क्रममा कुलमानलाई नै प्राधिकरणमा दोहोर्याउने बिषयमा ओली सहमत भएको स्रोतले बतायो । प्राधिकरणलाई अझै घिसिङको आवश्यकता रहेको भन्दै जनस्तरमा व्यापक अभियान चलेको र अहिले जनमतको बिरुद्धमा गए सरकार झनै नागिँने भन्दै प्रचण्डले ओलीलाई सुझाएका छन् ।

भदौ २९ गतेदेखि उनको ४ वर्षे कार्यकाल सकिन लागेको हो । तात्कालिन उर्जामन्त्री जनार्दन शर्माले प्राधिकरणको एघारौँ तहका कर्मचारीको रुपमा कार्यरत घिसिङलाई २०७३ साल भदौ २९ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरषद्को बैठकबाट निर्णय गराएर प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा ल्याएका थिए । उनले भदौ ३० गते पदभार ग्रहण गरेका थिए ।

कार्यकाल सकिन लागेपछि प्राधिकरणमा अर्को कार्यकालमा निरन्तरता दिनुपर्छ भन्ने माग एकातिर हुँदा उनलाई फेरि सोही पदमा दोहोरिन नदिन चौतर्फी रुपमा चलखेल पनि जारी छ। कुलमानलाई नदोहोर्याउन र सो ठाउँमा आफू अनुकुलका व्यक्तिलाई ल्याउन यतिबेला उच्च राजनीतिक तहमा सक्रियता बढ्न थालेको छ ।

कुलमानलाई वर्षौंदेखिको लोडसेडिङलाई चामत्कारिक रुपमा ६ महिनाभित्रै अन्त्य गरेको जस जान्छ । लोडसेडिङ अन्त्यसँगै वर्षौंको घाटालाई अन्त्य गरेर प्राधिकरणलाई नाफामा लैजान र वर्षौंदेखिको सिञ्चित घाटालाई कम गर्दै जान सफल भएको जस पनि जान्छ सोही कारण अर्को कार्यकालमा पनि उनलाई प्राधिकरणमा निरन्तरता दिनुपर्ने जनमत बलियो छ ।

कुलमानको कार्यकालमा यसरी भयो ‘मिराकल’

नेपालमा विद्युत् उत्पादन कम भएको भए पनि यति धेरै लोडसेडिङ हुने अवस्था नरहेकोमा घिसिङ नियुक्ति अघि नै .जानकार थिए । लोडसेडिङ गरेर विद्युत्को व्यवस्थापन हुन नसक्नेमा पनि उनी विश्वस्त थिए । त्यसैको व्यवस्थापन गर्ने उद्देश्य सुरुमा आफूले लिएर आएको उनको भनाइ छ । त्यसैले उनले सुरुमै औद्योगिक फिडरमार्फत् बिक्री हुँदै आएको विद्युत्लाई रातिको समयमा मात्रै सीमित गरे । पिकआवरमा घरायसी उपभोक्तालाई मात्रै बिजुली दिने व्यवस्था मिलाए । त्यसो गर्नेेबित्तिकै लोडसेडिङमा ठूलो राहत मिलेको थियो ।

अर्को लक्ष्य चुहावट नियन्त्रणको थियो । घिसिङ आउँदा विद्युत्को चुहावट करिब २६ प्रतिशत थियो । त्यसमध्ये केही चुहावट प्राविधिक कारणले हुन्थ्यो भने अरु चोरीका कारणले हुने गरेको थियो । बिजुलीको चोरीमा कर्मचारीहरुकै सक्रियता देखिएपछि उनले व्यापक सरुवा अभियान सञ्चालन गरेका थिए । यो सरुवाले वर्षौदेखिको अनधिकृत वितरण र चोरीको जालो हट्यो । यसले एकततिर विद्युत् बचत गराया, अर्कोतिर प्राधिकरणको नोक्सान घटायो । तर, त्यसमा संलग्नहरुलाई कारबाही भने अहिलेसम्म पनि भएको छैन ।

यो अवस्थामा प्राधिकरणले नयाँ नेतृत्व कस्तो पाउँछ र त्यसले कसरी काम गर्छ भन्ने जोखिममा देशको समग्र विद्युत् क्षेत्र हुनेछ । त्यही जोखिमलाई कम गर्नकै लागि भने पनि एक कार्यकाल कुलमानलाई नै दोहोर्याउनुपर्छ भन्ने माग अहिले बलियो बन्दै गएको हो ।

घिसिङले आफ्नो नियुक्तिको २ महिनामै लक्ष्मीपूजामा देशभर बत्ति नजाने व्यवस्था मिलाए । औद्योगिक वितरण बन्द गर्ने र कुलेखानीको पावर ब्याकअपको व्यवस्थापन गरेर यसरी लोडसेडिङ नहुने वातावरण उनले मिलाएका थिए । त्यो सफलतापछि उनीप्रतिको भरोसा बढ्दै गयो । फलस्वरुप त्यसको ४ महिनापछि घरायसी उपभोक्तालाई लोडसेडिङ नै नहुने घोषणा गर्न सफल भए । कुलमान भन्छन्, ‘लोडसेडिङ हुँदैन भन्ने घोषणा गर्नेबित्तिकै मागको व्यवस्थापन गर्न झनै सहज भयो । पहिले बत्ति आएको बेला ब्याट्री चार्ज गर्ने, ठूला मेसिन चलाउनेहरु अब चलाउन छाडे, व्यवस्थापन गर्न सहज भयो ।’

कुलमानलाई नदोहोर्याउन र सो ठाउँमा आफू अनुकुलका व्यक्तिलाई ल्याउन यतिबेला उच्च राजनीतिक तहमा सक्रियता बढ्न थालेको छ । सोही चलखेलका कारण उनी दोस्रो कार्यकालमा लागि प्राधिकरणमा रहने सम्भावना समेत कमजोर बन्दै गएको बताइएको छ । कुलमानलाई वर्षौंदेखिको लोडसेडिङलाई चामत्कारिक रुपमा ६ महिनाभित्रै अन्त्य गरेको जस जान्छ ।

लोडसेडिङ अन्त्यसँगै वर्षौंको घाटालाई अन्त्य गरेर प्राधिकरणलाई नाफामा लैजान र वर्षौंदेखिको सिञ्चित घाटालाई कम गर्दै जान सफल भएको जस पनि जान्छ सोही कारण अर्को कार्यकालमा पनि उनलाई प्राधिकरणमा निरन्तरता दिनुपर्ने जनमत बलियो छ । तर, उर्जामन्त्रीदेखि सरकारका उच्च अधिकारीहरु नै पछिल्लो समय कुलमानको विकल्पबारे छलफल अघि बढाइएका छन् । केही व्यक्तिहरुलाई पदको आश्वासन समेत दिइएको स्रोतको दाबी छ ।

प्रतिक्रिया